स्वास्थ्य सुरक्षाका सम्पूर्ण सावधानी अपनाउँदा अपनाउँदै अन्ततः कोभिडबाट अछुतो रहन सकिएन। घरमा ममी र भाइलाई कोभिड पोजिटिभ देखिएपछि केही लक्षण नभए पनि सहिद गंगालाल अस्पतालमा मैले पिसिआरका लागि स्याम्पल दिएँ। एउटा चिकित्सक भएकाले दिनहुँ बिरामीको सम्पर्कमा आउँथेँ, त्यसमाथि घरमै दुईजना पोजिटिभ भइसकेपछि उच्च जोखिममा थिएँ, तर मलाई कुनै लक्षण, कुनै किसिमको असहजता नभएकाले नेगेटिभ आउला भन्ने लागेको थियो।
गंगालाल अस्पतालमा बिहान दिएको स्याम्पलको रिपोर्ट सामान्यतः साँझको ६ बजेतिर आउँथ्यो। ६ बजेदेखि नै छिनछिनमा अनलाइन रिपोर्ट हेर्न थालेँ, रिपोर्ट आएको थिएन।
त्यत्तिकैमा, दिउँसोसम्म केही नभएको मलाई अचानक एकदम पेट पोल्यो, छाती भारी भएजस्तो, गर्मी भएजस्तो चिडचिडापन भयो। म आत्तिएँ। प्रायः मलाई स्ट्रेस, एसिडिटीले गर्दा यस्तो हुन्थ्यो। खाना खाने बेला हुन लागेको थियो। मैले ‘खानासँगै अमला पाउडर पनि ल्याइदिनु है’ भनेर फोन गरेँ दादालाई। हामी तीनैजना आइसोलेट भएपछि दादा घरको भान्से हुनुभएको थियो। दादाले खाना र अमला पाउडर ल्याइदिनुभयो। अमलामा प्रशस्त भिटामिन सी र एन्टिअक्सिडेन्ट हुनुका साथै यसले हाइपर एसिडिटीलाई कम गर्न मद्दत गर्छ। खानासँग पानी पिउने बानी नभएकाले दादाले पानी ल्याइदिनुभएनछ। मैले अमला पाउडर एक चम्चा खाएँ र पानीविना निल्ने प्रयास गरेँ। अनि खाना खान बसेँ, एक्लै आफ्नै कोठामा।
योगाभ्यासले शारीरिक रूपमा र प्राणायामले विशेषगरी फोक्सोको क्षमता वृद्धि र तनाव व्यवस्थापनमा समेत विशेष महत्व राख्ने हुनाले यसलाई हामीले यस विषम परिस्थितिमा मात्र नभएर हाम्रो जीवनशैलीमै समावेश गर्न जरुरी देखिन्छ।
खान मन थिएन, एक दुई चम्चा खाँदा मैले खानाको कुनै स्वाद थाहा पाउन सकिनँ। अचम्म लाग्यो, दिउँसोसम्म जिब्रोले राम्रै स्वाद पाएको थियो, अचानक स्वाद हरायो। म झनै आत्तिएँ। स्वाद नपाए पनि खाना खानुपर्छ भनेर बिस्तारै खाँदै गएँ, केही बेरमा खानाको स्वाद पाउन थालेँ। एउटा लामो सास फेरेँ अनि हाँसेँ आफैँमाथि। अघि अमलाको पाउडर पानीविनै खाएकाले त्यो मेरो जिब्रोमा टाँसिएको थियो। सायद, त्यसैले मैले सुरुमा केहीबेर स्वाद पाएकी थिइनँ। त्यसपछि मजाले खाना खाएँ। राति सुत्ने वेला फेरि एकचोटि रिपोर्ट चेक गरेँ– आरटी पिसिआर पोजेटिभ।
