• कृषि

    किसानले पाएनन् बीउ र मल

    २० जेष्ठ २०७८, बिहीबार

    रूपन्देही – कपिलवस्तु / रूपन्देहीको तिलोत्तमा–६ का दीपक भुर्तेल प्रत्येक दिन उठेपछि फोन गरेर बीउ र मलबारे सोधपुछ गर्छन् । जेठ दोस्रो साता पानी परेपछि एक बिघा खेतमा धान रोप्ने तयारी थालेका छन् । तर, झार गोड्ने र बीउ राख्ने कामदार पाएका छैनन् । ‘मल पाएको छैन,’ उनले भने, ‘मन छट्पटिएको छ ।’
    घरवरपर धेरैले ब्याड तयार गरिसके । आफ्नो खेत टाढा भएकाले जानसमेत नपाएको उनले बताए । ‘खेत देवदह नगरपालिकामा छ,’ उनले भने, ‘त्यहाँ आउजाउ गर्दा कोरोना लाग्छ कि भनेर डराउनैपर्‍यो ।’ आफैं नगए खेती गरिदिने कोही नभएको उनको भनाइ छ । छिमेकीलाई ट्र्याक्टर पाएका बेला खेत जोतिदिन आग्रह गरेको उनले बताए । ‘तर, ट्र्याक्टर कहिले पाइएला थाहै छैन,’ उनले भने, ‘केही उपाय नलागे आफैं गएर मेडी लगाउने, झार उखेल्ने र जोताइको काम सक्नुपर्ला ।’ गत वर्ष पनि खेतीपातीका बेला लकडाउन थियो । यसपालि निषेधाज्ञा छ । ‘बन्दाबन्दीले कामदार पाउनै छोडियो,’ उनले भने, ‘यस्तै अवस्था रहे धेरै जमिन बाँझै रहने भो ।’ यस्तो परिस्थितिमा बीउ र मलखाद उपलब्ध नहुने चिन्ता थपिएको उनले बताए ।

    रोहिणी–२, बलराईका जयप्रकाश यादवलाई बीउ र मल नपाउँदा समस्या छ । गत वर्ष र यसपालि धान रोप्ने बेलामै बन्दाबन्दी परेको उनको भनाइ छ । गत वर्ष जसोतसो ६ बिघामा खेती गरे पनि घाटा सहनुपरेको उनले बताए । ‘समयमै बीउ र मल पाइएन, धान फलेन,’ उनले भने, ‘घरमा रहेको अलिकति बीउ त छरें, त्यसले पुगेन ।’ यहाँ अभाव भएका बेला भारतबाट खरिद गरेर ल्याउने गर्थे । यसपालि सीमापारिका बस्तीमा कोरोना महामारी छ । त्यसैले गाउँमै किनेर बीउ राख्ने सोच बनाएको उनले बताए ।

    भारतीय बजारमा उन्नत जातको बीउ सजिलै उपलब्ध हुन्छ । यस्तो महामारीमा पनि भारतीय मलकै भर पर्नुपर्ने चिन्ता लागेको उनको भनाइ छ । ‘यहाँ सहकारीले कहिले ल्याउँछन्,’ उनले भने, ‘ल्याए पनि सबैलाई पुग्दैन ।’ बीउ २२ दिनमा तयार हुने तर खेताला नपाएर अर्को समस्यामा परेको उनले बताए ।

