विद्यालय बगाएपछि पढाइको चिन्ता
शिक्षाखबर डेस्क
१३ असार २०७८, आईतवार
no immg

लमजुङ — मनाङको नासों गाउँपालिका–१ तालगाउँस्थित भानु माविमा पढ्ने सन्देश तामाङ असार १ गते बिहान उठ्दा मर्स्याङ्दीमा बाढी उर्लंदै थियो । बाढी बढ्दै गएपछि उनको मनमा चिसो पस्यो, अब बाढीले स्कुल डुबाउँछ । धादिङ घर भई तालडाँडा बस्दै आएका उनी कक्षा १० का विद्यार्थी हुन् ।

उनका अनुसार हेर्दाहेर्दै बाढी तालगाउँ प्रवेश गर्‍यो । तटबन्ध नाघेर बाढी स्कुलतर्फ आयो । ‘अब स्कुल डुबाउने भयो भनी मनमनै भनें । नभन्दै केही बेरमा स्कुल सबै डुबायो,’ उनले भने । उनका अनुसार अब स्कुलमा पढ्न सकिँदैन । सबै डुबाएको छ । शौचालय लगेको छ । पर्खाल भत्काएको छ । ‘बास त टेन्टमा बसौंला । खाना त राहतको खाउँला तर स्कुलमा कसरी पढ्ने ?’ उनले भने ।

शिक्षक सिंहबहादुर गुरुङका अनुसार टिनबाहेक स्कुलको सबै चिज बिग्रेको छ । बाढीले ल्याएको सबै ढुंगामाटो, बालुवा भित्र छिरेको छ । कम्प्युटर, पुस्तकालय, साइन्स ल्याब डुबाएको छ । कागजात सबै डुबाएको छ । बालुवाले भरिएको ठाउँमा अत्तोपत्तो छैन । बाल शिक्षाको छुट्टै किसिमको कक्षा पनि डुबाएको छ । ‘मर्स्याङ्दीको एउटा धार अहिले पनि स्कुलबाटै बगिरहेको छ । कुनै चिज काम लाग्दैन । विद्यालय सार्नुपर्छ,’ उनले भने । उनका अनुसार गत वर्षमात्रै १० लाख रुपैयाँ खर्च गरेर स्कुल मर्मत गरिएको थियो । स्कुलमा ६२ विद्यार्थी पढ्छन् ।

उनका अनुसार २०६३ असार २९ गते पनि मर्स्याङ्दीमा बाढी आएर केही घर डुबानमा परेको थियो । त्यतिबेला पनि स्कुलको केही भाग डुबाएको थियो । त्यसपछि ग्याबिन तटबन्ध गरिएको थियो । अहिले ग्याबिन तटबन्धको कुनै नामनिसानो नदेखिएको उनले बताए । वडाध्यक्ष झलकबहादुर गुरुङका अनुसार तालगाउँका ५५ बढी घरमध्ये २/४ घरबाहेक कुनै काम लाग्दैन । वडा कार्यालयसमेत सबै डुबाएर काम नलाग्ने बनाएको उनले बताए ।

चामेस्थित लोकप्रिय माविका प्रधानाध्यापक कृष्णदास कोइरालाका अनुसार माथिल्लो मनाङ जाने बेलिब्रिजलाई कटान गरी मर्स्याङ्दीको बाढीले धार परिवर्तन गर्दा स्कुलका भवन लगेको छ । उनका अनुसार ५० लाख रुपैयाँमा निर्माण गरिएको डाइनिङ र किचन हल लगेको छ । ३० लाख रुपैयाँमा निर्मित २ कोठे भवन लगेको छ । शिक्षक आवास भत्काएको छ । नर्सरी र केजी पढाउने भवन भत्काएको छ । कार्यालय भवन र शिक्षक होस्टेल भत्किन लागेको छ । उनका अनुसार स्कुलको मात्रै १ करोड रुपैयाँ बढीको क्षति भएको छ । ‘हामीले आवासीय चलाएका थियौं । मनाङमा शैक्षिक जागरणले विस्तारै गति लिँदै थियो । बाढी पहिरोले खत्तम बनायो,’ उनले भने, ‘अब स्कुल चलाउन सक्ने अवस्था भएन ।’

नासों–५ थोंचेस्थित प्रकाश ज्योति माविका प्रअ पद्मराज पन्थीले दूधखोलामा आएको बाढीले कार्यक्रम हल आधा बगाएको छ । स्कुलको चौर लगेको छ । मर्स्याङ्दीको बाढीले नयाँ बन्दै गरेको छात्रा छात्रावासलाई जोखिममा पारेको छ । ‘बाटो लग्यो । पुल लग्यो । बत्ती छैन । मोबाइल नेटवर्क छैन,’ उनले भने, ‘स्कुल चलाउन गाह्रो छ ।’ उनी असार ६ गते हेलिकप्टरले उद्धार गरी बेंसीसहर हुँदै काठमाडौं पुगेका छन् । ‘एसईईको अंक पठाउने बेला यस्तो भयो । त्यही कामका लागि काठमाडौं आएको छु,’ उनले भने । उनका अनुसार स्कुलमा १ सय ७३ जना पढ्छन् । ‘यो विद्यार्थी भर्नाको समय हो । बाढीले भर्ना न पढाइ बनायो,’ उनले भने ।

शिक्षा विकास तथा समन्वय इकाई प्रमुख नारायण रेग्मीका अनुसार बाढीले मनाङका ४ माविमध्ये ३ वटामा क्षति पुर्‍याएको छ । तालको भानु मावि पुरै डुबानमा परेको छ । नासोंस्थित धारापानीको धारापानी प्रावि पनि जोखिममा छ । ‘यतिबेला भर्ना र सँगै पढाइ हुनुपर्ने समय हो । कोरोना संक्रमण जोखिम नभएको ठाउँमा पढाउन सकिन्थ्यो,’ उनले भने, ‘बाढीपहिरोले समस्या बनायो । भानु मावि नयाँ बनाउनुपर्छ । ४/५ फिट बालुवा छ । त्यहाँ स्कुल हुँदैन ।’ उनले असार १५ गतेसम्म भर्नाको समय हो । १ गतेबाट नै बाढी आएपछि भर्ना रोकिएको उनले बताए ।

प्रतिक्रिया