देहातमा कोरोना रोकथाममा रामजी रामको यात्रा
शिक्षाखबर डेस्क
२४ जेष्ठ २०७८, सोमबार
no immg

काठमाडौँ / देहातको ३७ डिग्री तातोमा धुलौटे बाटो हुँदै सेतो रंगको पीपीई सेट लगाएर पाँच जना तन्नेरी लखरलखर हिँडिरहे । उनीहरूलाई देखेर कोही सेतो भूत आएछ भनेर कराउँदै बारीका कान्लातिर हाम्फाले, कोही तर्केर बाटोछेउ लागे । बेलाबखत कुकुरको झुन्डले टोकौंलाझैं गरेर भुकेपछि उनीहरू आफैं खेतखेतै भागे ।


पीपीई लगाएर रौतहटका गाउँमा रामजी राम र साथीहरू ।
कोरोना संक्रमणको दोस्रो लहर उत्कर्षमा रहेका बेला देहात चहार्ने यी को होलान् ? रौतहटको हथीऔल, इनरुवा, हरैया, मलाही टोल, बिर नगरा, बढियारपुर, तिलमिलिया, गेढही, जिंगरिया टोलमा पछिल्ला आठ दिनयता पीपीई लगाएर हिँड्नेमध्येका एक हुन् रामजी राम । वीरगन्जको नेसनल मेडिकल कलेजमा एमबीबीएस पढ्दै गरेका उनी तिनै रामजी हुन्, जो गत वर्षको पुसमा चर्चामा थिए ।

दलितभित्रको दलित मानिएका बादी, डोम, मुसहर र चमारलाई सरकारले २०७३ मा विश्वविद्यालय अनुदान आयोगको खर्चमा एमबीबीएस पढाउने निर्णय लिएको थियो । यही सरकारी नीतिअन्तर्गत छात्रवृत्तिमा पाएका रामजीलाई शुल्क नतिरेको भन्दै कलेजले परीक्षा हलबाट बाहिर निकालेको थियो । त्यसपछि अभावसँग जुध्दै हुर्किएका उनको संघर्षको कथा र मेडिकल कलेजको दादागिरी दुवै चर्चामा आएको थियो ।

रामजी कोरोना संक्रमणपछि सुरु भएको कडा लकडाउनका पछिल्ला आठ दिनयता आफ्ना पाँच साथीसहित रौतहटका बस्तीमा छन् । दुर्गम ग्रामीण भेगमा फैलिँदो संक्रमण, यसबारे व्याप्त गलत बुझाइ र लक्षण हुँदा पनि परीक्षण नगरी बस्ने समस्या हल गर्न उनीहरू बस्ती खोज्दै डुलिरहेका छन् । यो टोलीलाई अन्य १० जना स्थानीय युवाहरूले सघाइरहेका छन् ।

रामजीका अनुसार उनीहरूले आवश्यकताअनुसार सुगर, प्रेसर, ज्वरो र अक्सिजन लेभल जाँच्दै संक्रमणको लक्षण देखिएका बिरामीलाई परामर्श दिइरहेका छन् । आवश्यकताअनुसार उनीहरूले सिटामोल, भिटामिन ‘सी’, जिंक, साइनेक्सजस्ता औषधि पनि दिने गरेका छन् । स्थानीयलाई आइसोलेसनमा बस्दा पालना गर्नुपर्ने नियमहरू बताउने, संक्रमणको लक्षण, त्यसबाट बच्न उपाय सिकाउने र जटिल अवस्था भएकाहरूलाई अस्पताल जान सघाइरहेका छन् ।

आठ दिन घुमेपछि रामजीलाई देहातमा संक्रमणको दर बढ्दै जाने र समयमै उपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्था छिट्टै आउँछ कि भन्ने डर लाग्न थालेको छ । त्यसका पछाडि कोरोना संक्रमणबारे स्थानीयको कमजोर बुझाइ मात्रै जिम्मेवार छैन, विद्यमान कमजोर स्वास्थ्य प्रणाली पनि जिम्मेवार छ । बिहीबार एउटा बस्तीमा उनले एक जना बिरामीलाई औषधि थमाएर भने, ‘यो औषधि खाना खाएपछि मात्रै खानुहोला है ।’ औषधि लिएका तिनले सोधे, ‘खाली पेटमा मात्रै खाने दबाई छैन ।’

