सय दिनमा सबै तहको परीक्षा, अन्तर्वार्ता र नतिजा प्रकाशनको कार्ययोजना बन्दै – अध्यक्ष लोकसेवा आयोग
शिक्षाखबर डेस्क
१३ असार २०७८, आईतवार
no immg

काठमाडाैं / पदाधिकारी नियुक्त भएपछि लोकसेवा आयोगले बाँकी रहेका काम पूरा गर्ने तयारी थालेको छ । परीक्षा, अन्तर्वार्ता र नतिजा प्रकाशन तथा सचिव बढुवा आयोगको पहिलो प्राथमिकतामा छन् ।

‘अबको सय दिनमा फूलपातीको अघिल्लो दिनभित्र सबै तहको परीक्षा, अन्तर्वार्ता र नतिजा प्रकाशनको काम सक्ने कार्ययोजना बन्दै छ, रोकिएका र नियमित काम सँगसँगै हुन्छ,’ लोकसेवाका नवनियुक्त अध्यक्ष माधवप्रसाद रेग्मीले भने ।

लोकसेवाका सचिव महेन्द्रप्रसाद गुरागाईंले बिहीबार नै अध्यक्ष रेग्मीलाई ब्रिफिङ गर्दै साउन पहिलो साताबाट अन्तर्वार्ता तथा १५ साउनबाट सबै तहका परीक्षा सञ्चालन गर्न सकिने कार्ययोजना पेस गरेका थिए ।

२१ वैशाखमा सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी विवादास्पद अध्यादेशमार्फत सिफारिस भएका ११ संवैधानिक आयोगका २० पदाधिकारीले बिहीबार नियुक्त भई त्यसै दिन शपथग्रहण गरेका थिए । जसमा लोकसेवा आयोगका पदाधिकारी पनि थिए । संसदीय सुनुवाइविनै नियुक्त भई शपथ लिएका सबै पदाधिकारीले बिहीबार नै पदभार पनि ग्रहण गरेका थिए ।

लोकसेवाले ०७६ मा चार हजार सात सय ५४ सिटका लागि विज्ञापन आह्वान गरेकोमा चार लाख ५१ हजार पाँच सय २५ को दरखास्त परेको थियो । तर, कोरोना महामारी सुरु भएपछि अधिकांशको परीक्षा हुन सकेन । यसबीचमा प्रक्रिया पूरा गरेर तीन सय चारजना मात्रै छनोट भए ।

०७६ मा विज्ञापन भएका एक हजार पाँच सय ७८ पदका लागि ०७७ को विभिन्न मितिमा परीक्षा भयो । त्यसको नतिजा अझै आउन बाँकी छ । त्यसमा अधिकृतमा सात सय ७१, कम्प्युटर इन्जिनियरमा ३२, नायब सुब्बामा पाँच सय ४८, विभिन्न उपसमूहका इन्जिनियर एक सय ५५, नासुसरह कृषि र पशु समूहतर्फ ५३ र स्वास्थ्य समूहका विभिन्न पदमा १९ सिट छन् ।

बाँकी पदका लागि ०७७ मा पनि परीक्षा हुन नसकेपछि ०७८ मा सारिएको छ । ०७६ मै विज्ञापन भएको स्वास्थ्य सेवा नवौँ तहको परीक्षा भएर उत्तरपुस्तिका परीक्षण भइसकेको छ । जसको नतिजा साउन पहिलो साता प्रकाशन गर्ने आयोग स्रोतले जनाएको छ ।

त्यही वर्ष विज्ञापन भएका नायब सुब्बा र प्राविधिक अधिकृत तहको परीक्षा र अन्तर्वार्ता पनि सकिएको छ । त्यसको नतिजा पदाधिकारी नहुँदा रोकिएको थियो । त्यो नतिजा पनि चाँडो सार्वजनिक गर्ने तयारी आयोगले गर्दै छ ।

नेपाल प्रहरी, नेपाली सेना, राष्ट्रिय वाणिज्य बैंक, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र, बिमा समिति, दुग्ध विकास संस्थान, नेपाल आयल निगम तथा नेपाल धितोपत्र बोर्डलगायतमा परीक्षा भइसकेको र नतिजा चाँडै प्रकाशित हुने आयोगले नयाँ पत्रिकालाई जानकारी दियो ।

न्याय, प्रशासन र व्यवस्थापिका–संसद् सेवाको संयुक्त र एकीकृत परीक्षा प्रणालीअन्तर्गत खरिदार पदको दोस्रो चरणको परीक्षा हुन बाँकी छ । आयोगले ती परीक्षा १५ साउनपछि सञ्चालन गर्ने तयारी गरेको छ । ‘अहिले निषेधाज्ञा पनि खुकुलो बनेको छ, अबको परिस्थिति कस्तो हुन्छ, सोहीअनुसार निर्णय हुन्छ,’ अध्यक्ष रेग्मीले भने, ‘पछिल्ला दुई वर्षका बाँकी काम दसैँअघि नै सक्छौँ ।’

पछिल्लोपटक ०७८ को १ देखि १० वैशाखसम्मका लागि तय भएर अन्तिम समयमा स्थगित भएको खरिदारको दोस्रो चरणको परीक्षा १५ साउनपछि सञ्चालन हुने भएको छ ।आयोगले ०७७ मा पनि दुई हजार पाँच सय १७ सिटका लागि विज्ञापन आह्वान गरेको थियो । त्यसमा कुनै पनि परीक्षा हुन सकेको छैन । जसमा सहसचिव, उपसचिव, शाखा अधिकृत, नायब सुब्बा र खरिदार तथा स्वास्थ्य सेवा समूहका ११औँ, नवौँ, आठौँ, सातौँ र पाँचौँ तहका पद छन् । यी विज्ञापनका परीक्षा पनि दसैँअघि नै सञ्चालन गर्ने तयारी भएको छ।

दसैँपछि मात्र नयाँ विज्ञापन
कोभिड– १९ र आयोग पदाधिकारीविहीन हुँदा अनिश्चित भएको नयाँ विज्ञापन दसैँ–तिहारपछि आह्वान हुने भएको छ । ०७७ मा आह्वान हुने भनिएका विज्ञापनलाई ०७८ को कार्ययोजनामा समावेश गरेर क्यालेन्डर बनाइने आयोगका प्रवक्ता तोयनारायण सुवेदीले जानकारी दिए ।

निजामतीतर्फ राजपत्रअनंकित द्वितीय श्रेणी (प्राविधिक र अप्राविधिक) र स्वास्थ्य सेवाका चौथो तह, प्रहरीमा इन्स्पेक्टर, असइ र जवान (प्राविधिक), सशस्त्र प्रहरीमा जवान तथा राष्ट्रिय अनुसन्धान विभागमा अनुसन्धान अधिकृत र अनुसन्धान सहायकको विज्ञापन गत फागुन–चैतमा आह्वान गर्ने कार्यतालिका थियो । तर, अब यी विज्ञापन दसैँपछि मात्र आह्वान हुनेछन् ।

‘अब परीक्षा, अन्तर्वार्ता र नतिजा प्रकाशनको प्रक्रिया सुरु हुन्छ,’ प्रवक्ता सुवेदीले भने, ‘नयाँ विज्ञापन दसैँपछि मात्र हुने भयो, आगामी वर्षलाई असर नपर्ने गरी कार्यतालिका बनाउँदै छौँ ।’

प्रतिक्रिया