विश्व वरीयतामा स्तर खस्किँदो त्रिवि, धेरै विद्यार्थी देखाएर कीर्तिमान बनाउने लहड
शिक्षाखबर डेस्क
३ पुष २०८०, मंगलवार
no immg

काठमाडौँ / विश्व वरीयतामा स्तर खस्कँदै गएको त्रिभुवन विश्वविद्यालय विद्यार्थी संख्या धेरै देखाएर कीर्तिमान राख्ने होडमा लागेको छ । सोमबार भएको ४९ औं दीक्षान्त समारोहमा पदाधिकारीले धेरै विद्यार्थी अध्ययन गर्ने र दीक्षित हुने विश्वविद्यालयका रूपमा विश्व कीर्तिमान कायम गरेको प्रचारमा बढी ध्यान दिए ।

२०७९ जेठदेखि २०८० असारसम्म त्रिविअन्तर्गतका विभिन्न संकायका विभिन्न तह उत्तीर्ण गरेका ७३ हजार ७ सय ४९ छात्रछात्रा सोमबार दीक्षित भएका हुन् । समारोहमा सहभागी हुन आवेदन दिएकामध्ये १२ हजार ४ सय १५ विद्यार्थी सहभागी भएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए । यो संख्या विश्वमै सबैभन्दा धेरै भएको त्रिविको दाबी छ ।

कीर्तिमान बनेको भन्दै समारोहका प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेल, कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल, उपकुलपतिको जिम्मेवारीमा रहेका शिवलाल भुसाल मात्र होइन त्रिविका प्राध्यापक, कर्मचारी पनि पुलकित देखिन्थे । विश्वमा नै सबैभन्दा धेरै विद्यार्थी दीक्षित गर्ने विश्वविद्यालयका रूपमा अफिसियल वर्ल्ड रेकर्ड नामक एक संस्थाले प्रमाणपत्र दिएको परीक्षा नियन्त्रक जोशीले बताएका थिए । ‘त्यही प्रमाणपत्रका आधारमा गिनिज बुक अफ वल्ड रेकर्डमा समेत रेकर्ड कायम गर्ने प्रक्रियामा छौं,’ उनले भने । जबकि यसअघि नाम र काम नै थाहा नभएको यो संस्थाको आधिकारितामाथि नै शंका छ ।

प्राज्ञिक अभ्यास र शैक्षिक गुणस्तरमा क्षमतावान हुनुपर्ने विश्वविद्यालय औचित्य र आधिकारिकता नभएको कीर्तिमानको पछि लागेको भन्दै धेरैले आलोचना गरेका छन् । ‘दीक्षान्त कार्यक्रम भनेको त एउटा उत्साह र औपचारिक कार्यक्रम मात्र हो,’ उनले भने, ‘त्यहाँ कति विद्यार्थी सहभागी भए/भएनन् त्यसको महत्त्व शैक्षिक गुणस्तरमा हुन्छ र ?,’ पूर्वउपकुलपति हीराबहादुर महर्जनले भने ।

पाँच वर्षदेखि विश्व वरीयतामा आठ सयदेखि एक हजारभित्रको सूचीमा पर्दै आएको त्रिवि पछिल्लो सर्वेक्षणमा भने १२ सयदेखि १५ सयको सूचीमा झरेको छ । टाइम्स हायर एजुकेसनले सन् २०२४ का लागि गरेको सार्वजनिक सर्वेक्षण प्रतिवेदनले विगतमा भन्दा त्रिविको वरीयता कमजोर बनेको देखाएको हो । विद्यार्थी संख्या, प्राध्यापक, कर्मचारीको विवरण, भौतिक संरचना, शिक्षण विधि, अनुसन्धान, साइटेसन, विदेशी विद्यार्थी, आर्थिक गतिविधि, अन्तर्राष्ट्रिय छविलगायत विषयमा मापदण्ड तोकेर सर्वेक्षण हुँदै आएको छ । त्रिविका पदाधिकारीले ५ सयभित्र पर्ने लक्ष्य र योजना लिएको घोषणा गर्दै आए पनि नतिजा भने त्यसविपरीत खस्केको पाइएको हो ।

सन् २०१९ देखि त्रिवि उक्त सर्वेक्षणमा सहभागी हुँदै आएको छ । सोही बेलादेखिकै मूल्यांकनमा त्रिवि विश्वका उत्कृष्ट एक हजार विश्वविद्यालयमा परेको थियो । यसपालि भने उत्कृष्ट एक हजारभन्दा पछाडि धकेलिएको हो । सर्वेक्षणअनुसार त्रिवि अनुसन्धानको वातावरण सबैभन्दा कमजोर देखिएको थियो । अनुसन्धान वातावरणमा त्रिविले ८.२ स्कोर मात्रै प्राप्त गरेको छ । शैक्षिक वातावरणमा पनि अवस्था कमजोर देखिएको थियो । त्रिविले शिक्षण सिकाइमा ११.३, अनुसन्धान गुणस्तरमा ४९.५, उद्योग र उत्पादनमा १५.९ र अन्तर्राष्ट्रिय दृष्टिकोणमा ४६.६ स्कोर मात्र पाएको छ ।

