कृषि

सजिलो छैन कृषि व्यवसाय

शिक्षाखबर संवाददाता

१३ बैशाख २०७९, मंगलवार

१३ वैशाख, विराटनगर । बाँझो जग्गा भाडामा लिएर सुरु गरिएको कृषि व्यवसाय टेन्टु शेर्पाका लागि सहज लागेको छैन । सानोस्तरबाट उत्पादनमा जोडिएका आफूजस्तै अन्य कृषक वा व्यवसायीलाई राज्यले यथोचित सहयोग नगरेसम्म व्यवसाय नफष्टाउने र वर्षेनी विदेशिने युवालाई यसतर्फ आकर्षित गराउन पनि कठिन हुने उनी बताउँछन् ।
हामी खाने मात्रै, उत्पादन नगर्ने कसरी मुलुकमा समृद्धि आउँछ, यसका लागि उत्पादनमा जोड दियो भने परनिर्भरतालाई हटाउन मद्दत पुग्ने उनीजस्ता स्थानीय कृषकको भनाइ छ । विराटनगर महानगरपालिकाको रानीमा व्यवसाय गर्दै आएका पुरानो घर पहाडको भोजपुर बताउने व्यवसायी शेर्पा यतिकै बस्नुभन्दा केही गरौँ भन्ने भावनाले पछिल्लो एक वर्षदेखि कृषिलाई मुख्य पेशा बनाएर काममा लागेको बताउँछन् । आफ्नो जग्गा नभएपछि उनले मोरङको कटहरी गाउँपालिका–१ निवासी युवराज भट्टराईको आठ कठ्ठा जग्गा भाडा लिएर मेवा खेती गरिरहेकाछन् ।

खेतमा पाइवन रेट लेडी नामक मेवा रोपेका शेर्पाले भाडाबापत वर्षेनी भट्टराईलाई रु एक लाख २० हजार शुल्क तिर्दै आएकाछन् । यस वर्ष लगभग रु तीन लाख आम्दानी गर्न सफल भएका उनले मेवा खेतीमा ढुसी र भाइरसले आक्रमण गरेर दुःख दिएकाले कृषि ज्ञान केन्द्र सम्पर्क कार्यालयका प्रमुख रामदेव सिंहबाट प्रविधिक सहयोग लिइरहेकाछन् । स्थानीय नर्सरीबाट रु १५० का दरले जम्मा ८५० वटा मेवाको बिरुवा रोपेको बताउने शेर्पालाई सानैदेखि कृषि व्यवसायमा रुचि रहेको स्पष्ट पार्दै भने, “समय छैन गर्नु धेरै छ, जहान परिवारलाई पाल्नै प¥र्यो केही नगरी सुख छैन, त्यसैले यो खेती सुरु गरे ।”

खेतमै आएका व्यापारीलाई काँचो मेवा प्रतिकेजी रु ७० का दरले बिक्री गर्दा उनीहरुले बजारमा प्रतिकेजी रु १०० मा बिक्री गरिहेका पाइन्छ । उनी भन्छन्, “भारतीय मेवा नेपाल बजारमा नआउने हो भने हाम्रो व्यवसाय फस्टाउने र आम्दानी हेरेर अन्य युवा पनि यस पेशामा अकर्षित हुनसक्ने अनुमान गर्न सकिन्छ ।” मेवा खेतीमा सुरुमा रु दुई लाख खर्च भएकामा अहिले ढुसी र भाइरस व्यवस्थापन खर्च भइरहेको शेर्पाले जानकारी दिए ।

मेवाखेतीका अतिरिक्त बङ्गुरपालन पनि सुरु गरेका उनी सुरुमा २० वटा बङ्गुरपालनका लागि संरचना निर्माण गर्न करिब रु २७ लाख खर्च भएकोे र खर्च नपुगेर कृषि विकास बैंकसँग कृषि ऋण रु १५ लाख झिकेको बताउँछन् । बङ्गुरमा तत्काल आम्दानी नभए पनि पछि राम्रै आम्दानी हुने भन्दै कृषक शेर्षा काममा मेहनती, लगनशील देखिएकाछन् । कृषि व्यवसायमा आबद्ध कृषकको माग नै प्राविधिक सहयोग, मल, बीउपछि सिँचाइ सुविधाको छ । अन्य युवालाई यस पेशामा आकर्षित हुनसक्ने गरी तीनवटै तहका सरकारबाट सहयोग उपलब्ध भए यस्ता खेतीबाट उत्पादन वृद्धि हुनाका साथै प्रशस्त आम्दानी हुने देखिन्छ ।