थपिँदै कोभिड भेरियन्ट, नेपालमा ‘अल्फा’ को मात्र परीक्षण सम्भव
शिक्षाखबर डेस्क
५ असार २०७८, शनिबार
no immg

काठमाडौं / विश्वभर फैलिएका कोरोना भाइरसका एक दर्जन प्रजाति (भेरियन्ट) मध्ये नेपालमा एउटाको मात्र पहिचान गर्न सकिन्छ। अन्य भेरियन्ट पहिचानका लागि विदेशस्थित प्रयोगशालाकै भर पर्नुपर्ने बाध्यता छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुणा झाका अनुसार, नेपालमा अल्फा भेरियन्ट (बी.१.१.७)को मात्र परीक्षण गर्न सकिन्छ। अरू सकिन्न। भेरियन्ट पत्ता लगाउन जीन सिक्वेन्सिङ गर्नुपर्ने हुन्छ। यसअघि कोरोना भाइरस संक्रमितको नमुनाको जीन सिक्वेन्सिङका लागि हङकङ र भारतस्थित प्रयोगशालामा पठाइएको थियो। हङकङमा पठाइएका १५ नमुनामध्ये एक जनामा डबल म्युटेन्ट (अल्फा)भाइरस फेला परेको थियो।

त्यस्तै दोस्रो पटक मुलुकका विभिन्न भागबाट संक्रमितका ३५ नमुना डब्लूएचओको समन्वयमा भारत पठाइएको थियो।

इन्स्टिच्युट अफ जेनोमिक्स एण्ड इन्टिग्रेटिभ बायोलोजीमा गरिएको जीन सिक्वेन्सिङमा ९७ प्रतिशत (३४) वटामा डेल्टा भेरियन्ट(बी.१.६१७.२) पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। बाँकी ३ प्रतिशतमा कप्पा (बी.६१७.१) पाइएको थियो। स्वास्थ्य मन्त्रालयले जेठको पहिलो साता विज्ञप्ति जारी गर्दै मुलुकमा तीन किसिमका भेरियन्ट रहेको पुष्टि गरेको थियो।

अल्फा नेपालमा पुष्टि भएको पहिलो भेरियन्ट हो। अन्य भेरियन्ट परीक्षणका लागि पूर्वाधार व्यवस्थापनलगायत अन्य काम भइरहेको डा. झाले जानकारी दिइन्। अल्फा सन् २०२० सेप्टेम्बरमा पहिलो पटक देखिएको थियो।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले भेरियन्ट अफ कन्सर्नभित्र परेका रवि भिन्न मुलुकमा फैलिएका भेरियन्टहरूलाई नयाँ नामकरण गरेको छ। तीमध्ये अल्फा, डेल्टा, गामा र कप्पा मुख्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार, पछिल्लो समय नेपालमा फैलिएको कोभिड–१९ भेरियन्टलाई डेल्टा (बी.१.६१७.२) नाम दिइएको छ। हाल नेपालमा भेटिएका भेरियन्ट अफ कन्सर्नमा डेल्टा र अल्फा छन्। तीमध्ये अल्फाको पहिचान गर्न सकिने प्रयोगशालाकी निर्देशक डा. झाले जानकारी दिइन्।

बाहिरी मुलुकका प्रयोगशालामा गरिएका परीक्षणअनुसार, कोभिड–१९ को नेपालमा तीनवटा प्रजाति (भेरियन्ट) कडा खालको भएको पाइएको छ। डेल्टा, अल्फा र कप्पा (बी.६१७.१) मात्र रहेको डब्लूएचओको नेपाल कार्यालयले जनाएको छ। यी तीन भेरियन्टमध्ये डेल्टा सबैभन्दा बढी संक्रामक मानिन्छ।

भारतको अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज(एम्स)मा कार्यरत वैज्ञानिक एवं चिकित्सकहरूले अध्ययनपछि प्रकाशित गरेको एक रिपोर्टमा खोप लगाएका व्यक्तिमा समेत डेल्टा भाइरसले संक्रमण गरेको पाइएको छ। एम्सकोरिपोर्ट अनुसार, ६३ जनाको नमुना संकलन गरी अध्ययन गरिएको थियो। जसमध्ये एक डोज खोप लिएका ७७ प्रतिशतमा डेल्टा भाइरसको संक्रमण पुष्टि गरिएको थियो।

एम्समा कार्यरत डा. सञ्जय रायका अनुसार, डेल्टा र अल्फा भेरियन्ट बढी खतरापूर्ण मानिएको छ। कोरोना संक्रमणको दोस्रो लहरमा डेल्टा भेरियन्ट नै प्रमुख जिम्मेवार रहेको पाइएको छ।
जीन सिक्वेन्सिङ गर्न नसक्दाको भ्रम नेपालमा नयाँ भेरियन्ट पुष्टि गर्न सक्ने क्षमता नहुँदा अफवाहसमेत फैलिएको छ।

