उच्च शिक्षाका लागि सहरकै भर, गाउँमा क्याम्पस नहुँदा पढाइ छाड्दै विद्यार्थी
शिक्षाखबर डेस्क
१४ श्रावण २०८०, आईतवार
no immg

इलाम – इलामको माङसेबुङ– ५ भालुटारकी तारा केरुङ गाउँमा उच्च शिक्षा अध्ययन गर्ने क्याम्पस नभएकै कारण पढाइ छाड्न बाध्य भइन् । ०७५ मा कक्षा १२ पास गरेकी ताराले आर्थिक अवस्थाका कारण सहर जाने अवस्था भएपछि एक वर्ष पढाइ छाडिन् । त्यसपछि पुनः झापाको दमक झरेर दमक बहुमुखी क्याम्पसमा भर्ना भएकी ताराले हाल पढाइ नै छाडेकी छिन् ।

‘सुरुमा आर्थिक अवस्थाका कारण पढ्न सकिएन । पछि पैसाको जोहो गरेर दमकमा गएर पढ्न सुरु गरेँ । कोरोनाले फेरि गाउँ फर्किएँ । मेरो स्वास्थ्यमा पनि समस्या आयो,’ उनले भनिन्, ‘गाउँमै क्याम्पस भएको भए म निरन्तर पढिरहेको हुन्थेँ । अब केही वर्ष ग्याप गरेर पढौँ कि भन्ने सोचेको छु ।’

ad
माङसेबुङ– ५ भालुटारकै मिसन लिम्बू उच्च शिक्षाका लागि झापाको दमक झरिन् । कक्षा १२ सम्मको अध्ययन गाउँमै पूरा गरेकी मिसन उच्च शिक्षाका लागि बाध्य भएर सहरसम्म पुगिन् । गाउँमा उच्च शिक्षाका लागि क्याम्पस नै छैन । दमकस्थित दमक बहुमुखी क्याम्पसबाट स्नातक तहको अन्तिम वर्षको परीक्षा दिएर बसेकी मिसनले पढाइका लागि वार्षिक एक लाखभन्दा बढी खर्च गर्छिन् । ‘गाउँमै पढ्ने मन त कसलाई हुँदैन र ? तर, गाउँमा क्याम्पस छैन । बाध्य भएर दमक झरेर पढ्नुपरेको छ,’ उनले नयाँ पत्रिकासँग भनिन्, ‘कोठा भाडा तिर्नुपर्छ । महँगी उस्तै छ । सडक पनि राम्रो छैन । बर्खाको समयमा त घर आउन पनि सकिँदैन ।’

माङसेबुङ गाउँपालिकाका तीन विद्यालयले कक्षा १२ सम्मको अध्यापन गराउँछन् । तर, त्यसमाथिको उच्च शिक्षा पढ्न गाउँपालिकामा पाइँदैन । यहाँका विद्यार्थीले झापाको दमक, सुनसरीको धरान र इलाम सदरमुकामलगायतका सहरमा जानुपर्ने बाध्यता छ । यहाँका विद्यार्थी अनिवार्य डेरा गरी बसेर उच्च शिक्षाको पढाइ पूरा गर्नुपर्ने बाध्यतामा छन् । कतिपयले आर्थिक अभावकै कारण कक्षा १२ को अध्ययन पूरा गरेपछि पढाइ नै छाड्नुपर्ने बाध्यता रहेको माङसेबुङ– ५ स्थित सरस्वती माविका पूर्वप्राचार्य होम लिङ्देन बताउँछन् । ‘गाउँमा उच्च शिक्षा छैन । माङसेबुङभरिका विद्यार्थीले उच्च शिक्षाका लागि सहर नै जानुपर्ने बाध्यता छ । आर्थिक अवस्था कमजोर भएका कतिपय राम्रा विद्यार्थीले पनि पढाइ छाडेर बिदेसिनुपर्ने बाध्यता छ,’ उनले भने, ‘गाउँमै उच्च शिक्षा भएको भए त उनीहरूले पनि पढाइ पूरा गर्न पाउँथे ।’

विगतमा माङसेबुङ– ५ स्थित भालुटारमा उच्च शिक्षा पढाउन सुरु पनि गरिएको थियो । त्रिभुवन विश्वविद्यालयले नयाँ सम्बन्धनका लागि खुला गरेपछि निवेदन दिएर ०७४ मा लिङ्देन आत्मानन्द सेइङ बहुमुखी क्याम्पस सुरु गरिएको थियो । सरस्वती माविको संरचना प्रयोग गरेर बिहान शिक्षा संकायमा पढाइ सुरु भएको थियो । यद्यपि, सम्बन्धन नपाएपछि भने त्यहाँ पढ्न आएको विद्यार्थी केही महिनापछि बाहिर जान बाध्य भएका थिए । ‘केही समय त हामीले यहीँ स्नातक पढ्यौँ । पछि यहाँ सम्बन्धन नआउने भयो, दुई दिन मात्र समय छ तल (तराई) गएर भर्ना गर्नु भनेर सरहरूले भन्नुभयो,’ माङसेबुङ– ३ की सरिता राई भन्छिन्,‘अन्तिम समयमा हतारमा गएर भर्ना गरेँ । गाउँमै पढाइ हुने भयो भनेर यतै काम सुरु गरेको थिएँ । मैले त क्याम्पस नगई परीक्षा दिएँ । यदि क्याम्पस जान पाएको भए अहिलेको भन्दा राम्रो नम्बर ल्याएर पास गरिन्थ्यो भन्ने लाग्छ ।’

