‘दुई साताभित्र कोभाक्सको खोप’
शिक्षाखबर डेस्क
४ असार २०७८, शुक्रबार
no immg

काठमाडौँ / कोभाक्स सुविधाअन्तर्गत कोभिड–१९ विरुद्धको खोप दुई साताभित्र ल्याउने गरी तयारी भइरहेको सरकारी अधिकारीहरूले दाबी गरेका छन् । उक्त खोप आइपुगे कोभिसिल्डको पहिलो मात्रा लगाइसकेका १३ लाख ६४ हजार ७ सय १ ज्येष्ठ नागरिकलाई लगाइनेछ ।


कोभाक्सअन्तर्गत गत मे महिनामै १९ लाख २० हजार मात्रा खोप पाउनुपर्ने भए पनि विश्वमै देखिएको अभावले गर्दा उक्त समयसीमा टरेको हो । जुन अन्तिमसम्म कोभाक्स सुविधाको खोप पाउने जानकारी आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोभाक्सअन्तर्गत हालसम्म ३ लाख ४८ हजार मात्रा कोभिसिल्ड आइसकेको छ ।

‘कोभिसिल्डको विकल्पका रूपमा अस्ट्राजेनेकाको बेलायत, कोरिया, डेनमार्कर्लगायत मुलुकमा उत्पादित खोप कति मात्रामा पाउने हो भन्ने जानकारी जुन अन्तसम्म दिइने भनिएको छ,’ स्वास्थ्य मन्त्रालय परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलले भने, ‘कुन कम्पनीद्वारा उत्पादित, कति मात्रा खोप पाउने भनेर जानकारी आएपछि त्यसकै आधारमा हामी उक्त कम्पनीबाट खोप ल्याउनेछौं ।’

अक्सफोर्ड–अस्ट्राजेनेकाद्वारा विकसित ‘एजेडडी १२२२’ खोपलाई सिरम इन्स्टिच्युट अफ इन्डियाले कोभिसिल्ड नाममा उत्पादन गर्ने गरेको छ । कोभाक्सअन्तर्गत ३ लाख ४८ हजार मात्रा, भारतीय अनुदान ११ लाख र खरिदबाट १० लाख गरी २४ लाख ४८ हजार मात्रा कोभिसिल्ड खोप नेपालमा भित्रिइसकेको छ ।

कोभाक्स र भारतबाट खरिद गरिने खोपको आधारमा गत फागुन २३ देखि ६५ वर्षमाथिको उमेर समूहका लागि खोप अभियान सुरु गरिएको डा. पोखरेलले बताए । ‘भारतले सन् २०२१ को अन्त्यतिर (मंसिर–पुस) मात्र कोभिसिल्ड दिन सक्ने भनेकाले कोभाक्ससँग खोप सुनिश्चितताका लागि तीव्र गतिमा पहल गरिरहेका छौं,’ उनले भने । कोभिसिल्ड खोप सुरुमा ४ सातापछि दोस्रो मात्रा लगाउने भनिए पनि पछि ८ देखि १२ साता र पछिल्लो समय १२ सातापछि कुनै पनि बेला जति सक्दो चाँडो लगाउने समय निर्धारण गरिएको छ ।

‘नेसनल एड्भाइजरी ग्रुप अन इम्युनाइजेसन’को प्रस्तावमा भारतले कोभिसिल्डको पहिलो र दोस्रो मात्राबीचको समय ४ देखि ६ साता, ६ देखि ८ साता, ८ देखि १२ साता हुँदै पछिल्लो दिन १२ देखि १६ साता बनाएको छ । नेपालमा करिब १३ लाख ६५ हजार ज्येष्ठ नागरिकले अस्ट्राजेनेकाको खोप लगाएका थिए । उनीहरूले पहिलो मात्रा लगाएको बिहीबार १०३ दिन भइसकेको छ ।

पछिल्लो गाइडलाइनअनुसार उनीहरूले पहिलो खोप लगाएको ८४ दिनदेखि एक सय १२ दिनभित्र दोस्रो मात्रा खोप लगाइसक्नुपर्छ । नेपालमा हालसम्म २४ लाख ७१ हजार ३ सय ८८ जनाले पहिलो मात्रा र ६ लाख ९१ हजार ४ सय ९४ जनाले दुवै मात्रा लगाइसकेका छन् । भारतमा उत्पादित कोभिसिल्ड र चीनमा उत्पादित भरोसेल खोप नेपालमा प्रयोग भइसकेको छ ।

‘१६ साता नाघे पनि दोस्रो मात्रा’

विश्वमै खोपको व्यापक अभाव भएकाले दोस्रो मात्रा पर्खिरहेकाले १६ सातापछि खोप पाए पनि यसले फाइदा नै गर्ने दाबी सरकारी अधिकारीहरूको छ । ‘१२ साता नाघे पनि कुनै बेला दोस्रो मात्रा लगाउन सकिन्छ,’ डा. पोखरेलले भने, ‘दोस्रो मात्रा लगाउने बेलासम्म १६ साता नाघे पनि महामारीको अवस्थामा यो बुस्टर मात्राले धेरै फाइदा नै गर्छ ।’ विभिन्न अध्ययनले पहिलो मात्रा लगाएको एक महिनादेखि ६ महिनासम्म दोस्रो मात्रा लिनु प्रभावकारी बुस्टर मात्रा हुन सक्ने औंल्याएको उनले बताए ।

प्रस्तावित समयभित्रै खोपको दोस्रो मात्रा लगाउँदा शरीरमा उत्पन्न भएको प्रतिरोधी क्षमता कम हुन नपाउने कोभिड भ्याक्सिन एक्सपर्ट एड्भाइजरी कमिटीका कोअर्डिनेटर डा. श्यामराज उप्रेती बताउँछन् । ‘तर दोस्रो मात्रा लगाउन ढिलो गर्दा खोपको प्रभावकारिता विस्तारै कम हुँदै जाने हुँदा यो समय जोखिम बढ्न सक्छ,’ उनले भने, ‘ढिलो भए पनि दोस्रो मात्रा लगाउँदा शरीरमा भएको मेमोरीले तुरुन्त प्रतिरोधक क्षमता बढाएर लामो समयसम्म यसलाई कायम राख्छ ।’

गत वर्षको दाँजोमा ज्येष्ठ नागरिकको मृत्यु धेरै कम देखिनुमा खोप नै कारक रहेको उनको भनाइ छ । डा. पोखरेलले पनि दोस्रो लहरमा ६५ वर्ष माथिकामा मृत्युदर अपेक्षितभन्दा धेरै न्यून देखिएको बताए । ‘एक मात्रा खोप लगाएर शरीरमा प्रतिरोधी क्षमता आइसकेपछि दोस्रो लहर सुरु भएकाले यस्तो अवस्था आएको हो,’ उनले भने ।

प्रतिक्रिया