बेलायती ट्याबलोइड अखबार डेली मेलले दुई साताअघि कोरोनाको नयाँ भेरियन्ट भेटिएको दाबी गर्दै समाचार प्रकाशित गरेको थियो। डेली मेलले ‘नेपाल भेरियन्ट थ्रेट टु आवर होलिडेज’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो। जुन समाचारलाई स्वास्थ्य मन्त्रालयले खण्डन गरेको थियो।

केन्द्रीय स्तरको प्रयोगशालामा हुनुपर्ने जनशक्ति, उपकरण, आधारभूत संरचना, सेवा सुविधालगायत अभावले नमुनाहरू बाहिरी मुलुकका प्रयोगशालामा परीक्षण हुँदै आएको छ। कोभिड–१९ को पीसीआर परीक्षण उपलब्ध नहुँदा नमुना परीक्षणका लागि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को हङकङस्थित प्रयोगशालामा पठाइएको थियो। कोरोना भाइरसको पीसीआर परीक्षण पनि गत माघ १२ गतेदेखि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पहिलो पटक गरिएको थियो।

महिनैपिच्छे भेरियन्ट पहिचान
स्वास्थ्य सेवामा प्रतिरोधात्मक र उपचारात्मक विधिलाई प्रभावकारी बनाउन सुविधासम्पन्न प्रयोगशाला र परीक्षण हुनुपर्ने विज्ञहरू बताउँछन्। संक्रमण गराउने सबै खालको भेरियन्टको शीघ्र पहिचान गर्नुपर्ने सूक्ष्म जीव विज्ञहरू बताउँछन्।

डब्लूएचओको विज्ञ समूहमा रहेर काम गरिसकेका वरिष्ठ सूक्ष्म जीव विज्ञान विज्ञ प्राडा. प्रकाश घिमिरे प्रदेश तथा पालिकामा भाइरसको भेरियन्टको पहिचान हरेक महिनामा गर्नु आवश्यक रहेको बताउँछन्। उनले भने, ‘हरेक महिना भाइरसको संक्रमण गर्ने क्षमता वृद्धि भई समुदायमा व्यापक फैलन सक्ने संभावना हुन्छ। अहिलेको अवस्थामा हरेक महिनामा राष्ट्रिय प्रतिनिधित्व हुने गरी १०/१५ वटा भाइरसका नमुनाको अणुवंशिक तत्वहरूको सिक्वेन्सिङ गर्नुपर्छ। भाइरसको उत्परिवर्तनबारे जानकारी लिइ रोग नियन्त्रण नीति तथा प्रतिकार्य गरी नै रहनुपर्छ।’

त्रिभुवन विश्वविद्यालय माइक्रोवायोलोजी विभागका प्राध्यापक डा. घिमिरेका अनुसार, त्रिभुवन तथा काठमाडौं विश्वविद्यालयका साथै निजी र सरकारी दुई/दुईवटा प्रयोगशालामा भाइरसको अणुवंशिक तत्वहरूको सिक्वेन्सिङ गर्ने उपकरण छन्।

सो कार्य गर्न माइक्रोवायोलोजिष्ट भाइरोलोजिष्ट, मलिकुलर वायोलोजिष्ट जस्ता जनशक्ति आवश्यक पर्छ। ‘सरकारी क्षेत्रमा उचित दरबन्दी र अवसर अभावमा विदेश पलायन हुन बाध्य छन्। नेपालमै पनि जिनोम सिक्वेन्सिङ गर्न सकिन्थ्यो,’ डा. घिमिरेले भने, ‘सरकारले उपयुक्त वातावरण मिलाएमा अहिले पनि सिक्वेन्सिङ गर्न सकिन्छ।’ स्वदेशमै रहेको जनशक्ति र पूर्वाधारको उपयोग नगरी भारत, हङकङका प्रयोगशालाहरूमा लैजानुमा उत्तरदायित्वको अभाव रहेको
उनले बताए।

सीडीसीको कार्यान्वयन
सरकारले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै रोगको रोकथाम तथा नियन्त्रणका लागि ‘सेन्टर डिजिज कन्ट्रोल’ स्थापना गरिने उल्लेख गरेको थियो। स्वास्थ्य मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल नीति कार्यान्वयनको खाँचो रहेको बताउँछन्।

‘भाइरस छुट्ट्याउँदा र नछुट्ट्याउँदा पनि एकै खालको उपचार गर्ने भए त आवश्यक पनि नहोला,’ डा. प्याकुरेलले भने, ‘भाइरसहरूमध्ये कुनै बलियो हुँदै जाने र कुनै कमजोर हुँदै गएको हुन्छ। जिनोम सिक्वेन्सिङ गर्दा भाइरसको अवस्था थाहा हुन्छ। सेन्टर डिजिज कन्ट्रोल (सीडीसी) स्थापना गर्ने हो भने जीन सिक्वेन्सिङ गर्न सहज हुन्थ्यो। विभिन्न रोगको अध्ययन गर्ने थलो बन्थ्यो।’

प्रतिक्रिया