काठमाडौं १७ भदौ / गुणस्तरीय शिक्षा दिन कमजोर भएको आरोप खेपेका नेपालका विश्वविद्यालयहरू सम्बन्धनको व्यापारमा भने तीव्र देखिएका छन् ।
नयाँ पत्रिकाका अनुसार देशकै सबैभन्दा पुरानो र ठूलो त्रिभुवन विश्वविद्यालय मात्रै होइन, भर्खर स्थापना भएका विश्वविद्यालयसमेत धमाधम नयाँ कलेज खोज्ने र नयाँ–नयाँ कार्यक्रम दिने व्यापारमा लागेका छन् । निश्चित कुनै उद्देश्यका लागि खोलिएका विश्वविद्यालयले आफ्नो फ्याकल्टी नभएका विषयमा समेत स्वीकृति दिएका छन् ।
आवेदन दिएका कलेजलाई विश्वविद्यालयले धमाधम सम्बन्धन तथा नयाँ कार्यक्रम दिन थालेपछि सरकारले रोकेको थियो । मन्त्रिपरिषद्बाट निर्णय गरेरै सरकारले सम्बन्धन अगाडि नबढाउन विश्वविद्यालयहरूलाई पत्र पठाएको हो । तर, पछि विश्वविद्यालय अनुदान आयोगमार्फत कार्यक्रम थपको लागि खुला गरेपछि अधिकाशं विश्वविद्यालयले त्यसकै नाममा व्यापार सुरु गरेका छन् । आयोगका सदस्यसचिव प्रा.डा. देवराज अधिकारीले कार्यक्रम थपका लागि विश्वविद्यालयले विज्ञापन गर्दा त्यही विषयमा मात्र गर्नुपर्ने बताए । स्नातकमा व्यवस्थापन सञ्चालन गरेको छ भने व्यवस्थापनको मात्र कार्यक्रम थप गर्न पाउने उनले बताए ।
देशलाई आवश्यक शैक्षिक जनशक्तिबारे अध्ययन गर्दै सरकार
सरकारले समिति बनाएर देशमा कुन क्षेत्रमा कति शैक्षिक जनशक्ति आवश्यक छ भन्नेबारे अध्ययन गर्दै छ । शिक्षासचिव खगराज बरालले कति जनशक्ति आवश्यक भन्ने प्रक्षेपणका लागि शिक्षा मन्त्रालयले अध्ययन कमिटी प्रस्ताव गरेको बताए । तर, अर्थ मन्त्रालयले पहिले पनि केही काम भएको भन्दै जिज्ञासा राखेकाले त्यसबारेमा निर्णय भइनसकेको बताए ।
पोखरा विश्वविद्यालयबाट ३७९ कलेजले लगे धरौटी फिर्ता, पुरानालाई कार्यक्रम थप
आंगिक चार र सम्बन्धनप्राप्त ५८ गरी पोखरा विश्वविद्यालयका ६२ कलेज सञ्चालनमा छन् । तर, ०६९ पछि नयाँ कलेजलाई सम्बन्धन नदिएको रजिस्ट्रार गोविन्द शर्मा बताउँछन् । नयाँलाई सम्बन्धन नदिने र सञ्चालनमा रहेकालाई सक्षम बनाउने नीति रहेको शर्माले बताए । पोखराले सम्बन्धनका लागि आवेदन दिएर धरौटी राखेका तीन सय ७९ कलेजको रकम फिर्ता गरेको छ ।
विगतका पदाधिकारीले पोखरा विश्वविद्यालयलाई पनि व्यापार गर्ने माध्यम बनाएका थिए । पोखरा विश्वविद्यालयका ६० प्रतिशत क्याम्पस काठमाडौंमा सञ्चालन छन् । सो विश्वविद्यालयले अघिल्लो थप कार्यक्रम सञ्चालनको भने स्वीकृति दिइरहेको छ । यसपटक पनि १० कलेजलाई कार्यक्रम थपको अनुमति दिने तयारी गरेको छ ।
काठमाडौं विश्वविद्यालय पनि सम्बन्धन दिन अगाडि
काठमाडौं विश्वविद्यालयका ७ वटा आंगिक क्याम्पस सञ्चालनमा छन् । १७ वटा सम्बन्धनप्राप्त क्याम्पस छन् । सम्बन्धन दिएकामध्ये अधिकांश मेडिकल कलेज छन् । १७ मध्ये १० मेडिकल कलेज छन् । सम्बन्धन दिन यो विश्वविद्यालय पनि अगाडि छ ।
त्रिविका झन्डै दुई सय क्याम्पसमा कार्यक्रम थपिए, सयौँ थप्ने तयारीमा
