झापा । झापा जिल्लामा कीटजन्य कडा सङ्क्रमण ‘जापानिज इन्सेफ्लाइटिस’ (जेइ) को अवस्था चिन्ताजनक बन्दै गएको छ। पछिल्लो चार महिनाको अवधिमा जिल्लाभित्र १० जनामा जेइ सङ्क्रमण पुष्टि भएको छ भने सङ्क्रमितमध्ये पाँच जनाको मृत्यु भइसकेको छ। स्वास्थ्य कार्यालय झापाका अनुसार सङ्क्रमण पुष्टि भएका र ज्यान गुमाएका सबै व्यक्तिहरूले जेइविरुद्धको खोप नलगाएको पाइएको छ। खोपमार्फत सहजै जोगिन सकिने रोगबाट ठुलो मानवीय क्षति भएपछि स्वास्थ्य कार्यालयले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रतिनिधिसहित खोप चिकित्सक र निगरानी सम्पर्क व्यक्तिहरूको संयुक्त स्थलगत अध्ययन टोली प्रभावित क्षेत्रमा परिचालन गरेको छ।
स्वास्थ्य कार्यालय झापाका प्रमुख वृजकुमार दासका अनुसार अध्ययन टोलीले सङ्क्रमण फैलिनुका वातावरणीय कारण, लामखुट्टेको घनत्व र समुदायमा रहेको सम्भावित जोखिमको सुक्ष्म विश्लेषण गरी प्राप्त तथ्यका आधारमा नियन्त्रण रणनीति बनाउनेछ। नेपालमा सामान्यतया १२ महिनाका बालबालिकालाई जेइविरुद्धको एक मात्रा खोप दिने नियमित व्यवस्था रहे तापनि झापामा पछिल्लो समय ४० वर्षमाथिका वयस्कहरूमा सङ्क्रमण र मृत्युको दर बढेपछि खोप रणनीतिलाई फराकिलो बनाउनुपर्ने देखिएको छ। सोही आवश्यकतालाई ध्यानमा राख्दै ३० वर्षमाथिका खोप छुट भएका नागरिकहरूलाई लक्षित गरी विशेष खोप अभियान सञ्चालन गर्ने तयारी भइरहेको छ।
विशेषगरी वर्षायाममा पानी जम्ने र लामखुट्टेको टोकाइबाट सर्ने भएकाले व्यक्तिगत सरसफाइ, लामखुट्टेको नियन्त्रण र खोपको शतप्रतिशत पहुँच नै यस रोगबाट बच्ने मुख्य उपाय भएको स्वास्थ्यकर्मीहरूले बताएका छन्।






