खजुरा क्यान्सर अस्पतालमा एक्सरे र प्रयोगशाला सेवा विस्तार
शिक्षाखबर डेस्क
२४ श्रावण २०८३, आईतवार
no immg

नेपालगन्ज। बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा एक्सरे र प्रयोगशालाको सेवा विस्तार गरिएको छ ।

बिरामीको चाप र आवश्यकतालाई ध्यानमा राखेर अस्पतालमा रहेको प्रयोगशाला र एक्सरे सेवालाई २४ सै घण्टा सञ्चालनमा ल्याइ सेवा बिस्तार गरिएको हो ।अस्पतालका प्रमुख कार्यकारी निर्देशक डा.निरज भट्टराईले अस्पतालमा क्यान्सरका बिरामीको चाप बढेसँगै एक्सरेको सेवालाई २४ घण्टा बनाइएको जानकारी दिनुभयो ।

उहाँले एक्सरे सेवा अन्तर्गत सिटी स्क्यान सेवा बिहान आठ बजेबाट राती आठ बजे सम्म (१२ घण्टा) र अन्य एक्सरे सेवा २४ सै घण्टा सुचारु रहने बताउनुभयो ।भिडियो एक्सरेको सेवा भने जनशक्तिको अभावमा हाल विस्तार गर्न नसकिएको जनाउँदै कार्यकारी निर्देशक डा.भट्टराईले जनशक्तिको व्यवस्थापनसँगै भिडियो एक्सरेको सेवा पनि छिटै विस्तार गरिने जानकारी गराउनुभयो ।

उहाँका अनुसार हाल अन्य अतिरिक्त समयका लागि जनशक्ति व्यवस्थापन गरेर भिडियो एक्सरे सेवा सञ्चालन गरिँदै आएको छ । स्वास्थ्य मन्त्रालयबाट रेडियोलोजी विभागको जनशक्ति माग गरिएकोले सो जनशक्ति उपलब्ध भएका सेवा सहज हुने छ ।

अस्पतालका अनुसार पछिल्लो समयमा आएर अस्पतालका धेरै सेवालाई एउटै छानामुनि व्यवस्थापन गरेर थप गुणस्तरीयता सहित २४ सै घण्टा सञ्चालन गरिएको हो ।

अस्पताल फार्मेसीलाई समेत विस्तार गरि केमो वार्डबाटै केमो फार्मेसी सञ्चालन गरिएको छ भने फार्मेसीमा अशक्त, अपाङ्ग, ज्येष्ठ नागरिक तथा इमर्जेन्सी र शल्यक्रियाका लागि छुट्टाछुट्टै फार्मेसी काउन्टर व्यवस्थापन गरिएको छ ।

सोही प्रकारले कुरुवाका लागि लायन्स क्लबको सहयोगमा छुट्टै अत्याधुनिक कुरुवा घर निर्माण गरेर कुरुवा घर समेत सञ्चालनमा ल्याइएको छ ।

यसैगरी लामो सयमदेखि बिग्रिएर थन्किएका ४० भन्दा बढी स्वास्थ्य उपकरणको राष्ट्रिय आविष्कार केन्द्रका प्राविधिकद्वारा मर्मत सम्भार गराएर सञ्चालनमा ल्याइएको छ ।

पश्चिम नेपालको चितवनदेखि पश्चिमतर्फको एक मात्र क्यान्सर अस्पताल खजुरा क्यान्सर अस्पतालमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत सीमापारी भारतका समेत बिरामीले सेवा लिँदै आएका छन् ।

प्रतिक्रिया