त्रिभुवन विश्वविद्यालयले केही दिनअघि झन्डै दुई सय क्याम्पसमा विभिन्न कार्यक्रम थप गरेको छ । आकर्षक कार्यक्रम मानिएको विषयमा मात्र सयवटा क्याम्पसलाई सम्बन्धन दिएको छ । त्यसैगरी, बिबिएम, बिएचएम, बिआइएम गरी झन्डै दुई सय क्याम्पसमा कार्यक्रम थप गरेको हो । त्रिविका विभिन्न संकाय र अध्ययन संस्थान गरी थप दुई सय संस्थामा कार्यक्रम थप गर्ने तयारी छ ।
त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा अहिले १ हजार १ सय ४६ क्याम्पस सञ्चालनमा छन् । जसमध्ये ६१ आंगिक र एक हजार ८५ सम्बन्धनप्राप्त क्याम्पस छन् । तैपनि त्रिवि अझै ५० भन्दा बढी नयाँ कलेज तथा तीन सयजति नयाँ कार्यक्रम थप्ने तयारीमा छ ।
त्रिवि स्रोतका अनुसार सबैभन्दा बढी सम्बन्धन दिने तयारी कृषिविज्ञानमा छ । शिक्षा मन्त्रालयबाट मनसायपत्र लिएका २६ क्याम्पसलाई सम्बन्धन दिने तयारी भएको हो । ती क्याम्पसको फिजिबिलिटी अध्ययनसमेत भइसकेको छ । व्यवस्थापन संकायमा पनि झन्डै एक दर्जन नयाँ कलेजलाई सम्बन्धन दिने तयारी छ । कृषि अध्ययनलगायत कार्यक्रमको तयारी डिन कार्यालयभित्र मात्रै सीमित छ भने व्यवस्थापनका नयाँ सम्बन्धन र मानविकीको बिसिए कार्यक्रम थप कार्यकारी परिषद्मा प्रस्ताव भइसकेको छ । तर, अन्य विश्वविद्यालयमा भएको सम्बन्धन विवाद र सरकारको परिपत्रपछि अहिले तयारी रोकिएको छ ।
त्रिविका उपकुलपति प्रा.डा. तीर्थराज खनियाँले ०७० मा माग भएको आवेदनको क्याम्पसलाई कार्यक्रम थप गरेको बताए । तीन वर्षदेखि नयाँ सम्बन्धन दिइएको छैन । डिन कार्यालयले आवेदन मागे पनि सम्बन्धन दिन सहमतिमा सिफारिस गरेको छैन ।
विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डिन प्रा.डा. रामप्रसाद खतिवडा भन्छन्– तीन वर्षअघि सम्बन्धनका लागि आवेदन माग भएको थियो । आइटी र फुड टेक्नोलोजीमा ९० वटा आवेदन परेका छन् । अध्ययन पूरा भइसकेको छ ।
शिक्षाशास्त्र संकायका डिन प्रा.डा. कृष्णप्रसाद गौतम भन्छन्– अघिल्लो वर्ष सम्बन्धन माग भएको थियो । १ सय ९३ कलेजले सम्बन्धन मागेकोमा अध्ययन भइरहेको छ ।
व्यवस्थापन संकायका डिन प्रा. डिल्ली शर्मा भन्छन्– ०७१ मा सम्बन्धनका लागि सय आवेदन परेकामा अहिले अनुगमन गरी रिपोर्ट तयार भइरहेको छ ।
मानविकी संकायका डिन प्रा.डा. शिवलाल भुसाल भन्छन्– केही कार्यक्रम थपका लागि आवेदन मागिएको थियो । बिसिएलगायत कार्यक्रम थप गर्न धेरै आवेदन परेका छन् । अहिले आंगिक क्याम्पसमा मात्र सम्बन्धन दिइएको छ । १ सय १६ वटा क्याम्पसमा बिसिए कार्यक्रम थपका लागि कार्यकारीमा प्रस्ताव पुगेको छ ।
पूर्वाञ्चल विश्वविद्यालयका ७० क्याम्पस काठमाडौंमा
सातवटा आंगिक र १ सय २४ सम्बन्धनप्राप्त क्याम्पस रहेको पूर्वाञ्चल विश्वविद्यालय पनि सम्बन्धनको व्यापारमा लागेको छ । ७० वटा क्याम्पस काठमाडौंमै रहेको पूर्वाञ्चलले आफ्नै आंगिक क्याम्पस र फ्याकल्टी नभएको विषयमा पनि धमाधम स्वीकृति दिएको छ । स्नातक र स्नातकोत्तर तहमा निजीलाई सम्बन्धन दिएको हो । पूर्वाञ्चलका ७४ वटा कार्यक्रममध्ये जम्मा २५ वटा मात्रै आंगिक क्याम्पसमा सञ्चालनमा छन् । आंगिक क्याम्पसमा एमबिबिएस कार्यक्रमको तयारी गर्दै छ । सरकारको पत्रपछि सम्बन्धनमा पूर्वाञ्चल पनि रोकिएको छ ।
