विश्वविद्यालयको स्तरोन्नति र नीतिगत सुधारका लागि दक्ष जनशक्ति र प्रमाणमा आधारित निर्णय आवश्यक : विज्ञ
शिक्षाखबर डेस्क
२४ श्रावण २०८३, आईतवार
no immg

काठमाडौँ । विश्वविद्यालयको समग्र पक्षको स्तरोन्नति र संस्थागत अभियानलाई प्रभावकारी बनाउन योग्य तथा दक्ष जनशक्तिलाई प्रवेश गराउनुपर्नेमा शिक्षाविद् तथा नीति निर्माताहरूले जोड दिएका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित दुईदिने नीति कार्यशालाका सहभागी विज्ञहरूले यस्तो निष्कर्ष निकालेका हुन्।

उच्च शिक्षाको क्षेत्रमा भइरहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास र नवीनतम सोचबारे अनुभव आदानप्रदान गर्ने उद्देश्यले आयोजित उक्त कार्यशाला शनिबार सम्पन्न भएको छ।

कार्यशालाले विश्वविद्यालयहरूले आफ्ना नीति तथा कानुनको समयानुकूल समीक्षा गर्दै तथ्य र प्रमाणमा आधारित निर्णय प्रणाली विकास गर्नुपर्ने औँल्याएको छ। साथै अनुसन्धान, शिक्षण, नवप्रवर्तन, अन्तरविषयक सहकार्य तथा सामाजिक उत्तरदायित्वलाई समान रूपमा प्रोत्साहन गर्ने नीतिको आवश्यकता महसुस गरिएको छ। ज्ञान उत्पादन, अनुसन्धान र सामुदायिक योगदानलाई प्रभावकारी बनाउन विद्यमान भर्ना तथा पदोन्नति प्रणालीको पुनरवलोकन गर्नुपर्ने निष्कर्षसमेत कार्यशालाले निकालेको छ।

कार्यक्रमको दोस्रो सत्र समापन गर्दै राष्ट्रिय योजना आयोगका सदस्य रेशु अर्याल ढुङ्गानाले उच्च शिक्षा सुधारका लागि यस्ता नीति कार्यशाला अत्यन्त सान्दर्भिक रहेको बताउनुभयो। विश्वविद्यालयका पदाधिकारी र नीति निर्माता एकै ठाउँमा बसेर उच्च शिक्षाको राष्ट्रिय रणनीति तय गर्नुपर्ने र युवाहरूलाई स्वदेशमै बस्ने वातावरण निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

यसैगरी, योजना आयोगका अर्का सदस्य प्रा.डा. सुदन झाले शैक्षिक गुणस्तर अभिवृद्धिसँगै शैक्षिक क्यालेन्डरको प्रभावकारी कार्यान्वयन अनिवार्य रहेको बताउनुभयो।

कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. खड्गबहादुर केसीले नीति निर्माण र शैक्षिक गुणस्तर सुधारमा कार्यशालाले महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो। त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष किशोर थापाले उच्च शिक्षाको गुणस्तर र नीतिगत सुधारका लागि विश्वविद्यालय र मन्त्रालयबिचको सम्बन्ध थप सुदृढ हुनुपर्ने धारणा राख्नुभयो।

शिक्षा मन्त्रालयको योजना तथा अनुगमन महाशाखा प्रमुख श्रीप्रसाद भट्टराईले विविधतासहितको व्यवस्थापनले विश्वविद्यालयहरूलाई विश्व प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने बताउनुभयो।

शुक्रबार आयोजित पहिलो सत्रको समापन गर्दै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयहरूबिच असल अभ्यासको आदानप्रदान आवश्यक रहेको बताउनुभएको थियो।

उक्त कार्यशालामा अमेरिकास्थित स्टोनी ब्रुक विश्वविद्यालयका प्राध्यापक श्याम शर्मा मुख्य सहजकर्ताका रूपमा रहनुभएको थियो भने अनुसन्धान विभाग प्रमुख दीपककुमार खड्का, प्राध्यापक अजय भट्टराई, सुरेन्द्र सुवेदी, डा. रेश्मा तुलाधर, स्मृति कला पन्त र रोशी लामिछानेले विषयगत सहजीकरण गर्नुभएको थियो। कार्यशालामा राष्ट्रिय योजना आयोग, विश्वविद्यालय अनुदान आयोग, विभिन्न विश्वविद्यालयका उपकुलपति, शिक्षाविद्, अनुसन्धानकर्ता तथा नीति निर्माताहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया