विद्यालय शिक्षा विधेयकमाथि निजी र सामुदायिक विद्यालयका प्रश्नैप्रश्न
शिक्षाखबर डेस्क
२३ पुष २०८०, सोमबार
no immg

काठमाडाैं / विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको ‘विद्यालय शिक्षा विधेयक, २०८०’ माथि निजी तथा सामुदायिक विद्यालयका संघसंस्थाले प्रश्नैप्रश्न उठाएका छन् । संसद्को शिक्षा, स्वास्थ्य तथा विज्ञान प्रविधि समितिमा छलफलका क्रममा रहेको विधेयकका सम्बन्धमा सुझाव लिन आइतबार निजी र सरकारी विद्यालयका प्रतिनिधिमूलक संस्थाका प्रतिनिधिलाई बोलाइएको थियो । समिति सभापति, सदस्यसहितको उपस्थिति रहेको छलफलमा निजी (हिसान, प्याब्सन र एनप्याब्सन) र सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका प्रतिनिधिले विधेयकको नामदेखि अधिकांश दफालाई सच्याउन सुझाव दिएका छन् ।

हिसानका अध्यक्ष रमेश सिलवालले विधेयकमा निजी विद्यालयलाई गुठीमा लैजाने विषय कुनै पनि हालतमा सही नहुने बताउँदै यो बुँदा सच्याउनैपर्ने धारणा राखे । उनले ऐनमा नेपाली सेना, प्रहरी, मदरसा, गुम्बा, गुरुकुललगायत शैक्षिक संस्थाबारे पनि स्पष्ट व्यवस्था गर्न सुझाव दिए । ‘सरकारी विद्यालयमा लगानी र छात्रवृत्ति शिक्षामा पनि विभेद छ, अझ सरकारी उच्च पदमा बसेकाले छोराछोरी कहाँ पढाउँछन् भन्ने विषयलाई हेर्दा प्रस्ट हुन्छ,’ उनले भने, ‘यदि विद्यालय तहको शिक्षा सुधार गर्ने हो भने विधेयक पनि स्पष्ट र प्रभावकारी हुनुपर्छ ।’ उनले सबै विद्यालयको आ–आफ्नै इतिहास रहेकाले विद्यालयको अंग्रेजी नाम हटाउन नहुने धारणा राखे ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का अध्यक्ष डिके ढुंगानाले हाल शिक्षा विधेयकमा समेटिएको गुठीसम्बन्धी दफा मात्रै चर्चामा रहेको बताउँदै ऐनका समग्र पक्षलाई केलाउन र छलफल गर्न आवश्यक रहेको बताए । ‘सरकारले विद्यालयलाई गुठीमा लैजाने विषय खुबै चर्चामा आयो, तर गुठीमा गइसकेका यसअघिका विद्यालयको अवस्था पनि हेरौँ,’ उनले भने, ‘विधेयकमा सामाजिक विषय नेपाली भाषामा मात्रै हुनुपर्छ भन्ने छ, यसले यो विषय पढेकाले विदेशमा ज्ञान कसरी प्रयोग गर्ने, नेपाल पर्यटकीय सम्भावना भएकाले पनि पयर्टकसँग बोल्न वा त्यससम्बन्धी व्यवसाय गर्न अंग्रेजी भाषा चाहिन्छ, त्यसले यसलाई सच्याउनुपर्छ ।’

एनप्याब्सनका अध्यक्ष पाण्डव हमालले शिक्षा विधेयकमा व्यवस्थापनको पक्षलाई बढी केन्द्रित गरिएको बताउँदै यो विधेयकले शिक्षाका बुँदालाई बढी समेट्नुपर्ने बताए । ‘विधेयकमा व्यवसायलाई बढी केन्द्रित गरिएको छ, शिक्षाको गुणस्तरबारेका बँुदा कम छन् । निजी विद्यालय सामुदायिक विद्यालयका बाधक होइनन् भन्ने गरी उल्लेख गर्नुपर्छ,’ उनले भने, ‘पाठ्यक्रम, अनुगमन र परीक्षाबाहेकका कुरामा निजी विद्यालयलाई स्वायत्तता दिनुपर्छ ।’ उनले हाल २५ हजार विद्यार्थी विदेशी सम्बन्धनमा चलेका शैक्षिक संस्थामा अध्ययन गरिरहेकाले यसबाट नेपालको ठूलो रकम बाहिरिएको बताउँदै यसलाई पनि ऐनमा अझ प्रस्टसँग समेट्न जरुरी रहेको बताए ।

विधेयकको दफा ८ (ग) मा नेपाली मौलिक कला, संस्कृति, सभ्यता, सामाजिक रहनसहन समेटिएका सामाजिक अध्ययनका विषय नेपाली वा मातृभाषाको अतिरिक्त अंग्रेजीमा पनि अध्ययन गराउने व्यवस्था गर्नुपर्ने सुझाव प्याब्सनले दिएको छ ।

प्रतिक्रिया