अख्तियार, लोकसेवा र राष्ट्रिय सतर्कता केन्द्रमा वीर अस्पतालका कर्मचारीको उजुरी
शिक्षाखबर डेस्क
६ पुष २०८०, शुक्रबार
no immg

काठमाडाैं / वीर अस्पतालमा कार्यरत कर्मचारीहरूले स्वच्छ तरिकाले कर्मचारी भर्ना गर्नुपर्ने भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग, राष्ट्रिय सतर्कता केन्द्र लगायतमा उजुरी दिएका छन् ।
२८ असोजमा मन्त्रीकै निर्देशनअनुसार न्याम्सको बैठक बसेर न्याम्सअन्तर्गत ६३ वटा नयाँ दरबन्दी थप गरिएको थियो । सो दरबन्दीमा आफ्ना व्यक्तिलाई भर्ना गर्ने मन्त्रीको दाउ रहेको भन्दै अस्पताल तथा चिकित्सकहरूले विरोध जनाउँदै आएका छन् ।
वीर अस्पतालमा करारका नयाँ १३ कर्मचारी भर्ना गर्दा १० जना स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको गृहजिल्ला सिन्धुपाल्चोकका छन् । प्रक्रियासमेत नपुर्‍याई गरिएको नियुक्तिमा अन्य तीनजना पनि मन्त्रीनिकट छन् । खुला प्रतिस्पर्धाबाट सबैको फाराम लिएर कर्मचारी छनोट गर्नुपर्ने चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को नियम रहेकोमा १७ मंसिरमा सुटुक्क आफ्ना व्यक्तिलाई फाराम भराएर १९ मंसिरमा छनोट गरी नाम सार्वजनिक गरिएको हो ।
वीर अस्पतालमा कार्यरत करार जनशक्ति हटाइएपछि उपचार सेवा पनि प्रभावित बनेको छ । २० असोजदेखि लागू हुने गरी अस्पतालले विशेषज्ञ, एमबिबिएस चिकित्सकसहित दुई सय ७६ जना स्वास्थ्यकर्मी हटाएको थियो । त्यसमा ल्याब टेक्निसियनसहितका कर्मचारी थिए । तर, त्यति वेला हटाइनेमा ५० जना एमबिबिएस चिकित्सक, दुईजना विशेषज्ञ चिकित्सक, १७ जना इमर्जेन्सीमा कार्यरत चिकित्सक, एक सय ५५ जना स्टाफ नर्स, ल्याबमा कार्यरत १० जना, अन्य रेडियोलोजी, प्याथोलोजीलगायतमा काम गर्ने स्वास्थ्यकर्मी थिए ।

स्वास्थ्यकर्मी निकालेपछि एक सय ५५ वटा बेड घटाइएको छ । जनशक्ति घटाएर उपचार सेवा खुम्च्याइएपछि सर्वसाधारण मारमा परेका छन् । हाल ५५ वटा आइसियू बेडमध्ये २३ वटा बेड घटाएको छ  । हाल ब्लड बैंक, इमर्जेन्सी, ल्याबलगायतमा जनशक्तिको अभाव छ । दिनहुँ बिरामी बढे पनि जनशक्ति घटेकाले उपचार लिन कठिन हुने गरेको छ ।

प्रतिक्रिया