• फिचर

    कोरोनाले के मार्दो हो, खान नपाई मरिने भो

    २७ जेष्ठ २०७८, बिहीबार

    दाङ, रुपन्देही, बाँके, दार्चुला — प्यूठानका गंगाबहादुर थापा घोराही–१६ स्थित एक ह्याचरी उद्योगमा काम गर्थे । लामो निषेधाज्ञा हुँदा उद्योगमा नियमित काम नभएपछि उनले घर जान खोजे तर डेढ महिनासम्म काम गरेको तलब पाएनन् । अरू पैसा केही भएन ।

    दाङको घोराही–१० नारायणपुरमा निषेधाज्ञाले बिचल्ली परेका विपन्न परिवारलाई राहतमा खाद्यान्न वितरण गरिँदै। तस्बिर : दुर्गालाल/कान्तिपुर
    घोराहीमा बसेर साँझबिहान के खाऔं भन्ने चिन्ता भयो । घरसम्म पुग्ने उपाय नभएपछि बुधबार बिहानै जिल्ला प्रहरी कार्यालय पुगे । गुनासो सुनिसकेपछि प्रहरीले तलब दिलाउने प्रयास गर्‍यो तर उद्योग सञ्चालकले महामारीमा काम नभएकाले पैसा दिन नसकिने बताए । ‘यता काम छैन, खाने बस्ने समस्या छ । घर जाऊँ भन्दा भाडा छैन, गाडी चल्दैन । भोकै मर्ने अवस्था आयो,’ थापाले भने, ‘महामारीले भन्दा भोकले मर्ने बेला आयो ।’

    रोजगारी त गयो, पहिले काम गरेको पैसा पनि नपाइने स्थिति आएको उनले बताए । ‘न अहिले काम छ, न त पहिले गरेको कामको पैसा नै पाइन्छ । यत्तिकै मर्ने भयौं,’ उनले भने, ‘रोगभन्दा भोकले मर्ने दिन आयो ।’

    घोराही–१४ सुकुम्बासी टोलकी कल्सी चौधरीलाई पनि साँझबिहान चुल्हो बाल्न गाह्रो परेको छ । मजदुरी गरेर जीविका चलाउँदै आएकी उनी कामविहीन भएको महिना बितिसक्यो । ‘दिनदिनै काम गरेर गुजारा गर्थ्यौं, कति दिन उधारो खाने ?,’ उनले भनिन्, ‘त्यही पनि पत्याउन छाडे । कोरोनाले के मार्दो हो, खान नपाई मरिने भइयो ।’ घोराहीकै ४४ वर्षीय जुठे घर्ती राहत खोज्दै भौंतारिइरहेका छन् । घोराहीकै बुद्धिराम कुमालले राहत माग्दै हिँड्नुपरेको बताए । ‘काम खोजेर पाइँदैन । घरबाट निस्कन मिल्दैन । विभिन्न संघसंस्थाले अलिअलि चामल दिन्छन्, त्यसले एक–दुई दिन टारेको छु,’ उनले भने, ‘अब कसरी बाँच्ने हो, थाहा छैन । गरिबलाई भोक बढी लाग्ने तर खानेकुरा नहुने । गाह्रो छ बाँच्न ।’ लामो समय कोरोना महामारी र निषेधाज्ञा लम्बिँदा जीविका चलाउन कठिन भइसकेको व्यवसायीहरूको गुनासो छ ।

    ‘अहिले त हामी किन बाँच्यौं होला भन्ने भइसक्यो । ऋण तिर्न नसकेर कता भागौं भन्ने भएको छ,’ घोराहीका यातायात व्यवसायी भरतनाथ योगीले भने, ‘कोरोनाको डर हराइसक्यो । भोक पो बढ्न थाल्यो । कसरी ज्यान पाल्ने ? ऋण कसरी तिर्ने ?’ कोरोनाबाट बाँचे पनि आर्थिक समस्याले गाह्रो भइरहेको उनले बताए ।

    व्यवसायीको स्थिति पनि दयनीय भइसकेको उद्योग वाणिज्य संघ दाङका अध्यक्ष टंकसिंह बुढाथोकीले बताए । ‘व्यवसायीले माग्न पनि सुहाएन । आयस्रोत छैन,’ उनले भने, ‘दिनदिनै व्यवसाय गरेर जीविका चलाउनेलाई मर्नु न बाँच्नु भएको छ ।’ गत वर्ष स्थानीय तहले राहत वितरणका कार्यक्रम सञ्चालन गरे पनि यसपालि छैन । सबैको ध्यान अस्पतालमा बेड र अक्सिजन पाउने कुरामा केन्द्रित भएपछि भोकाहरू ओझेलमा परेका हुन् । धेरै मानिसहरू भोकभोकै भएपछि राहत वितरणको काम थालिएको नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष अभियान बस्नेतले बताए । ‘गरिबप्रति कसैको ध्यान पुगेको छैन । धेरै मानिस भोकभोकै छन्,’ उनले भने, ‘यस्तो अवस्था देखेपछि हामीले खाद्यान्न वितरण गरिरहेका छौं ।’

