मिर्गाैलापीडितको उपचारमा १५ लाख सहयोग
शिक्षाखबर डेस्क
१६ कार्तिक २०७९, बुधबार
no immg

१६ कार्तिक, काठमाडाैँ। मिर्गौला रोगबाट पीडित ताराखोला गाउँपालिका–५ करिमेलाका सङ्कल रोकाको उपचारमा रु १५ लाख ३५ हजार सहयोग जुटेको छ । पच्चीस वर्षीय उनको मिर्गौला प्रत्यारोपणका लागि गत साउनदेखि आर्थिक सहयोग अभियान चलाइएको हो ।

स्थानीय नवसिर्जना र असारे युवा क्लबको संयुक्त पहलबाट सङ्कलित सो रकम रोकाका परिवारजनलाई हस्तान्तरण गरिएको नवसिर्जना युवा क्लबका अध्यक्ष पूर्णभद्र न्यूरेले जानकारी दिए । त्यसमध्ये रु ६५ हजार बहराइनमा रहेका जीवन रोका मगरको अगुवाइमा सङ्कलन भएको हो ।

मिर्गाैला प्रत्योरापणका लागि अर्थाभाव भएपछि रोकाका परिवारजनले सहयोगको याचना गरेका थिए । परिवारको आग्रहमा स्थानीय दुई क्लब मिलेर चलाएको अभियानमा देश–विदेशबाट सहयोग रकम जुटेको हो । दुवै मिर्गाैलाले काम गर्न छाडेपछि रोका अहिले सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रमा उपचाररत छन् ।

दिदी पूर्णमायाको मिर्गाैला रोकामा प्रत्यारोपण गर्ने तयारी भइरहेको जनाइएको छ । आफन्त र शुभेच्छुकहरूको सहयोगबाट आर्थिक जोहो भएपछि रोकाका परिवारजन अब उपचार सफल हुनेमा आशावादी छन् । उपचारका क्रममा थप रकम चाहिने भएकाले इच्छुकलाई सहयोग गर्न आग्रह गरिएको छ ।

नौ महिनाअघि रोजगारीका लागि विदेश जानुपूर्व स्वास्थ्य जाँच गर्दा रोकामा मिर्गौलाको समस्या देखिएको थियो । त्यसअघि तीन वर्ष कतार र एक वर्ष युएईमा काम गरेर फर्कुनभएका उहाँ पुनः रोजगारीका लागि बहराइन जाने तयारीमा हुनुहुन्थ्यो । अकस्मात मिर्गौलामा समस्या देखिएपछि उहाँ विदेश जान नपाइ घर फर्कनुपर्यो ।

कमाउन विदेश हिँडेका रोका उल्टै बिरामी परेर घर फर्केपछि परिवारमा पनि समस्या आइपरेको छ । रोकाको परिवारलाई आर्थिक सहायताका लागि सङ्कल रोकाका नाममा प्रभु बैंकमा रहेको खाता नं ०६००१५१२५३२०००१६ रकम जम्मा गर्न सकिने छ ।

प्रतिक्रिया