१३ मंसिर, कैलाली। कैलालीको टीकापुर नगरपालिका–६ का रामकृष्ण चौधरी एकाबिहानै सहकारी संस्थाको कार्यालय अगाडि लाइनमा बसे । हिउँदे खेतीको समय भएका कारण सहजरूपमा रासायनिक मल नपाउँदा उनी मलका लागि लाइनमा बसेका हुन् । किसान मल पाइन्छ कि भनेर लाइनमा हुँदा सहकारीको कार्यालय भने बन्द थियो ।
“खेती लगाउने समयमा सबैभन्दा बढी पीडा मलको हुन्छ । सहजरूपमा मल नपाउँदा समयमा खेती गर्न सकिएको छैन”, उनले भने, “बजारमा मल पाइँदैन । सहकारीहरूले पनि आफ्ना सेयर सदस्यलाई मात्रै मल उपलब्ध गराउँछन् । मल नहालेर उब्जनी हुँदैन ।” सोही ठाउँका लक्ष्मण चौधरीले खेत जोतेर छाडेका छन् ।
“खेत जोतेको हप्ता दिनभन्दा बढी भइसक्यो । मल नपाएर गहुँ छर्न पाएको छैन”, उनले भने, “बर्सेनिको समस्या मल अभावको कहिल्यै समाधान हुन सकेन । यस्तो भए खेती गर्ने जाँगर पनि लाग्दैन ।” भजनी नगरपालिका–६ का सुरेश कठरिया खेतीपाती सकेर कमाउनका लागि बाहिर जाने तयारीमा छन् ।
हिउँदे खेती लगाइसकेपछि चार–पाँच महिना घरमा खाली बस्नुपर्ने भन्दै त्यो समयमा ज्याला मजदुरी गरेर घरको अन्य खर्च टार्नका लागि कमाउन जाने तयारीमा रहेका सुरेशलाई मल नपाउँदा समस्या भएको छ । उनले १५ बिघा क्षेत्रफलमा खेती गर्दै आएकामा जसोतसो पाँच बिघामात्रै गहुँ छर्न सफल भएको बताए ।
“समयमै मल पाएएको भए सबै खेतमा गहुँ छरिसकिन्थ्यो । मल नहालेर गहुँ छरेभन्दा नछरेजस्तै हो”, उनले भने, “मल नपाउँदा यता खेती पनि सयममा लगाउन सकिएन भने उता कमाउन जाने भनेको ठाउँमा पनि जान सकिएको छैन ।” भजनीका गणेश साउदको समस्या पनि उस्तै छ । उनले हिउँदे बाली लगाइसक्नुभयो, तर निकै मेहेनत गरेर । स्थानीय बजारमा रासायनिक मल नपाएपछि निकै कष्टका साथ छिमेकी बजार भारतबाट मल ल्याएर खेती लगाउनुपरेको उनको भनाइ छ ।
टीकापुर नगरपालिका–८ मा रहेको धनसिंहपुर कृषि सहकारी संस्थाले पनि किसानको माग अत्यधिक भएका कारण मलको आपूर्ति गर्न नसकेको जनाएको छ । संस्थाका अध्यक्ष धनसिंह साउदले भने, “मल विक्रेता डिपोले ५०–६० कट्टा मल दिन्छ । एउटै किसानलाई १०–१२ कट्टा मल चाहिएको हुन्छ । कसरी पु¥याउन सकिन्छ यस्तो अवस्थामा ?”