    खान नपाएकाहरूको संख्या अत्यधिक रहेको घोराहीमा फुड बैंक सञ्चालन गरिरहेकी साजिदा सिद्धिकीले बताइन् । ‘धेरै मानिसलाई साँझबिहानको छाक टार्न समस्या भएको देखेपछि हामीले फुड बैंक स्थापना गरेका छौं । हुनेले दिन्छन्, नहुनेले लैजान्छन्,’ उनले भनिन्, ‘खानेकुरा माग्नेहरूको संख्या अत्यधिक छ । दिनमै सयौं मानिस राहत माग्न आउँछन् । गरिबलाई रोगको भन्दा भोककै चिन्ता बढी छ ।’

    बुटवलमा १५ वर्षदेखि रिक्सा चलाएर जीवन निर्वाह गर्दै आएका ४५ वर्षीय जगन्नाथ कहांरले निषेधाज्ञामा भोकै रात बिताउनु परिरहेको बताए । अटोरिक्सा आएपछि उनले यात्रु पाउन छाडेका थिए । ‘यात्रु नभएपछि सामान बोक्थेँ,’ उनले भने, ‘अहिले त काम ठप्पै भयो, कमाइ नै छैन ।’ कोरोनाले असर गरेपछि छाक खोसिएको उनले दुखेसो पोखे । पहिले बिहान ७ बजेदेखि रिक्सा चलाउँथे, मध्याह्न खाना खान्थे । त्यसपछि पुनः काम गर्थे । ‘अहिले कसैले काम दिन्छ कि भनेर सडक किनारमा ढुक्छु,’ उनले भने, ‘कसैले खानेकुरा दियो भने पेटमा अन्न पर्छ, नत्र भोकै सुत्छु ।’

    मायादेवी–२ का राजदेव यादवलाई परिवारका साथै बस्तुभाउ पाल्न हम्मेहम्मे परेको छ । मजदुरी गरेर सात जना परिवारका लागि खाना र बस्तुभाउलाई दाना पुर्‍याउने गरेको उनले बताए । ‘अहिले त काम पाइँदैन,’ उनले भने, ‘मान्छेले खान नपाएका बेला पशुलाई दानापानी कसरी खुवाउनु ?’ गत वर्ष बन्दाबन्दीका बेला यस्तै समस्या भोगेका थिए । समस्या दोहोरिएपछि बस्तुभाउ बिक्री गर्नेबाहेक विकल्प नरहेको उनले सुनाए । उक्त वडाका २८ वर्षीय ध्रुव केवटलाई बुबाको मृत्यु भएपछि आमा, श्रीमती र दिदीबहिनीको रेखदेखको जिम्मा छ । काम बन्द भएपछि गुजारा चलाउन धौधौ भएको छ । ‘अधियाँ लगाउन खेत पनि पाइएन,’ उनले भने, ‘सहरमा गएर मजदुरी गर्ने अवस्था पनि छैन ।’

    गत वर्ष महामारीका बेला यहाँका प्रत्येक स्थानीय तहले राहतका कार्यक्रम ल्याएका थिए । खाद्यान्न वितरण गरेका थिए । मनकारीले विपन्नलाई खाद्यान्न उपलब्ध गराएका थिए । यसपटक जनप्रतिनिधिले भोकमरीबारे सोधपुछ नगरेको पीडितले गुनासो गरे । गत वर्ष राहत वितरण गर्दा खरिद गरेको सामानको भुक्तानी अहिलेसम्म गर्न नसकेको मर्चवारी गाउँपालिका अध्यक्ष केशवनन्द बानियाँले बताए । पालिकामा विपन्नको बसोबास भए पनि केन्द्रीय सरकारले राहत वितरण नगर्न पत्र पठाएको उनले बताए । उनले भने, ‘नबाँड्नू भनेर पत्र पनि आयो र आइसोलेसन सेन्टर बनाउनेतर्फ लाग्यौं ।’ गत वर्षजस्तो यसपटक निषेधाज्ञामा पनि निर्माण, कृषि कार्य नरोकेकाले कोही पनि कामविहीन नरहेको सैनामैना नगर प्रमुख चित्रबहादुर कार्कीले बताए । ‘काम बन्द भएको बेलामा स्वाभाविक रूपमा राहत बाँड्नुपर्थ्योर्, पोहोर बाँडेका पनि थियौं,’ उनले भने, ‘काम गरेर खानेका लागि यस वर्ष बाधा छैन ।’