पूर्वाञ्चल विश्वविद्यालयका प्रवक्ता रितेश झा भन्छन्– अहिले नयाँ सम्बन्धनभन्दा पनि स्नातक पढाइरहेका कलेजलाई मास्टर्सका कार्यक्रम सञ्चालनको अनुमति दिने तयारी भइसकेको छ ।
बौद्धदर्शन अध्ययन गराउने उद्देश्य बोकेको लुम्बिनी–बौद्ध विश्वविद्यालयद्वारा इन्जिनियरिङलाई सम्बन्धन
बौद्धदर्शनसम्बन्धी अध्ययन–अनुसन्धान गराउने उद्देश्यले स्थापना भएको लुम्बिनी बौद्ध विश्वविद्यालयले इन्जिनियरिङ अध्यापन गराउने कलेजलाई सम्बन्धन दिएको छ । विश्वविद्यालयमा इन्जिनियरिङ विभागसमेत छैन । त्यस्तो विषय अध्ययन गराउने आफ्नो आंगिक कलेज छैन । इन्जिनियरिङ शिक्षा अनुगमन गर्ने अध्यापक छैनन् । तर, यही विश्वविद्यालयले लुम्बिनी इन्टरनेसनल एकेडेमी अफ साइन्सलाई इन्जिनियरिङको सम्बन्धन दिएको छ ।
विवाद भएपछि सरकारले छानबिनका लागि समिति त बनायो, समितिले अधिकारबाहिर गएर सम्बन्धन नदिन विश्वविद्यालयलाई सुझाबसमेत दियो । तर, सम्बन्धन खारेज भएको छैन, कलेजले पढाइरहेको छ । कलेजले इन्जिनियरिङका लागि शिक्षा मन्त्रालयबाट लिनुपर्ने मनशायपत्रसमेत नलिई विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मात्र गरेन, ०७२ बाट कक्षा चलाइरहेको छ । रजिस्ट्रार तिलकराम आचार्य भन्छन्, ‘सरकारले बनाएको कमिटीले कमजोरी देखायो, तर खारेज गर्ने भनेको छैन ।’
गत ९ साउनमा बसेको विश्वविद्यालय सभाले मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गतका कार्यक्रम सञ्चालन गर्न पाउने निर्णय पारित गरेको छ । एउटै संकायले बाँच्न गाह्रो हुने भएकाले यस्तो गर्नुपरेको रजिस्ट्रार आचार्य बताउँछन् । सम्बन्धनप्राप्त १० र एउटा आंगिक गरी लुम्बिनी विश्वविद्यालयका कुल ११ कलेज छन् ।
कृषि क्याम्पसलाई सम्बन्धन दिने तयारीमा संस्कृत विश्वविद्यालय, तर पाठ्यक्रम बनाउने जनशक्ति छैन
नेपाल संस्कृत विश्वविद्यालयले पनि कृषि विषयमा सम्बन्धन दिने तयारी गरेर सबैलाई आश्चर्यमा पारेको छ । यो अनौठो कदमलाई बचाउ गर्न वैदिक कृषि अध्ययन गराउने भनिएको छ । तर, कार्यक्रम त आधुनिक कृषिकै हुन् । वैदिक कृषिको पाठ्यक्रम बनाउने जनशक्तिसमेत छैन ।
तुलसीपुर उपमहानगरपालिकाले समसामयिक पाठ्यक्रम बनाउन आग्रह गरेपछि त्यसको तयारीमा लागेको विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा. रमेश ढकालले बताए । ‘हामीसँग वैदिक कृषिको पाठ्यक्रम बनाउने प्राविधिक जनशक्ति छैन,’ उनले भने, ‘त्यस्ता विज्ञ खोजेर पाठ्यक्रम बनाउँदै छौँ ।’
यस विश्वविद्यालयका देशभरमा १४ आंगिक र चार सम्बन्धनप्राप्त क्याम्पस छन् । दुईवटा क्याम्पसले कार्यक्रम विस्तारका लागि आवेदन दिएका छन् ।
एकैपटक दुई सय ५३ कलेजलाई सम्बन्धन दिने सुदूरपश्चिम विश्वविद्यालयको तयारी