भाइले थर्मोमिटर र पल्स अक्सिमिटर ल्याएर दियो। मेरो टेम्पेरेचर, अक्सिजन र पल्स सबै ठीक थियो। अघि रिपोर्ट नआउँदै आत्तिएकी म, अहिले भने डराएकी थिइनँ, कोभिडलाई सामान्य रूपमा लिन प्रयास गर्दै थिएँ। बाहिर निडर भए पनि, भित्र अवचेतन मनमा कताकता अहिलेको कोभिडको नयाँ भेरियन्ट धेरै घातक छ, विशेषगरी युवा वर्गका लागि आक्रामक छ, सामान्य भएको मानिसमा पनि अचानक निमोनिया देखिएर छोटो समयमा धेरै नै गाह्रो हुन सक्छ, ह्याप्पी हाइपोक्सिया हुन सक्छ, दिनहुँ कोभिडबाट भइरहेको मृत्यु र हस्पिटलमा बेड र अक्सिजनको अभाव, यस्तै कुराले मनमा डेरा जमाएका रहेछन्। सोच्दिनँ भन्दाभन्दै मनमा यस्तै कुरा आउँदा रहेछन्। सकेसम्म अरू नै कुरामा आफ्नो ध्यान लगाउन खोजिरहेँ, तर सबै निरर्थक। बिस्तारै लामो–लामो सास फेर्दै, कहिले दाहिने, कहिले देब्रे फर्किएर निदाउन प्रयास गरिरहेँ, तर सकिनँ।
रातको १२ बजेको थियो, मलाई ‘पाल्पिटेसन’जस्तो अनुभव भयो, मुटुको धड्कन एकदम बढेजस्तो लाग्यो, पसिना आएजस्तो, एकदमै छटपटी भयो। निदाउन त सकेकी थिइनँ नै, बेडमा पल्टिन समेत गाह्रो भयो। उठेर बत्ती बालेँ, अनि आफ्नो टेम्परेचर, पल्स, अक्सिजन चेक गरेँ। थर्मोमिटरको रिडिङ ९८.२ थियो, पल्स अक्सिमिटरले ९७ र १३० रिडिङ देखाइरहेको थियो। एकातिर ज्वरो रहेनछ, अक्सिजन पनि ठीक रहेछ भनेर ढुक्क भएँ। अर्कातिर (६०–१०० प्रति मिनेट हुनुपर्ने) पल्स रेट १३० देखेर आत्तिएँ। मुटु यसरी ढुकढुक गरिरहेको थियो कि मानौँ बाहिरै निस्किन खोज्दैछ। यो अवस्थाको कारण कोभिड नभएर मैले लिएको तनाव थियो। साँझ मात्रैको अनुभवबाट आत्तिनुहुँदैन भन्ने सिकेकी म फेरि पनि निकै आत्तिएकी थिएँ। त्यसबेला मलाई महसुस भयो, बिरामीलाई नआत्तिनु, नडराउनु, मनोबल उच्च राख्नु भनेर सम्झाउन जति सहज छ, आफैँलाई पर्दा त्यही गर्न त्यति सहज नहुने रहेछ।
त्यसपछि मध्यरातमा म उठेँ र प्राणायामका विभिन्न विधि र आफूले जानेको रिल्याक्सेसन टेक्निक गरेँ। करिब २० मिनेट जतिको भस्त्रिका, अनुलोमविलोम र भ्रामरी अभ्यासपछि केही शान्त भएजस्तो अनुभव भयो। फेरि औँलामा पल्स अक्सिमिटर लगाएँ। अक्सिजन ९८ र पल्स रेट १०२। धेरै सहज अनुभव भयो। लामो लामो सास लिँदै छोड्दै सुतेँ। तर रातभरि निदाउन सकिनँ। ममीलाई पनि कोभिड पोजिटिभ भएकाले भोलिपल्टदेखि ममीकै कोठामा सुत्ने निर्णय गरेँ।
भोलिपल्टको सूर्यको किरणले छुट्टै उज्यालो लिएर आयो। अबको १४ दिनलाई एकदमै सकारात्मक, रचनात्मक र मनोरञ्जनात्मक तरिकाले बिताउँछु भनी अठोट लिएँ। बिहान आधा घन्टाजति घाममा बसिसकेर योग, प्राणायाम गर्न थालेँ। हाम्रो घरमा नियमित बन्ने गुडुचि, यष्टिमधु, वासा, त्रिकटु भएको जडिबुटी चिया खाएँ। केही समयपछि खाना खाएँ। राति ननिदाएको हुनाले एकैछिन दिउँसो सुतेँ पनि। दिउँसोको खाजा खाएपछि म, ममी र भाइ गफ गर्दै बस्यौँ। साँझको समयमा मज्जाले गीत बजाएर हामी तीनैजना संक्रमित एकछिन नाच्यौँ। हामी कोभिड पोजिटिभ छौँ भन्ने बिर्सेजस्तै भयो। फेरि साँझमा पनि प्राणायाम र योगाभ्यास गरिसकेपछि खाना खाने बेला भयो।
