२० भदाै, क१चनपुर। कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा विशेषज्ञसहितको स्तरीय स्वास्थ्य सेवा पाउन थालेपछि यहाँबाट उपचारका लागि भारत जाने क्रम घटेको छ । केही वर्षअघिसम्म अस्पतालमा आउने प्रायः सबै बिरामीलाई चिकित्सकको अभावका कारण अन्यत्र पठाउने गरिएकामा पछिल्लो तीन वर्षयता भएको सुधारले उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हट्दै गएको हो ।
उक्त अस्पतालमा अहिले दैनिक पाँच सयको हाराहारीमा बिरामी स्वास्थ्य सेवा लिन आइरहको अस्पतालले जनाएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले अस्पतालमा अहिले १५ विशेषज्ञ चिकित्सक बिरामीको सेवामा सक्रिय रहेको जानकारी दिए । “विशेषज्ञ सेवा, स्वास्थ्य बीमा धेरैले गरेकाले यहाँबाट उपचारका लागि अन्यत्र जाने क्रम घटेको हो ।” उनले भने, “अस्पतालको अन्य स्वास्थ्य पूर्वाधारदेखि प्रविधिसम्मको विकास भएको छ ।”
अध्यक्ष भटृले अस्पतालले हाडजोर्नी, बाल रोग, नाक, कान घाटी, जनरल सर्जनलगायत विशेषज्ञ सेवा दिइरहेको बताए । यहाँ विशेषज्ञ सेवा नहुँदा बिरामी धनगढी, कोहलपुर, नेपालगञ्जका साथै भारतको खटिमा, भोजीपुरा, बरेलीलगायत क्षेत्रमा पुगेर उपचार गर्ने गरेका थिए । उक्त अस्पतालमा हाल २८ चिकित्सक कार्यरत छन् । “विगतमा अस्पतालमा दैनिक ३०÷४० बिरामी सेवाका लागि आउँथे ।”, उनले भने, “अहिले सङ्ख्या बढेपछि हामीले सेवा थप गर्नेदेखि अन्य सुधारमा समेत पहल गरेका छौँ ।”
अस्पतालले नयाँ आधुनिक आकस्मिक सेवाका लागि भवन निर्माण गरेर सोही भवनबाट सेवा दिने तयारी गरेकोे छ । “इण्डोसकोपी सेवा सुरु भएर अब डायलोसिस सेवा दिने पनि गृहकार्यमा छौँ”, उनले भने, “आइसियुलगायत सघन उपचारका लागि सेवाहरु हुँदा सहज भएको छ ।” महेन्द्रनगरमै स्तरीय स्वास्थ्य सेवा पाउन थालेपछि यहाँबाट एम्बुलेन्स लिएर भारत जाने क्रम कम भएको छ ।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षमा रहेको एम्बुलेन्स सेवा सञ्चालन समितिबाट भारतमा उपचारका लागि बिरामी लैजाने एम्बुलेन्सलाई रुट परमिट दिइन्थ्यो तर पछिल्लो समय भारत जान रुट परमिट लिन यहाँका एम्बुलेन्स आउन छोडको छ । “तीन÷तीन महिनाको रुट परमिट लागि भीमदत्त नगरपालिका क्षेत्रका एम्बुलेन्स आइरहन्थे ।” स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले भने, “अहिले यही स्वास्थ्य सेवा सुलभ हुँदा भारत जाने क्रम घटेको हो भन्न सकिन्छ ।” सामान्य बिरामी हुँदा पनि अन्यत्र उपचारका लागि दौडिनुपर्ने बाध्यता कम भएको उनको भनाइ थियो ।