    रूपन्देहीको पनि जिम्मा पाएको पश्चिम नवलपरासीस्थित कृषि ज्ञान केन्द्रका अनुसार रूपन्देहीको कुल ८५ हजार १ सय २२ हेक्टर खेतीयोग्य जमिनमध्ये ७२ हजार ५ सय हेक्टरमा धान खेती गरिन्छ । यस वर्ष पनि स्थानीय तह तथा कृषि सामग्री केन्द्रमार्फत बीउबिजन र मलखाद वितरणको काम भइरहेको केन्द्रकी कृषि प्रसार अधिकृत मनीषा पौडेलले बताइन् । यस वर्ष पनि बीउ र मलको हाहाकार हुने राष्ट्रिय कृषक महासंघ अध्यक्ष देव धवलको भनाइ छ । पाँच बिघामा धान खेती गर्दै आएका उनले १० प्रतिशत पनि बीउ र मलखाद उपलब्ध नभएको गुनासो गरे ।
    ‘ब्याड राख्ने काम सुरु भएको छ,’ उनले भने, ‘केहीले भारत र नेपाली बजारबाट बीउ खरिद गरेर राखिसकेका छन् । आधाभन्दा बढीले पुरानै धानलाई बीउका रूपमा प्रयोग गर्ने तयारी गरेका छन् ।’ घरमा रहेको पुरानो धानको बीउ राख्दा उत्पादनमा ह्रास आउने उनको भनाइ छ । स्थानीय सरकार र सहकारी संस्थाबाट वितरण गरिने मल अहिलेसम्म नआएको उनले बताए । धानको ब्याड राख्न एक साताअगाडि नै मलखाद संग्रह गरेर राख्नुपर्ने भए पनि सहकारीले नल्याएको धवलले बताए ।

    कपिलवस्तु–३, सड्वाका मनगठ्ठु यादव धानको बीउ नपाएर तनावमा छन् । ‘गत वैशाख १६ गतेबाट निषेधाज्ञा छ,’ उनले भने, ‘बजारमा बीउ आएकै छैन ।’ आफ्नो र अधियाँ गरेर चार बिघामा साँवा मन्सुली र राम धान लगाउने योजना थियो । तर, बीउको टुंगो छैन । भारततिर पनि आवतजावत बन्द छ । लुकेर भारतबाट बीउ ल्याउनुको विकल्प नरहेको उनले बताए । मायादेवी–७, हरनामपुरका रामअवध यादवले बीउ राख्न खेत जोतिसकेका छन् । ‘१८ किलो धानको बीउ चाहिन्छ,’ उनले भने, ‘कहीं पाइएको छैन, सम्पूर्ण जातको बीउ राख्न ढिलो हुन थाल्यो ।’ समयमै बीउ राख्न नपाइए उत्पादन कम हुने उनले बताए । यहाँका किसान बीउ राख्ने चटारोमा छन् । तर निषेधाज्ञाले अत्यावश्यकबाहेकका पसल बन्द छन् ।

    ‘समस्यामा परियो,’ कपिलवस्तु–४, मलपरवाका खैरुल्लाह मुसलमानले भने, ‘बजार डुले पनि बीउ पाइँदैन ।’ अब भारतीय बजारमै जानुपर्ने बाध्यता आएको उनले बताए । ‘भारतमा बीउ पाइए पनि गुणस्तरको विश्वास हुँदैन,’ उनले भने, ‘त्यही भएर नेपाली बीउ किन्छु । तर, यहाँ नपाएपछि जोखिम मोलेर भए पनि जानुपर्ने अवस्था आयो ।’ यहाँ बीउ राख्ने समय घर्किन थाल्यो । धेरै किसानले खेत जोताइसके । विगतमा स्थानीय तहले धानको बीउ अनुदान र लागत सहभागितामा वितरण गर्थे । यस वर्ष अहिलेसम्म कसैले प्रक्रिया सुरु गरेका छैनन् । कृषि सामग्री कम्पनी तौलिहवा केन्द्रले संक्रमणकै कारण दुई सातादेखि मल वितरण रोकेको छ । ‘भीडभाड हुन्छ,’ केन्द्र प्रमुख प्रकाश ज्ञवालीले भने, ‘जोखिमले गाह्रो. भइरहेको छ ।’ चाप बढेपछि अबको दुई चार दिनमा जनस्वास्थ्य मापदण्ड पालना गरेर वितरणको योजना बनाइएको उनले बताए ।

    साभार- कान्तिपुर