काठमाडौँ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) को अध्यक्ष पदमा प्रा. डा. सुधा बस्नेत र उपाध्यक्षमा डा. नारायणबहादुर महोत्रा नियुक्त हुनुभएको छ। नवनियुक्त अध्यक्ष, उपाध्यक्ष तथा परिषद्का नवगठित सदस्यहरू गणेश दंगाल, सन्तोषकुमार ठाकुर, सतिसकुमार देव, धर्मागत भट्टराई र रबा थापाले मङ्गलबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो।
नवनियुक्त अध्यक्ष डा. सुधा बस्नेत त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) महाराजगञ्ज मेडिकल क्याम्पसको बालरोग विभागमा प्राध्यापक तथा विभागीय प्रमुखका रूपमा कार्यरत हुनुहुन्छ। वरिष्ठ बालरोग विशेषज्ञ तथा अनुसन्धानकर्ता डा. बस्नेतले भारतको युनिभर्सिटी अफ कलकत्ताबाट एमबीबीएस, त्रिभुवन विश्वविद्यालयबाट बालरोगमा एमडी र नर्वेको युनिभर्सिटी अफ बर्गेनस्थित सेन्टर फर इन्टरनेसनल हेल्थबाट पीएचडी हासिल गर्नुभएको छ।
यसैगरी नवनियुक्त उपाध्यक्ष डा. नारायणबहादुर महोत्रा आईओएम महाराजगञ्ज मेडिकल क्याम्पसमै क्लिनिकल फिजियोलोजी विषयका प्राध्यापक तथा विभागीय प्रमुख हुनुहुन्छ। आईओएमबाटै जनरल मेडिसिनमा प्रमाणपत्र तह, एमबीबीएस र क्लिनिकल फिजियोलोजीमा एमडी पूरा गर्नुभएका डा. महोत्राले यसअघि परिषद्को नैतिक समीक्षा समिति (एथिकल बोर्ड) मा रहेर स्वास्थ्य अनुसन्धानको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याइसक्नुभएको छ।