    कोरोना केन्द्र बनेको बाँकेको नेपालगन्जमा रंगशालाको पर्खालमुनिको बस्तीमा दुई–चार भाँडा, झुत्रो पर्दा र एक सरो लुगाको भरमा मजदुरले वर्षा कटाइरहेका छन् । दिनभरि डुलेर पनि काम नपाउँदा पीडा छ । यहाँका मजदुर बिहान भोकै काम खोज्न निस्कन्छन् । साँझ भोको पेट फर्किन बाध्य छन् । निषेधाज्ञाको अवधि थपिने क्रम जारी छ । छाप्रोमुनिका १० परिवारको छटपटी बढ्दै छ । नेपालगन्ज–१३ का ४५ वर्षीय ज्ञानबहादुर पुन मगरले २२ वर्ष रंगशालाको पर्खालमुनि बिताए । पसिना बगाएर मीठो मसिनो खाँदै आएको परिवारलाई लकडाउनमा छाक जुटाउनै मुस्किल परेको उनले बताए । छोराबुहारी काठमाडौंमा छन् । स्टाफ नर्स बुहारी र छोराले व्यापार गर्छन् । ‘फोनमा ठिक्क पार्छन्, छोराबुहारी,’ पुन मगरले भने, ‘के खाएर बाँचेका छौं भनेर कहिल्यै सोध्दैनन् ।’ उनकी श्रीमती चन्दा जर्किन उद्योग कारखानामा काम गर्थिन् । बन्दले गर्दा दुई महिनादेखि घरमै छन् । बिहान–बेलुका मजदुरी गरेर बेलुका चुल्हो बाल्नुपर्ने दैनिकीमा चिसो पसेको छ । चन्दाले चिनजान भएकाहरूकहाँ पुगेर एक–दुई केजी चामल, दाल मागेर ल्याउँछिन् । जसोतसो गरी पकाएर बूढालाई पस्किन्छिन् ।

    कोरोना महामारीले चन्दालाई मगन्ते बनाएको छ । ‘मन त कामै गरेर खाने थियो, परिस्थितिले मगन्ते बनाइदियो,’ उनले भनिन् । श्रीमान् र श्रीमती दिनभरि कामको खोजीमा भौंतारिन्छन् । रित्तै फर्किन्छन् । यही बस्तीका रामगोपाल यादवले पाँच जनाको परिवार पाल्छन् । कोरोना लाग्छ भनेर मान्छे नजिक पर्दैनन् । काम पाउनै मुस्किल छ । यहाँका मजदुरलाई कोरोनाको त्रासभन्दा पनि भोकले सताउन थालेको छ । छोराछोरीलाई पेटभरि खुवाउन नपाउँदा रामगोपालको मन अमिलिन्छ । त्यसैले उनले दुई महिनाको लकडाउनभरि ऋण खोज्दै परिवार पालेका छन् । ऋणमात्रै १५ हजार नाघेको छ । त्यसलाई तिर्न पनि काम खोज्नै छ उनलाई । ३८ वर्षीय जगतबहादुर बुढामगर पनि कामको खोजीमा छन् ।

    बल्लतल्ल पाइने मजदुरी पनि अहिले पाउन मुस्किल छ । बूढा बाआमा बिरामी भएर उपचार गर्न उनलाई हम्मेहम्मे परेको छ । ‘कोरोना लाग्छ भनेर मान्छे काममै बोलाउँदैनन्,’ उनले भने, ‘भात खान चामल छैन, गुन्द्रुकको झोलमै छाक टार्नुपरेको छ ।’ महेश शाक्यले घर बनाउने काम पाउँदा ढुक्क थिए । तर, त्यही काम पनि मिस्त्री नआएपछि गर्न पाएनन् । घर बनाउने औजार नपाएकाले कामदार फिर्ता हुनुपरेको उनले बताए । नुनदेखि बेसारसम्म किनेर गुजारा चलाउनुपर्ने दैनिकीमा एक रुपैयाँ कमाइ नहुँदा भोकमरी खेप्नुपरेको उनले बताए ।

    मजदुरीका लागि स्थानीय र भारतीय गाउँबजारसम्म पुगेर छाक टार्ने दार्चुलाका कामदारलाई कोरोनाभन्दा भोकमरीको चिन्ता टड्कारो छ । निषेधाज्ञाले मजदुरीको काम पाइन छोडेको महाकाली नगरपालिका–३ का जयसिंह कुँवरले बताए । ‘दैनिक काम नगरी गुजारा चल्दैन । गाउँमा मजदुरी मिल्दैन,’ कुँवरले भने । कामको खोजीमा सीमापारि भारतीय बजारसम्म जाने उनीहरू यतै रोकिएका छन् । गाउँमा पनि बाहिर निस्केर काम गर्न पाउँदैनन् । यो वर्ष हिउँदेमा परेको खडेरीले गहुँ कम फलेपछि भोकमरीको चिन्ता बढेको नौगाड–६ लक्ष्मणसिंह धामीले बताए । ‘पोहोर साउनमा कोरोना बढेपछि भारतबाट फर्केर गाउँमै बस्ने योजनामा थिएँ,’ उनले भने, ‘उताको रोजगारी गुम्यो, फेरि जाऊँ भने कोरोनाको डर छ, यतै बसौ भने भोकमरीले मरिएला भन्ने पीर छ ।’

    भारतबाट फर्केका नौगाड–६ का रतनराम लुहार अहिले पुर्ख्यौली पेसा आरन चलाउन चाहन्छन् तर लगानी गर्न पैसा छैन, काम पाइँदैन ।

    साभार- कान्तिपुर