चितवन । चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले अत्याधुनिक ‘बोनम्यारो’ (रक्तमासी) प्रत्यारोपण सेवा सञ्चालनका लागि आवश्यक भौतिक एवं चिकित्सकीय पूर्वाधार निर्माणको काम तीव्र रूपमा अघि बढाएको छ। चीन सरकारको चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग संस्था (सिडका) सँगको सम्झौता अनुसार भवन निर्माण, उच्चस्तरीय उपकरण खरिद र चिकित्सक तथा नर्सहरूलाई प्राविधिक तालिम दिने गरी रु ८४ करोड (करिब ३७ मिलियन चिनियाँ युआन) को बहुवर्षीय परियोजना अघि बढेको हो। नेपाल सरकारसँगको औपचारिक पुनः सम्झौतापछि सन् २०२६ भित्रै निर्माण थालेर १८ महिना (डेढ वर्ष) भित्र अत्याधुनिक पाँच श्ययाको बोनम्यारो प्रत्यारोपण युनिट पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।
चिकित्सकका अनुसार हड्डीभित्र हुने बोनम्यारोमा रातो रक्तकोष (आरबिसी), सेतो रक्तकोष (डब्लुबिसी) र प्लेटलेट्स बन्ने गर्दछ। एप्लास्टिक एनिमिया र रक्त क्यान्सर (बोनम्यारो क्यान्सर) जस्ता जटिल रोगका कारण नियमित रक्तकोष उत्पादन प्रक्रिया ठप्प हुने भएकाले यस्ता बिरामीका लागि बोनम्यारो प्रत्यारोपण अनिवार्य मानिन्छ। कुनै चिरफार वा अङ्ग झिक्ने जटिल शल्यक्रियाविना सुइमार्फत रगत वा बोनम्यारो झिक्ने र पुनः सुइबाटै शरीरमा प्रविष्ट गराइने यो विधि नेपालमा पहिलोपटक उच्च स्तरमा उपलब्ध गराउन लागिएको हो। हाल यो जटिल सेवाका लागि नेपाली बिरामीहरू महँगो खर्च गरेर विदेश जान बाध्य छन्, तर भरतपुरमै यो सेवा सञ्चालनमा आएसँगै बिरामीहरूले सुलभ मूल्यमा अन्तर्राष्ट्रिय स्तरको उपचार पाउनेछन्।
परियोजनालाई व्यवस्थित गर्न चिनियाँ प्राविधिक टोलीले केही दिनअघि दुई साता भरतपुरमा बसेर भरतपुर महानगरपालिका, सहरी विकास तथा भवन निर्माण आयोजना र नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधिहरूसँग स्थलगत छलफल गरी माटो परीक्षणलगायतका प्रारम्भिक काम सम्पन्न गरिसकेको छ। अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उमेश नेपालका अनुसार अस्पतालको अन्तरङ्ग भवनको अगाडि तीन तले नयाँ भवन निर्माण गरी यो युनिट स्थापना गरिनेछ। यसका लागि जनशक्ति तयार गर्न अस्पतालका आठ जना चिकित्सक तथा नर्सहरूले यसअघि नै चीनमा छ महिना र दुई हप्ताको तालिम सम्पन्न गरिसकेका छन् भने थप तीन जना स्वास्थ्यकर्मीहरू हाल चीनमै विशेषज्ञ तालिम लिइरहेका छन्। वि.सं. २०५१ मा चीनकै सहयोगमा स्थापना भएको यस अस्पतालमा भारतीय बिरामीहरूसमेत उपचारका लागि आउने गरेका छन्।