कोभिडयता त्रिवि समयमा पठनपाठन, परीक्षा सञ्चालन र नतिजा प्रकाशनमा समेत असमर्थ हुँदै आएको छ । विगत ४ वर्षयता विश्वविद्यालय विद्यार्थी, अध्यापक, स्थानीयवासी लगायतको लगातार तालाबन्दीको चपेटामा पर्दै आएको छ । ४ वर्षमा ४ सयभन्दा बढी दिन त तालाबन्दी मात्रै भएको थियो । सन् १९५९ मा स्थापित त्रिवि पहिलो र संरचना, विद्यार्थी संख्या, आयस्रोतका आधारमा भने ठूलो विश्वविद्यालय मानिन्छ ।

हजारौं विद्यार्थीलाई साँघुरा सहरभित्र एकै पटक डाकेर सडक अस्तव्यस्त बनाउनुभन्दा संकायअनुसार छुट्टाछुट्टै दिनमा दीक्षान्त कार्यक्रम गर्न सकिने सुझाव विज्ञहरूको छ । ‘अहिलेसम्मको अभ्यास भएकाले एकै दिनमा आयोजना गरिएको होला,’ पूर्वउपकुलपति महर्जन भन्छन्, ‘विद्यार्थीको चाप हुने र व्यवस्थापन गर्न कठिन हुने भए फरकफरक दिनमा पनि गर्न सकिन्छ ।’

गत वर्षदेखि नै त्रिविले ६० देखि ७० हजारको हाराहारीमा वार्षिक रूपमा विद्यार्थी दीक्षित गर्दै आएको छ । विगतमा पुल्चोक क्याम्पस परिसरमा समारोह हुँदै आएको थियो । त्यहाँको साँघुरो ठाउँमा व्यवस्थापन गर्न कठिन भएकाले रंगशालामा आयोजना गरिएको रजिस्ट्रार पेशल दाहालले बताए ।

त्रिवि कात्तिक १६ गतेदेखि ३ महिनाका लागि जिम्मेवारी तोकिएका निमित्त उपकुलपतिको भरमा छ । सहकुलपति तथा शिक्षामन्त्री अशोककुमार राईले उपकुलपति नियुक्त गर्ने व्यक्तिको नाम सिफारिस गर्न सकेका छैनन् । सिफारिस समिति मात्रै गठन भएको छ । तत्कालीन उपकुलपति धर्मकान्त बाँस्कोटाको कार्यकाल सकिएपछि रेक्टर शिवलाल भुसाललाई कामु जिम्मेवारी दिइएको छ । उनले उपकुलपतिको काम गर्न थालेपछि रेक्टर पदसमेत खाली छ । अघिल्लो उपकुलपतिको कार्यकाल सकिनुभन्दा पहिल्यै उपकुलपति चयन गर्नुपर्नेमा सरकारले बेवास्ता गरेको पूर्वउपकुलपति महर्जनले बताए ।

उपकुलपति भुसालले ठूलो संख्यामा विद्यार्थी दीक्षित गरे पनि गुणस्तरमा कमी नआएको दाबी गरे । ‘देशभित्रका विभिन्न विधामा कार्यरत होस् वा विदेशमा अध्ययन र रोजगारी वा वैज्ञानिक खोज अनुसन्धानका क्षेत्रमा किन नहोस् । त्रिविको उत्पादनले आफूलाई अब्बल सावित गरिरहेकोमा हामी गौरवान्वित छौं,’ उनले भने । स्वदेशमा उपयुक्त रोजगारीको अभावका कारणले मात्र विद्यार्थी विदेश पलायन हुने गरेको उपकुलपति भुसालले जनाए । त्रिविले उत्कृष्ट विदेशी विश्वविद्यालयहरूसँगको सहकार्यमा शैक्षिक कार्यक्रम अघि बढाउने उनले बताए । विश्वविद्यालयले छिट्टै साइवर सेक्युरिटी, योग विज्ञान, आयुर्वेद विज्ञान, माउन्टेन पर्यटन र माउन्टेन साइन्स जस्ता विषयमा नयाँ कार्यक्रम सुरु गर्ने उनले घोषणा गरे ।

प्रतिक्रिया