त्यसवेला शिक्षा संकायमा स्नातकको कक्षा सुरु गर्दा पहिलोपटक नै ६० जना विद्यार्थीले भर्ना गरेको प्रस्तावित क्याम्पसका क्याम्पस प्रमुख होम लिङ्देनले बताए । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन पाउने आसमा केही महिना पढाइ पनि भयो । तर, पछि सम्बन्धन नपाउने भएपछि ती विद्यार्थीलाई अन्यन्त्र पठाइएको लिङ्देन बताउँछन् । ‘यो क्षेत्रमा क्याम्पस अनिवार्य छ । यहाँबाट झन्डै दुई सय विद्यार्थी पढ्न सहर जान्छन् । त्यही भएर पढाउन सुरु गरियो । तर, हामी झन्डै अभर परियो । त्रिभुवन विश्वविद्यालयबाट अनुगमन आएर सबै ठीक छ यतिकोलाई सम्बन्धन दिँदा हुन्छ भनेको पनि थियो,’ उनले भने, ‘पछि कसैलाई पनि सम्बन्धन नदिने भनेपछि रजिस्ट्रेसन फाराम भरिसकेका यहाँका विद्यार्थीलाई झापा, इलाम सदरमुकाम र धरानका क्याम्पसमा मिलाएर पठायौँ ।’

यहाँ क्याम्पस सुरु गर्नसके माङसेबुङ गाउँपालिकासँगै देउमाई नगरपालिकाको जितपुर र माई नगरपालिकाको महमाई क्षेत्रका विद्यार्थी पनि पढ्न आउने लिङ्देनको दाबी छ । ‘यो क्षेत्र किराँत धर्मावलम्बीका लागि महत्वको क्षेत्र पनि हो । यहाँ इलामसँगै पाँचथर, ताप्लेजुङका धर्मावलम्बीले छोराछोरी यहीँ ल्याएर पढाउने थिए,’ उनी भन्छन्, ‘सरकारले सम्बन्धन दिए यहाँ हामीले राम्रो पब्लिक क्याम्पस चलाउन सक्ने थियौँ ।’

गाउँमा स्नातक क्याम्पस चलाउने गरी सम्बन्धन दिन भन्दै स्थानीय शिक्षासेवीहरू अहिले पनि वेलावेला शिक्षा मन्त्रालय र त्रिभुवन विश्वविद्यालयमा गएर झकझक्याइरहेका छन् । अहिले पनि लिङ्देन आत्मनन्द सेइङ बहुमुखी क्याम्पस लिमिटेड संस्था चलाइरहेका छन् । ‘हामी अझै पनि सम्बन्धन पाउनेमा आशावादी नै छौँ । मन्त्रालय र विश्वविद्यालयमा गएर झकझक्याइरहेका छौँ । संघीय शिक्षा ऐन आएपछि आवश्वयकताका आधारमा दिने भन्ने कुरा आएको छ,’ लिङ्देन आत्मानन्द सेइङ बहुमुखी क्याम्पस लिमिटेडका सचिव रहेका होम लिङ्देन भन्छन्, ‘सुरुमा शिक्षा संकाय सुरु गरे पनि अन्य संकायको पनि स्नातक पढाउने योजना छ । पढाइकै लागि सहर जानुपर्ने बाध्यता हटाउने योजना छ ।’

माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले उच्च शिक्षाका लागि गाउँमा क्याम्पस अत्यन्तै आवश्यक रहेको बताए । उनले प्रस्तावित लिङ्देन आत्मानन्द सेइङ बहुमुखीलाई सम्बन्धनका लागि पहल गरिए पनि हालसम्म सम्बन्धन प्राप्त गर्न नसकेको बताए । ‘गाउँमा उच्च शिक्षाका लागि क्याम्पस नहुँदा युवा÷युवती सहर नै जानुपर्ने बाध्यता छ । कतिपयको त आर्थिक अवस्था कमजोर भएका कारण पढाइ छाड्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘प्रस्तावित लिङ्देन आत्मानन्द सेइङ बहुमुखी क्याम्पसलाई सम्बन्धनका लागि त्रिभुवन विश्वविद्यालय र शिक्षा मन्त्रालय पनि गयौँ । तर, सम्बन्धन पाउन सकेका छैनौँ ।’

प्रतिक्रिया