१९ साउन, म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–७ बिमस्थित किसानी कृषि प्राविधिक शिक्षालयका विद्यार्थीले पहिलो बेते भैँसीको पेटमा अड्किएको पाडो जीवितै बाहिर निकालेर भैँसीलाई सुत्केरी गराउन सफल भएका छन् ।
गत सोमबार स्थानीय भूपेन्द्र शर्माको पहिलो बेते भैँसीको पेटमा पाडो अड्किएपछि सुत्केरी हुन नसकेको भैँसीको पेटबाट डा रोशन बानियाँ र डा प्रशन्न पोख्रेलको सहयोगमा किसानी कृषि प्राविधिक शिक्षालयमा पशु विज्ञान विषयमा अध्ययनरत प्रशिक्षार्थीले भैँसीको पेटमा अड्किएको पाडो निकालेका हुन् ।
किसानी प्राविधिक शिक्षालयका संयोजक करण कँडेलका अनुसार शिक्षालयले कृषि तथा पशु क्षेत्रका समुदायसँग समन्वय गरी स्थानीयस्तरमा नै पशु चिकित्साका बारेमा ज्ञान दिने उद्देश्यसहित विभिन्न कार्यक्रमहरु गरिरहेको छ ।
भौतिक पूर्वाधारले सम्पन्न किसानी कृषि प्राविधिक शिक्षालयले पछिल्लो समय बाली र पशु विज्ञानमा राम्रो नतिजा प्राप्त गर्दै आएको छ । शिक्षालयका संयोजक कँडेलका अनुसार हाल शिक्षालयमा विभिन्न जिल्लाका एक सय ४१ जना विद्यार्थी अध्ययनरत छन् । कृषि डिप्लोमामा ५१ जना, डिप्लोमा पशुतर्फ ६० जना र प्रि डिप्लोमातर्फ ३० जना गरी एकसय ४१ जना विद्यार्थीले कृषि र पशुसम्बन्धी शिक्षा लिइरहेका छन् ।
सामान्य जस्तो लागे पनि भैँसीको पेटमा अड्किएको पाडो जीवितै निकाल्नु भनेको पशु चिकित्साका क्षेत्रमा निकै जोखिमपूर्ण मानिने संयोजक कँडेलले बताए । यो गर्भवती पशुमा देखिने जटिल समस्या भएको र स्थानीय जातको भैँसीलाई विकासे राँगो लगाएर गर्भवती बनाउँदा यस्तो समस्या हुने उनले बताए ।
पेटमा पाडो उल्टो भयो भने यस्तो समस्या देखिने र यस्तो अवस्थालाई प्राविधिक भाषामा डिस्टोकिया (युटेराइन टर्सन) भनिने उनले बताए । गर्भवती पशुमा यस्तो समस्यालाई जटिल मानिने र अलिकति असावधानी भयो भने माउ पशु र पाडापाडीको ज्यानै जानसक्ने जोखिम रहने उनको भनाइ छ ।