सुदूरपश्चिम विश्वविद्यालयले त्रिभुवन विश्वविद्यालयबाट १५ वटा क्याम्पस लिएर आफ्ना कार्यक्रम सञ्चालन गरेको छ । यिनै १५ वटा क्याम्पस अनुगमन गर्न पनि विश्वविद्यालयसँग पर्याप्त पूर्वाधार र जनशक्ति छैन । तर, यही विश्वविद्यालयले एकैपटक दुई सय ५३ कलेजलाई सम्बन्धन दिने तयारी गरेको छ । इन्जिनियरिङ, हेल्थ साइन्स र म्यानेजमेन्टका विभिन्न कार्यक्रममा सम्बन्धन दिने तयारी भइरहेका वेला सरकारले विश्वविद्यालय अनुदान आयोगमार्फत सम्बन्धन रोक्न पत्राचार गरेपछि अहिले अल्झिएको छ । विश्वविद्यालयका प्रवक्ता गोविन्दवल्लभ पन्तले विश्वविद्यालयमा २ सय ५३ आवेदन परेको र सम्बन्धन दिनका लागि फिजिबिलिटी अध्ययन भइरहेको वेला सरकारको पत्र आएपछि रोकिएको बताए । सुदूरपश्चिमले बिईमा सिभिल इन्जिनियरिङ, हेल्थ साइन्समा बिएससी अप्थोमेट्सी, म्यानेजमेन्टमा बिबिए, एमबिएमई, एमबिएजस्ता कार्यक्रम सञ्चालनका लागि निजी कलेजलाई सम्बन्धन दिने तयारी गरेको थियो ।
कृषि विश्वविद्यालय रामपुरको व्यापार : निजीलाई दुई बिघा, आंगिकलाई आठ बिघा जग्गा अनिवार्य
कृषि तथा वनविज्ञान विश्वविद्यालयल रामपुरले १० वटा आंगिक क्याम्पस खोल्ने निर्णय गरेको थियो । तर, सभाको निर्णय कार्यान्वयन नगर्दै निजीलाई सम्बन्धन दिन विश्वविद्यालय अग्रसर भयो । अहिलेसम्म चारवटा आंगिक क्याम्पस भएको विश्वविद्यालयको कार्यकारी परिषद्ले गत २१ असारमा सात कृषिविज्ञान र एक वनविज्ञान कार्यक्रम सञ्चालनको सम्बन्धन दिने निर्णय ग-यो ।
कतिसम्म भने आफ्नै आंगिक कलेजलाई आठ बिघा जमिन अनिवार्य छ भनेर मापदण्ड बनाउने विश्वविद्यालयले निजी कलेजलाई भने दुई बिघा जमिन भए पुग्ने निर्णय ग-यो । त्यस्तै, हाल विश्वविद्यालयको केन्द्रीय क्याम्पस रामपुरमा दुई सय ४३ हेक्टर क्षेत्रफल छ । त्यहाँ हजारौँ विद्यार्थीलाई सहुलियतमा अध्यापन गराउन सकिन्छ । तर, विश्वविद्यालयले जम्मा एक सय ६५ सिट मात्रै निर्धारण गरेर निजी कलेजलाई प्रवद्र्धन गर्ने बाटो अपनाएको छ ।
आठवटा निजी कलेजलाई सम्बन्धन दिने विश्वविद्यालयको यो कदमको विरुद्धमा विद्यार्थी र प्राध्यापकले आन्दोलन चर्काएपछि सम्बन्धनको निर्णय रद्द भएको छ । तर, सम्बन्धन पाएका कलेज सर्वोच्च गएर सम्बन्धन यथावत् राख्नू भन्ने अन्तरिम आदेश ल्याएका छन् ।
काठमाडौंको इन्जिनियरिङ कलेजलाई मध्यपश्चिम विश्वविद्यालयको सम्बन्धन
मध्यपश्चिम क्षेत्रमा शिक्षा प्रवद्र्धन गर्न सुर्खेतमा स्थापना भएको मध्यपश्चिम विश्वविद्यालयले आफ्नो क्षेत्रमा काम गर्न छाडेर काठमाडौं उपत्यकामा खोलिएको नेपाल इन्जिनियरिङ कलेजलाई सम्बन्धन दिने निर्णय गरेको थियो । तर, विद्यार्थी र प्राध्यापकको चर्को विवादपछि सम्बन्धन स्थगित गरिएको छ ।
मध्यपश्चिमले अहिले मानविकी तथा सामाजिक, व्यवस्थापन, विज्ञान तथा प्रविधि, शिक्षाशास्त्र र इन्जिनियरिङका कार्यक्रम सञ्चालन गरेको छ ।
सम्बन्धनको धन्दा रोकेर विश्वविद्यालय खोल्न दिनु पर्ने त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा बताउँछन् ।