कवि प्रदीप रोदनको गजलको एउटा चर्चित हरफ छ । उक्त गजल भन्छ, ‘डाक्टर साप म चामल बेचेर जचाउन आएको हुँ, बिन्ती मलाई खाली पेटमा खाने दबाई दिनुस् ।’ रामजीले यो सेर त सुनेका छैनन्, तर महिना दिनभन्दा लामो लकडाउन र कामविहीन भएर बसेका देहातका मुख्य गरी दलित बस्तीमा हातमुख कसरी जोर्ने समस्या नै चुलिइसकेको उनले देखेका छन् । उनलाई कैयौं बिरामीले खाना पाउनै गाह्रो भएको दुखेसो गरेका छन् । एक जना बिरामीले त उनलाई भने, ‘बिमारको भन्दा बरु भोक मेट्ने औषधि दिनुस् ।’

कोरोना संक्रमणबाट बच्नभन्दा पनि भोकको औषधि खोजिरहेकाहरूको कुरा सुनेपछि रामजीले कोभिड अलायन्स र क्रिएसन नेपालसँग सहकार्य गरेर दुई दिनयता विपन्न परिवारलाई २० केजी चामल, एक लिटर तेल, ६ किलो आलु, एक–एक किलो दाल र २ केजी नुन वितरण गर्न थालेका छन् । रामले भने, ‘शनिबारसम्म १ सय १० परिवारलाई खाद्यान्न बाँड्यौं । जसमा ७५ भन्दा धेरै दलित परिवार छन् ।’

आठदिने देहात घुमाइमा रामजीले कोरोना संक्रमणबारे भुइँ तहको बुझाइ मात्रै जान्ने मौका पाएनन्, संक्रमणसँग जुध्ने स्थानीय सरकारको कामबारे पनि बुझ्न पाए । उनले संक्रमणको विस्तार रोक्न सरकारले लगाएको निषेधाज्ञाको अर्थ, कोरोना संक्रमणबारे स्थानीय तहको गलत बुझाइ पनि बुझ्ने मौका पाए । रामजीका अनुसार केही स्थानीयले कोरोना लाग्नु भनेको रुघाखोकी, ज्वरो र सास फेर्न अप्ठ्यारो हुनु हो भन्ने बुझेका छन् । उनले भने, ‘हामीलाई केही हुँदैन भन्ने अति विश्वासले हो, गाउँमा भोजभतेर चलिरहेको छ । हूल बाँधेर मेलापातमा जाने क्रम रोकिएको छैन ।’

उनले भित्री गाउँहरूमा कुनै आधिकारिक विज्ञता नभएका तर मेडिकल प्राक्टिसनर भनेर चिनिने औषधि पसल सञ्चालक र घुमुवाहरू पनि भेटे ।जो पीपीई सेट त परै जाओस्, मास्क र पन्जा पनि नलगाई संक्रमणको पुष्टि नभएको तर लक्षण भएकाहरूलाई घरमै पुगेर जाँच्ने र औषधि दिने काम गरिरहेका थिए । उनले ज्वरोबाट तंग्रिएका केही स्थानीयको हातमा केनुला देखे भने कसैको हातमा केही दिनअघि केनुला लगाएका दाग । रामले सुनाए, ‘धेरै जसोलाई ज्वरो धेरै बढेपछि बोतल चढायो भने ठीक हुन्छ भन्ने बुझाइ रहेछ ।’ बोतल चढायो भने छिटो तागत आउँछ भन्ने बुझाइ हुर्किएको र त्यसलाई स्थानीय मेडिकल प्राक्टिसनरहरूले पैसा कमाउने माध्यमका रूपमा प्रयोग गरिरहेको पनि भेटियो ।

संक्रमणको पूरै लक्षण देखिए पनि परीक्षण नगराईकन बसेकाहरूलाई पनि रामजीले भेटे । उनले सुनाए, ‘परीक्षणमा संक्रमण पुष्टि भयो र पुलिसले यो कुरा थाहा पायो भने क्वारेन्टाइनमा राखिदिन्छ र त्यहाँ बस्नै नसकिने हुन्छ भन्ने भय पनि केहीमा भेटियो ।’ संक्रमण पुष्टि भएर होम आइसोलेसनमा बसेकाहरूबाट परिवारका सदस्यमा संक्रमण सर्ने उच्च सम्भावना पनि रामजीले देखे । संक्रमित र परिवारका सदस्य कसैले पनि मास्क नलगाई बसेको केही घर पनि भेटियो । कतिपयका त संक्रमित भएका परिवारका सदस्यहरू बाहिरफेर काममा पनि निस्केको देखियो ।

