सामूहिक कृषिबाट वार्षिक करोड आम्दानी
शिक्षाखबर डेस्क
९ आश्विन २०७५, मंगलवार
no immg

पाल्पा/मलेसियामा १० वर्ष बसेर आएका जितबहादुर थापाको योजनामा पूर्वखोला–६ खुमडाँडामा सामूहिक कृषि सुरु भएको छ । १५ रोपनी क्षेत्रफलमा खुमडाँडाका २६ घरले ३ हजारका दरले रकम संकलन गरी कानुङ सामूहिक कृषि फर्म सुरु गरेका हुन् । उनीहरूले वार्षिक १ लाख ८० हजारमा जग्गा लिजमा लिएर व्यवसाय सुरु गरेका छन् ।

मलेसियामा १० वर्ष कृषि क्षेत्रमै काम गरेका थापा त्यहाँ सिकेको सीप आफ्नो गाउँमा प्रयोग गर्न पाउँदा खुसी लागेको बताउँछन् । ‘मैले १० वर्ष विदेशमा काम गर्दा मासिक २५ हजार कमाइ गर्थें, त्यहाँको कमाइले केही गर्न सकिएन,’ उनले भने, ‘यहाँ सबै मिलेर काम गर्दा प्रतिव्यक्ति ५० हजार घरको खाएर कमाउन सक्छौँ ।’ वर्षमा कम्तीमा ३ देखि ४ बाली हुने खेतीमा प्रत्येक बालीबाट कम्तीमा ४० हजार कमाइ हुने उनको भनाइ छ ।

सामूहिक खेतीमा अहिले गोलभेँडा लगाइएको छ । योभन्दा पहिला बन्दागोबी लगाइएको थियो । २६ घरका कृषक बिहान १० देखि बेलुकी ५ बजेसम्म दैनिक हाजिर गरेर काम गर्ने व्यवस्था छ । समूहका सदस्य तोमानसिंह सारुका अनुसार हाजिरअनुसार धेरै काम गर्नेले धेरै फाइदा पाउँछन् भने थोरै काम गर्नेले थोरै नै पाउँछन् । समूहकी सदस्य लक्ष्मी घर्तीले गाउँका सबै मिलेर काम गर्दा रमाइलो हुनुका साथै कमाइ पनि हुने बताइन् ।

समूहका सदस्यहरूले नै उत्पादन भएको तरकारी बजारमा बेच्न लैजाने, बिउ उत्पादन गर्ने, सिँचाइ गर्ने, व्यवस्थापकीय काम गर्नेलगायतका जिम्मा पाएका छन् । गाउँपालिकाका कृषि प्राविधिक सन्तोष कर्णेलले समूहको काम देखेर आफू पनि प्रभावित भएको बताए । ‘यो माटो त्यति राम्रो छैन, ढुंग्यान छ, पानी पर्याप्त छैन तर उहाँहरूको मिहिनेतले राम्रो भएको छ,’ कर्णेलले भने, ‘उहाँहरूलाई प्राविधिक सहयोगको खाँचो छ ।’

पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर सारूले खुमडाँडामा गरिएको सामूहिक खेतीले प्रभावित बनाएको बताए । ‘हामीले अघिल्लो वर्ष कृिषका लागि जम्मा ५ लाख रुपैयाँ विनियोजन गरेका थियौँ, अहिले ७५ लाख विनियोजन गरेका छौँ, यो सबै कृषकको लगावका कारण भएको हो,’ उनले बताए ।

प्रतिक्रिया