कृषि

धान रोपाइँमा यान्त्रिकीकरण : चर्चा धेरै प्रयोग कम

१५ असार २०७८, मंगलवार

काठमाडौँ / जिल्लाको पूर्वी क्षेत्रमा अहिले धान रोप्ने चटारो छ । जसका लागि मधेसबाट कामदारहरू आउन थालेका छन् । कोरोना कहरका बेला गत वर्ष खासै आएनन् । धान रोप्न बाहिरका कामदारको भर पर्ने चितवनमा यन्त्रहरूको प्रयोग भने बढ्न सकेको छैन ।

जिल्लामा धान रोप्ने एकाध मेसिन मात्रै छन् । कृषि ज्ञान केन्द्रका प्रमुख राजन ढकालका अनुसार जिल्लामा २७ हजार ३ सय हेक्टर (एक हेक्टरमा डेढ बिघा) जमिनमा बर्खे धान हुन्छ । मेसिनले पुग/नपुग २५ बिघामा मात्रै धान खेती हुन्छ । धान रोपाइँमा यान्त्रीकीकरणको चर्चा चलेको ५/६ वर्ष पुगे पनि प्रयोगको गति सुस्त छ ।

पूर्वी चितवन बछौली मैनाहा गाउँमा चैते धान रोप्दा नै मेसिन भित्र्याइएको थियो । साना किसान कृषि सहकारीले २१ लाख रुपैयाँमा मेसिन खरिद गरेर ल्याएपछि १८ बिघामा चैते धान रोपिएको थियो । ‘तर अहिले १०/१२ बिघा जतिमा मात्रै मेसिनले रोपाइँ हुन्छ कि,’ सहकारीका अध्यक्ष नारायण महतोले भने । मेसिनले धान रोप्न बीउ राख्ने बेलादेखि नै तयारी गर्नुपर्छ । गरा पनि फराकिला र समथर हुनुपर्छ । यी सबै कुरामा अभ्यस्त नभएका कारण सोचे जति क्षेत्रफल बढाउन नसकेको महतोले बताए । मेसिनले धान रोप्दा बीउ राख्नै झन्झट हुन्छ भन्ने ठान्नेहरू धेरै रहेको उनले बताए । बिस्तारै यो मानसिकता परिवर्तन हुने उनी बताउँछन् ।

‘धान रोप्ने मेसिनको प्रयोग कम छ । तर चितवनमा अन्य औजार उपकरणहरूको प्रयोग बढेको छ । चैते धान काट्न अहिले खेताला राख्नै छाडे । कम्बाइन हार्भेस्टर (खेतमा धान काट्दा नै पराल र दाना अलग–अलग गर्ने मेसिन) आयो,’ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाइ चितवनका प्रमुख मेघनाथ तिमिल्सिनाले भने । त्यसैगरी धान झाँट्न पनि मान्छेभन्दा थ्रेसर लगाउने चलन स्थापित भएको उनले बताए । पराल आवश्यक पर्ने भएका कारण हिउँदमा धान काट्दा कम्बाइन हार्भेस्टर प्रयोग हुँदैन । तर बोट काट्ने साना–ठूला रिपरहरूको प्रयोग पनि अत्यधिक हुन थालेको छ । गुणस्तरीय मेसिनको अभाव, बिग्रेमा बनाउने कामदार र पार्टपुर्जा सहजै नपाउनु, जमिनको अवस्थालगायत कारणले मेसिन प्रयोग द्रुत गतिमा हुन नसकेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका अधिकृत माधव पौडेलले बताए ।

मेसिन प्रयोग गरेर हुने फाइदा बुझ्दै गए मान्छेले औजार उपकरण खोज्न थाल्ने उनले बताए । ‘खेत तयार गर्न चाहिने ट्र्याक्टर, रोटाभेटर, कल्टीभेटरहरू सबै किसानले प्रयोग गर्छन् । अनुदानको व्यवस्था पनि छैन । योबाहेक अन्य मेसिनमा अनुदान छ तर प्रयोग कम छ । फाइदा बुझ्न थालेपछि प्रयोग बढ्छ भन्नेमा आशावादी छौं,’ पौडेलले भने । काम पर्दा वर्षमा महिना दिन पनि प्रयोगमा नआउने यस्ता उपकरणमा ठूलो लगानी गर्न किसानहरू इच्छुक नदेखिएको अवस्था पनि छ ।

किसानले चाहना गरे मात्रै मेसिन औजारको प्रयोग बढ्ने र अनुदानले मात्रै प्रेरित गर्न नसकिने देखिएको कृषि ज्ञान केन्द्र प्रमुख ढकालले बताए । ‘मान्छेको भर पर्न नपर्ने, पैसा जोगिने, धेरै पनि फल्ने भएपछि मेसिन प्रयोग बढ्ला,’ ढकालले भने ।

साभार- कान्तिपुर