बेमौसमी वर्षाले पाक्न लागेका धानबालीमा क्षति
शिक्षाखबर डेस्क
२७ आश्विन २०७९, बिहीबार
no immg

२७ असोज, रूपन्देही। निरन्तरको वर्षाले धानबालीमा क्षति पुर्याइरहेको छ । बेमौसमी वर्षाले किसानका पाक्न लागेका धान ढलेका र पानीमा डुबेका छन् । लगातारको वर्षाले तरकारीबालीमा समेत क्षति पुगेको छ भने पानीमा लडिरहेको धानबालीमा टुसा समेत पलाउन थालेका छन् ।

“तराई अन्न भण्डारणको प्रमुख स्थान हो, यो समय भनेको किसानहरूको बाली भित्र्याउने समय हो”, सम्मरीमाइ–४ का कृषक अशोक त्रिपाठीले भने, “अविरल वर्षाले धानबाली भित्र्याउनै नसक्ने भएको छ, अझ गहिरो खेतमा धान पूरै डुबेर कुहिन लागेको छ ।”

यतिबेला कृषकहरूलाई धानबाली भित्र्याउने चटारो हुन्थ्यो । केहीले भित्र्याई पनि सक्थे । तर यसपालि वर्षाका कारण धानबाली पाकेर खेतमै झर्न थालेको त्रिपाठीले बताए । उनले भने, “गत वर्ष काटेको धान खेतमै कुहियो, यो वर्ष त नकाटेरै बाला झर्न र टुसा पलाउन थाल्यो ।”

गत वर्ष कात्तिक पहिलो साता आएको वर्षाले लुम्बिनी साँस्कृतिक नगरपालिका–१ का सुकइ कोहारको एक बिघा काटेको धान कुहिएको थियो । यो वर्षको ढिलो बर्सातले रोपाइँ पनि ढिलै भएको कोहारले बताए । उनले यतिबेला अगौटे धान पाकेर काट्न तयार भएको र पछौटेमा फूल लाग्ने बेला भएको बताए ।

लगातारको वर्षाले पछौटे धानबालीमा लागेको फूल झर्नुका साथै परागसेचन हुन नपाउने तथा बाला लागिसकेको धान ढलेर पानीमा डुबेको अवस्थामा बाला कुहिने र टुसा पलाउने भएकाले औसतभन्दा कम धान उत्पादन हुन सक्ने लुम्बिनी साँस्कृतिक नगरपालिका–३ का वडाध्यक्ष अकरामुद्दीन नाउ मुसलमानले बताए ।

कृषि ज्ञानकेन्द्र भैरहवाका कृषि प्रसार अधिकृत अनिलकुमार कानु बनियाको भनाइ छ, “विश्वमा करिब तीन चौथाइभन्दा बढी फूल फुल्ने बिरुवालाई परागसेचनको आवश्यकता पर्दछ । करिब ७५ प्रतिशतभन्दा बढी फूलहरूको परागसेचन कुनै न कुनै जीवजन्तु वा कीराहरूले गर्छन् ।”

जिल्लाका कतिपय कृषकहरूले वर्षासँगैको हावाहुरीले धान ढलाएको बताएका छन् । वर्षा भइरहेको बेलामा सामान्य हावासमेत चलेका कारण खेतमा लगाइएको धान ढलेको कृषकको भनाइ छ । पसाइसकेको धान ढलेको भएमा त्यसको बाला कुहिने भएकाले धान उत्पादनमा कमी आउन सक्ने कृषि प्रसार अधिकृत बनियाँको भनाइ छ ।

कृषि ज्ञानकेन्द्र रुपन्देहीका अनुसार जिल्लाको दक्षिणी मर्चवार, लुम्बिनी, मायादेवी, गैडहवा र धकधई क्षेत्रको धान बालीमा बढी क्षति भएको छ । त्यसक्षेत्रमा खेतहरू डुबानमा परेका छन् भने पाकेको धानबाली खेतमै ढलेर कुहिने र डुबेका बालामा टुसा पलाउने अवस्था आएकोे छ ।

रुपन्देहीमा ८२ हजार छ सय २२ हेक्टर खेतीयोग्य जमिन छ । असी हजार एक सय २२ हेक्टरमा खेती गरिन्छ ।

प्रतिक्रिया