खाना खायौँ र सुत्यौँ। त्यो दिन भने मलाई मज्जाको निद्रा पर्यो। त्यसपछिका १२–१३ दिन लगभग त्यसैगरी बिते। पर्याप्त आराम, पोषिलो झोलिलो खाना, योग, प्राणायाम, जडिबुटी चिया, च्यवनप्राश, अश्वगन्धाजस्ता आयुर्वेद औषधिको यथोचित मात्रामा प्रयोग, मनोरञ्जन र सकारात्मक सोच, यी सबैले आइसोलेसनका दिनलाई धेरै सहज बनाएको मेरो अनुभव छ। हामी पटकपटक टेम्परेचर र अक्सिजन जाँच्थ्यौँ। गार्डेनिङमा रुचि भएकाले मैले बिरुवा रोप्ने, गमलामा गोडमेल गर्ने गर्थें। फूल फुलेको देख्दा, फुलाउँदा छुट्टै आनन्द आउँथ्यो। अरूबेला फेसबुक चलाइरहने मैले आइसोलेसनमा भने फेसबुक बन्द नै गरेँ। न्युज फिडभरी श्रद्धाञ्जलीका पोस्ट देख्दा जसरीतसरी शान्त भएको मन फेरि आत्तिने रहेछ। यसरी आइसोलेसन सक्कायौँ, हामी तीनैजना अहिले स्वस्थ छौँ। भाग्यवश, त्यस्तो कुनै जटिलता आएन।
कोभिडको अनुभवबाट मैले जस्तोसुकै कठिन परिस्थितिमा पनि आत्तिनु हुँदैन, मनोबल उच्च राख्नुपर्छ, धैर्य हुनुपर्छ भन्ने महत्वपूर्ण पाठ सिकेँ। मजस्तो खासै कुनै जटिल लक्षण नदेखिएको, होम आइसोलेसनमै बसेको एउटा चिकित्सकलाई त कोभिडजन्य तनावले सताउँदो रहेछ भने अन्य अस्पतालको बेड र अक्सिजनको अभावमा छटपटाइरहेका मानिस र उनीहरूका आफन्तको मानसिक स्थिति कस्तो होला, तनावकै कारण पनि कति जटिलता आइरहेका होलान् र त्यसको व्यवस्थापनका लागि के गरिएको छ, के गर्नुपर्छ ? यो सोचनीय छ।
मनमा अनावश्यक कुरा खेल्न नदिनका लागि आफूलाई व्यस्त राख्न जरुरी हुन्छ। शारीरिक अवस्था ठीक भए नाचगान, गार्डेनिङ, पेन्टिङ वा आफूलाई मनपर्ने अरू कुनै रचनात्मक कार्य गर्न सकिन्छ। संगीतको पनि चिकित्सकीय प्रभाव रहन्छ, मनपर्ने गीत संगीत सुन्दा त्यसले शरीर र मनमा सकारात्मक तरंग ल्याउँछ। भौतिक दूरी कायम गर्नुपर्ने अवस्थामा हामीले परिवार, साथीभाइ र शुभचिन्तकसँग फोनमा वा भिडियो कलबाट जोडिएर राम्ररी समय बिताउन सक्छौँ।
त्यस्तै योगाभ्यासले शारीरिक रूपमा र प्राणायामले विशेषगरी फोक्सोको क्षमता वृद्धि र तनाव व्यवस्थापनमा समेत विशेष महत्व राख्ने हुनाले यसलाई हामीले यस विषम परिस्थितिमा मात्र नभएर हाम्रो जीवनशैलीमै समावेश गर्न जरुरी देखिन्छ। त्यसबाहेक हामीले शंकास्पद कोभिडका बिरामी वा कोभिडको प्रारम्भिक अवस्थामै आयुर्वेद चिकित्सकको सल्लाह लिएर विभिन्न आयुर्वेद औषधिको प्रयोग गर्न सक्छौँ। आयुर्वेद औषधिको प्रयोगले रोगसँग लड्ने क्षमता वृद्धि गर्नुका साथै लक्षण अनुसारको उपचार गर्न सहयोग गर्छ, जटिलताको सम्भावनालाई न्यूनीकरण गर्छ।
