काठमाडौँका सामुदायिक विद्यालयको स्थलगत अवलोकनमा शिक्षामन्त्री पोखरेल: शैक्षिक गुणस्तर सुधारलाई प्राथमिकता दिने प्रतिबद्धता
शिक्षाखबर डेस्क
२ भाद्र २०८३, मंगलवार
no immg

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले देशभरका सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ। सोमबारदेखि काठमाडौँका विभिन्न सामुदायिक विद्यालयहरूको स्थलगत अवलोकन सुरु गर्नुभएका मन्त्री पोखरेलले विद्यालयको वास्तविक अवस्था, पूर्वाधार र सरोकारवालाहरूबाट प्राप्त व्यावहारिक सुझावहरूलाई आगामी शिक्षा सुधारका नीतिमा समेटिने प्रतिबद्धता व्यक्त गर्नुभएको हो।

भ्रमणका क्रममा मन्त्री पोखरेलले काठमाडौँस्थित राम आधारभूत स्कुल, मदन आश्रित आदर्श मावि, बाल विकास आधारभूत स्कुल र गणेश माविको प्रत्यक्ष अवलोकन गर्नुभएको छ। सो अवसरमा उहाँले प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै विद्यालयको शैक्षिक अवस्था, पठनपाठनको स्तर, प्रशासनिक व्यवस्थापन, भौतिक पूर्वाधार र विद्यार्थीहरूले भोग्नुपरेका समस्याबारे जानकारी लिनुभयो। मन्त्रालयका अनुसार सामुदायिक विद्यालयको वस्तुस्थिति प्रत्यक्ष रूपमा बुझ्न र सुधारका उपाय पहिल्याउन शिक्षक, विद्यार्थी तथा विद्यालय व्यवस्थापन समितिसँग संवाद गर्ने यस अभियानलाई आगामी दिनहरूमा पनि निरन्तरता दिइनेछ।

प्रतिक्रिया
सम्बन्धित खबर
भर्खरै