हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१९ बासुदेवस्थित खहरे खोलाले विद्यालयबाट घर फर्कँदै गरेका चार जना विद्यार्थीलाई बगाउँदा एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन्। निर्मल माध्यमिक विद्यालय बस्तीपुरमा अध्ययनरत विद्यार्थीहरू बाटोमा बनेको लच्का तर्ने क्रममा अचानक बढेको पानीको बहावमा बगेका हुन्। खोलाले बगाएकी कक्षा २ मा अध्ययनरत आठ वर्षीया रोसनी स्याङ्ताङलाई घटनास्थलबाट करिब पाँच सय मिटर तल रुखको जरामा अडिएको अवस्थामा फेला पारी हेटौँडा अस्पताल पुर्याइए पनि उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो।
दुर्घटनामा परेर सोही विद्यालयको कक्षा ५ मा अध्ययनरत ११ वर्षीया सुमित्रा भोलन र कक्षा ७ मा अध्ययनरत १२ वर्षीया बिनिता भोलन बेपत्ता रहेका छन्। उता कक्षा ६ मा अध्ययनरत १३ वर्षीया सीमा भोलन भने खोलाको बहावबाट पौडिएर बाहिर निस्कन सफल भएकी छन्। टाउकोमा चोट लागेर घाइते भएकी सीमाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। घटनाको जानकारी पाउनासाथ प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको कमान्डमा २० जना प्रहरी, विपद् व्यवस्थापन गुल्मबाट ११ जना, सशस्त्र प्रहरी बलको १४ गणबाट १७ जना तथा नेपाली सेनाको टोली परिचालन गरी खोज तथा उद्धार सुरु गरिएको थियो। रात परेपछि रोकिएको खोजी कार्य बुधबार बिहान ६ बजेदेखि सुरक्षा निकाय र स्थानीयको सहयोगमा पुनः सुरु गरिने विद्यालयका प्रधानाध्यापक प्रबोध विडारीले बताउनुभयो।