तर आयुर्वेद औषधि भन्दैमा सामाजिक सञ्जालमा आउने अनेक भ्रामक र आधारहीन कुराको पछि लाग्नु भने हुँदैन। नजिकैको आयुर्वेद स्वास्थ्य संस्था वा रजिस्टर्ड आयुर्वेद चिकित्सक वा स्वास्थ्यकर्मीसँग परामर्श लिएर मात्र औषधि सेवन गर्नुपर्छ। आयुर्वेद औषधि उपलब्ध नभएको खण्डमा हामीले हाम्रै भान्सामा हुने बेसार, मरिच, कागती, दालचिनी, ल्वाङ, अदुवा, ज्वानो, तुलसी आदिको प्रयोग आफ्नो शरीर र प्रकृतिअनुसार सही मात्रा र सही तरिकाले गर्नसक्छौँ। यी उपायसँगै प्रोनिङ (घोप्टो परेर सुत्ने)को अभ्यास, बेलाबेला अक्सिजन जाँच्ने र आपतकालीन अवस्था आएमा तुरुन्त हस्पिटल जानुपर्छ। अवस्था गम्भीर भइसकेपछि, अक्सिजन, स्टेरोइड र इन्टेन्सिभ केयर चाहिन्छ नै। त्यसबेला त्यसको अरू केही विकल्प हुँदैन। त्यो गम्भीर अवस्थासम्म पुग्नै दिएनौँ भने, हामी आफ्नो स्वास्थ्य सुरक्षा गर्न सक्षम हुन्छौँ नै, अस्पतालमा हुने अत्याधिक लोड कम गर्न पनि सहयोग गर्न सक्छौँ।
कुनै पनि औषधिले सम्पूर्ण स्वास्थ्य दिन सक्दैन, न रातारात प्रतिरोध क्षमता बढाउन सकिन्छ। पूर्ण स्वास्थ्य त एउटा स्वस्थ जीवनशैली र मनोवृत्तिबाट मात्र प्राप्त गर्न सकिन्छ। त्यही स्वस्थ जीवनशैलीमा केन्द्रित रहेको आयुर्वेदले उपचारात्मकभन्दा स्वास्थ्य रक्षा र प्रवद्र्धनात्मक उपायलाई प्रमुख उद्देश्य मान्छ। अहिलेको कोभिड–१९ को विषम परिस्थितिमा हामीले रोकथामका लागि सावधानी अनिवार्य अपनाउनैपर्छ, सँगसँगै आयुर्वेदमा बताइएको जीवनशैली र जडिबुटी आदिको उचित प्रयोग गर्नसक्यौँ भने कोभिड र भविष्यमा अन्य विषाणु, अन्य सर्ने तथा नसर्ने रोगबाट पनि बच्न सकिएला। किनभने, आयुर्वेद सबै प्रकारका सबै जीवाणुविरुद्ध प्रतिरक्षा विकासमा केन्द्रित रहन्छ। आयुर्वेद रोग र जीवाणुभन्दा पनि व्यक्ति र स्वास्थ्यमा केन्द्रित रहन्छ।
महामारी नियन्त्रणमा हरेक क्षेत्रको भूमिका हुन्छ। हाम्रो छिमेकी राष्ट्र चीनले कोभिड महामारीको भयावह स्थितिलाई परम्परागत तथा आधुनिक चिकित्साको एकीकृत प्रयोगले सफल रूपमा नियन्त्रण गरेको उदाहरण हाम्रै अगाडि छ। त्यसैले यस्तो अवस्थामा सबै चिकित्सा पद्धतिका सबल पक्षलाई, अन्य सबै क्षेत्रलाई लिएर अगाडि बढ्न सक्ने हो भने हामीले यो महामारीलाई नियन्त्रण गर्न सक्छौँ।