धार्मिक विद्यालयमा अध्ययनरत विद्यार्थीले सरकारको दिवा खाजा पाएनन्
शिक्षाखबर डेस्क
१२ चैत्र २०७९, आईतवार
no immg

१२ चैत, झापा। मुठ्ठीदान र दाताको भरमा सञ्चालित धार्मिक विद्यालयमा अध्ययनरत विद्यार्थीले सरकारको दिवा खाजा पाएका छैनन् ।

मेचीनगर–१५ मा सञ्चालित ओमकारेश्वर संस्कृत गुरुकुलका प्राचार्य निरोज खनालले कमजोर आर्थिक अवस्थाबाट गुज्रिरहेका गुरुकुल विद्यालयमा दिवा खाजाको व्यवस्था नगरेकामा गुनासो गरे ।

भोजनका रूपमा बिहान र बेलुका दाल, भात र रोटी खाने गरेका त्यहाँका विद्यार्थी गुरुकुल छेवैको मन्दिरमा भक्तजनले चढाउने फलफूल दिवा खाजा खाने गरेको जनाइएको छ । ओमकारेश्वरमा १८ विद्यार्थी अध्ययनरत छन् ।

‘हाम्रो गुरुकूल आर्थिकरूपमा सबल छैन, यहाँ पढ्ने विद्यार्थी समेत विपन्न र असहाय परिवारबाट आएका छन्,’ उनले भने, ‘सरकारले सामुदायिक विद्यालयमा दिवा खाजा दिन्छ, गुरुकुलका विद्यार्थीलाई पनि त्यसरी नै खाजा दिने व्यवस्था हुनुपर्‍यो ।’

सरकारले आधारभूत विद्यालयका विद्यार्थीलाई दिवा खाजाबापत प्रतिविद्यार्थी १५ रुपैयाँ उपलब्ध गराउँदै आएको छ । निजी क्षेत्रबाट सञ्चालित संस्थागत विद्यालय र समुदायबाट सञ्चालित धार्मिक विद्यालयलाई यो सुविधा उपलब्ध छैन ।

निजी विद्यालयमा आर्थिकरूपमा सबल परिवारका विद्यार्थी अध्ययन गर्ने भएकाले त्यहाँ सरकारले खाजा उपलब्ध नगराए पनि फरक पर्दैन तर चन्दा र मुठ्ठीदानबाट चलेका धार्मिक विद्यालयमा भने खाजा खुवाउने आन्तरिक स्रोत नहुँदा समस्या देखिन्छ ।

बालबालिकालाई विद्यालयमा जान प्रोत्साहित गर्ने उद्देश्यसहित सरकारले दिवा खाजाको व्यवस्था लागू गरेको हो । यो व्यवस्था गुरुकुल, मदरसा र गुम्बा विद्यालयमा समेत लागू हुनुपर्ने माग भइरहेको छ । नेपाल मुस्लिम संघ झापाका अध्यक्ष अमिन अलीले जिल्लामा ५५ मदरसा (धार्मिक विद्यालय) मा ४ हजारभन्दा बढी मुस्लिम समुदायका बालबालिकाले अध्ययन गरिरहेको बताए ।

‘हाम्रा मदरसामा पढ्ने बालबालिकालाई पनि सरकारले खाजा उपलब्ध गराएको छैन,’ उनले भने, ‘आर्थिक पछौटेपन र अन्य कारणले सरकारी विद्यालयमा जान नसकेका विद्यार्थी मदरसामा पढिरहेका छन् ।’

झापाको भद्रपुर, कचनकबल, झापा, बाह्रदशी, गौरीगन्ज, मेचीनगर, बिर्तामोड लगायतका पालिकामा आधारभूतदेखि माध्यमिक तहसम्म पठनपाठन गराउने मदरसा सञ्चालित छन् । ती सबै मुस्लिम समुदायको मुठ्ठीदान र दाताको सहयोगको भरमा टिकिरहेको अध्यक्ष अलीले बताए ।

प्रतिक्रिया