उनले वीरनगरा गाउँको एउटा घटना सुनाए । जहाँ एक संक्रमितलाई श्वासप्रश्वासमा समस्या देखिएपछि मात्रै सदरमुकामस्थित अस्पताल लगियो । त्यहाँबाट उपचार हुन नसकेपछि उनलाई चितवनको भरतपुर पुर्‍याइयो । ती बिरामी उपचारकै क्रममा बिरामीको क्रममा मृत्यु भएपछि मात्रै स्थानीयहरूले उनलाई कोरोना संक्रमण भएको थाहा पाए । संक्रमितको मृत्युपछि स्थानीय तहको पहलमा ती परिवारका सबै सदस्यको परीक्षण गर्दा दुई जनामा संक्रमण पुष्टि भयो । उनले सुनाए, ‘कोरोना लागेको थाहा भयो भने मेरो घरमा कोही पनि आउँदैनन् भन्ने भय धेरैमा देखिन्छ । यस्तो भयका कारण संक्रमितबाट स्थानीय तहमा संक्रमण फैलिने जोखिम उच्च छ ।’

रामजीको गाउँ डुल्ने टिममा हेल्थ असिस्टेन्ट अमरुल आलम, रमेश शर्मा, सुरेन्द्र शर्मा, रवि पठे र सीएमए सरोज पटेल छन् । उनीहरूले गाउँ डुल्दा सार्वजनिक चौताराहरूमा झुम्मिएर बाघचाल, तास खेलिरहेका, गफ लडाइरहेका स्थानीयको समूह धेरै ठाउँमा देखे । उनले सुनाए, ‘कैयौं दलित परिवारमा भने कोरोना हामीलाई लाग्ने रोग नै होइन भन्ने बुझाइ देखिन्छ । कतिपयले भने आफूले नियमित रक्सी खाने भएकाले कोरोनाले छँदै छैन भन्ने विश्वास छ ।’

रामजीका अनुसार कैयौं स्थानिय शिक्षकहरूमा पनि आफ्नो गाउँमा कोरोना कसैगरी छिर्दैन भन्ने गलत आत्मविश्वास देखिन्छ । उनले एक जना ज्वरोले सिकिस्त भएको बिरामी बच्चा पनि भेटे । जसको घाँटीमा ६/७ वटा रंगीबिरंगी माला थियो । ती बच्चाका बाबुले छोराको ज्वरो निको हुन्छ भनेर आफूले भगवतीको मन्दिरबाट, चुरे माईको मन्दिरबाट माला ल्याएर लगाइदिएको बताए । रामजीले भने, ‘स्वास्थ्यबारे यति कमजोर बुझाइ भएको गाउँमा संक्रमणको डढेलो सल्कियो भने के होला ?’

प्रत्येक रात सुत्नुअघि रामजीहरू दिनभर लगाएको सबै कपडा धुन्छन्, दिउँसो कहाँ कहाँ कुकुरले खेद्यो ? कहाँ स्थानीयले नै गाली गरे भनेर अनुभव साट्छन् । अनि लखतरान जीउ बिसाउँछन् । रामजीले गाउँ डुल्दा समूहका हिँड्दा पनि मास्क नलगाएका स्थानीयहरू मात्रै भेटे । पुरुषहरू गोजीमा मास्क बोकेर हिँड्ने तर लगाउन नखोज्ने देखियो भने महिलाहरू सारीको सप्कोले नाक मुख छोपे भइहाल्छ नि भनेर मास्क पनि नबोकी हिँडेको देखियो ।

अक्सिजनको अभावमा संक्रमितहरूको भकाभक मृत्यु भइरहेको, अस्पतालहरूमा उपचार पाउन सक्ने अवस्था नरहेको भयाभह अवस्थाबारे गाउँका धेरै मान्छे जानकार देखिएनन् । रामजीले सुनाए, ‘निरक्षर र सञ्चारमाध्यममा पहुँच नभएका धेरैलाई कोरोना यति डरलाग्दो रोग हो भन्नेबारे पनि थाहा छैन ।’

प्रतिक्रिया