डेङ्गु महामारीको उच्च जोखिममा
शिक्षाखबर डेस्क
८ आश्विन २०७५, सोमबार
no immg

दमक, असोज ८ गते । डेङ्गु महामारीको उच्च जोखिममा रहेको झापाको दमक नगरपालिकामा डेङ्गुको स्रोत नष्ट गर्ने अभियान सुरु भएको छ । स्वास्थ्यकर्मीका अनुसार डेङ्गु एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाइबाट सर्ने सङ्क्रामक रोग भएकाले यसले छिटो महामारीको रूप लिन सक्छ ।
डेङ्गुको भाइरसद्वारा सङ्क्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्ने भएकाले यसको स्रोत नै नष्ट गर्नु सबैभन्दा उपयुक्त हुने भएकाले यो अभियान सुरु गरिएको दमक नगरपालिका स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालले बताउनुभयो । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा सहरी क्षेत्रमा बढी पाइने भएकाले बजार क्षेत्रमा आफूहरूले स्रोतको अनुगमन गरेर त्यसलाई नष्ट गर्ने अभियानमा लागेको पनि अर्यालको भनाइ रहेको छ ।
अर्यालका अनुसार यसले स–साना सफा पानी जमेको स्थानमा फुल पार्नेगर्दछ । खासगरी वर्षाको पानी जम्ने टिनका डब्बा, रङका खाली डब्बा, थोत्रा टायर, अलकत्रा वा मट्टीतेलका खाली ड्रम, फूलदानी, गमला, पानीका ट्ङ्याकीमा यसले फुल पार्दछ । सहरी क्षेत्रमा यस्ता वस्तु धेरै हुने भएकाले पनि यो लामखुट्टे सहरमा बढी देखिने गरेको उहाँले जनाउनुभयो । यो सहरमा बढी समस्या पाइने भएकाले सहर केन्द्रित कार्यक्रम गरेका छौँ –अर्यालले भन्नुभयो ।
वडा नं. ५ का वडाध्यक्ष इन्द्र गुरुङ, वडा नं. ८ का वडाध्यक्ष पशुपतिराज गौतम, नगरपालिकाका प्रशासन शाखा प्रमुख मोहन ओली, स्वास्थ्य स्वयंसेविका सहितको टोलीले जमेको पानी भएका ठाउँको अनुगमन गरेर नष्ट गर्न निर्देशन दिनुभएको थियो । सबैभन्दा बढी मोटर ग्यारेजमा रहेका थोत्रा टायरमा समस्या पाइएको वडाध्यक्ष गुरुङले बताउनुभयो । हामीले थोत्रा टायर तत्काल पानी नपर्ने ठाउँमा राख्न र पानी जमेको भए नष्ट गर्न निर्देशन दिएका छौँ –गुरुङले भन्नुभयो ।
स्वास्थ्यकर्मी बुद्धिशेखर भट्टराईका अनुसार डेङ्गु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल सङ्क्रमणका रूपमा लिइन्छ । यो भाइरस डेङ्गु–१, डेङ्गु–२, डेङ्गु–३ र डेङ्गु– ४ गरी चार प्रकारका हुन्छन । एडिज लामखुट्टे कालो रङको हुन्छ, जसमा सेतो थोप्ला पनि देखिन्छ । यो लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्दछ । औलो उत्पन्न गर्ने लामुखुट्टे फोहोर पानीमा पाइने भए पनि डेङ्गु सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ ।
डेङ्गु रोग क्लासिक डेङ्गु, हेमोरेजिक र साक सिन्ड्रोम गरी तीन प्रकारको हुने दमकस्थित लाइफलाइन अस्पतालका सञ्चालक डा. सूर्यनारायण शाहले बताउनुभयो । उहाँका अनुसार क्लासिक डेङ्गु हुन्छ र यो आफैँ निको हुने भएकाले मृत्युको सम्भावना कम हुन्छ, तर यदि कुनै व्यक्तिलाई डेङ्गु हेमोरेजिक ज्वरो वा डेङ्गु साक सिन्ड्रोम भएको छ भने यसको उचित प्रकारले उपचार नगरे मृत्यु हुनसक्छ ।
आम्दा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन ढकालका अनुसार स्वास्थ्य संस्थामा यसको लक्षण अनुसार उपचार गरिने भएकाले लक्षण देखिना साथ अस्पताल आउनु बुद्धिमानी हुन्छ । डेङ्गु ज्वरो विरुद्धको खोप तथा खास उपचारसमेत नभएको हुँदा लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगको बचावटको मुख्य उपाय हो –डा. ढकालले भन्नुभयो । उहाँका अनुसार डेङ्गु ज्वरोको मुख्य लक्षण भनेको एक्कासि उच्च ज्वरो आउनु हो । यो ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ ।
दमकमा दुई वर्षअघि डेङ्गुले महामारीको रूप लिएको थियो । सरकारी दमक अस्पतालमा त्यो समयदेखि अहिलेसम्म पनि डेङ्गु रोग जाँच तथा उपचारका लागि केन्द्र तोकिएको छ । निःशुल्क रूपमा किटको माध्यमबाट अस्पतालमा डेङ्गु परीक्षणको व्यवस्था मिलाइएको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिनाले बताउनुभयो ।

प्रतिक्रिया