डिग्री पढेका युवाकाे माछापालन र माछा क्याफे , मासिक १५ लाख अाम्दानी
शिक्षाखबर डेस्क
२० जेष्ठ २०७५, आईतवार
no immg

काठमाडाैं । 

औपचारिक पढाइ स्नातकोत्तर तहसम्म गरेका अधिकांश युवा जागिरको खोजीमा दौडिन्छन् । जागिर नपाएपछि युवामा निराशा समेत बढ्ने गर्छ । तर, सुर्खेतको वीरेन्द्रनगरका डिग्री पढेका युवाले माछापालन गरेर मनग्यै आम्दानी गरिरहेका छन् ।

एमबीए र एमएस्सीसम्म पढाइ गरेका ३ युवाले संयुक्त रुपमा माछापालन र माछा क्याफे सञ्चालन गरेका छन् । सुर्खेतका इन्द्रबहादुर खड्का, विदुर केसी र जगदिश शाहीले उदाहरणीय काम गरेका छन् । सँगसँगै अध्ययनका क्रममा दैलेखतिर जाँदा कर्णालीका माछा मारेर खाने बानी परेका कारण माछापालनतिर आकर्षित भएको सञ्चालक इन्द्रबहादुर खड्काले बताए । ‘माछापालनबाट राम्रो आम्दानी हुने देखेर फिस कटेज पनि सञ्चालन गरेका छौं,’ खड्काले भने । ३ दशक जीवन भोगेका युवाले वीरेन्द्रनगरमा माछापालन र फिस कटेज स्थापना गरेको २ वर्षभन्दा बढी भएको छ ।

हाल दैनिक ५० हजार रुपैयाँ बराबरको आम्दानी भइरहेको सञ्चालक विदुर केसीले बताए । उनका अनुसार उनीहरूले मासिक १५ लाख रूपैयाँ अाम्दानी गर्दै अाएका छन् ।  १ विगाहा क्षेत्रमा माछापोखरी तथा १ विगाहामा रेस्टुरेण्ट सञ्चालन गर्दै आएका युवाले माछालाई बजारमा थोकमा समेत बिक्री गर्ने गरेका छन् । पोखरीमा कमन, रहु, नैनी, सिल्भर, प्रयास, विगेड, ग्रासकार्प, क्लिपिया जातका माछा उपलब्ध छन् । ‘कटेजमा ६ जना कर्मचारी कार्यरत छन्,’ खड्काले भने ।

माछापालन गर्दा केही चुनौति समेत रहेको सञ्चालक विदुर केसीले बताए । ‘सुरुसुरुमा माछाका लागि पानी कम हुने, माछाका लागि पोखरीमा अक्सिजनको कमी हुने, माछालाई विभिन्न रोग लाग्ने र माछा मर्ने समस्या आएको थियो,’ केसीले भने, ‘हामी तीनै जना १२ घण्टा खटेर चुनौतिको सापना गर्यौं ।’

रेस्टुरेण्टका लागि ताजा माछा उत्पादन गरेर मनग्यै आम्दानी गर्न सफल उदाहरणीय युवाले १ करोड रुपैयाँ बराबरको लगानी गरिसकेका छन् । ठूला ३ वटा माछा पोखरी बनाएर सिजनमा एउटा पोखरीबाट १५ लाख रुपैयाँ आम्दानी गर्ने गरेका छन् ।

होमस्टे खोल्ने तयारी
अब होमस्टे सञ्चालन गर्ने योजना रहेको सञ्चालक केसीले बताए । ‘अहिले रेस्टुरेण्टमा आउने ग्राहकलाई उचित बासको व्यवस्थापन गर्न सकेका छैनौं,’ केसीले भने, ‘अब होमस्टे सञ्चालन गरेर ग्राहकलाई थप सेवा र सुविधा दिने योजना बनाउँदै छौं ।’ रेस्टुरेण्ट क्षेत्रमा स्वीमिङ पुल बनाउने योजना समेत रहेको उनले बताए ।

सरकारबाट अनुदानको आश
सञ्चालक इन्द्रबहादुर खड्काले सुर्खेतमा माछाको बजार पर्याप्त रहेको बताए । तर पनि माछाले सही मूल्य पाउन नसकेको सञ्चालकको गुनासो छ । ‘मरेका माछाहरू अन्यत्र जिल्ला तथा भारतबाट ल्याउने गरिन्छ,’ उनले भने, ‘त्यसले गर्दा माछाको मूल्य सस्तो हुने र स्थानीय माछाको लागत मूल्य बढ्ने भएकाले अलि समस्या हुने गरेको छ ।’

राज्यले कृषि पेशामा लागेका युवालाई प्रोत्साहन गर्नुपर्नेमा खड्काले जोड दिए । ‘कम्तिमा राज्यले लागत हेरेर अनुदान दिन सकेको भए हामी पनि प्रतिस्पर्धी बन्न सक्थ्यौं,’ उनले भने, ‘लागत मूल्य बढी हुने र राज्यबाट केही नपाइने हुँदा व्यवसायी मर्कामा परेका हौं ।’लोकतन्त्र

प्रतिक्रिया