भक्तपुर : भक्तपुरको चाँगुनारायण नपा ९ ताथलीस्थित डाँडापाटीका रामेश्वर बासी पैसा कमाउन २०५३ सालमा कुवेत गए। त्यहाँ कोरियाली कम्पनीमा हेल्परको काम गरे। २८ महिनासम्म काम गर्दा पनि सोचेजस्तो कमाइ भएन। घर फर्के। घरमा परिवारले बसिटिक्न दिएनन्।
६ महिनापछि फेरि साउदी अरेबिया पुगे। त्यहाँ चालकसँगै प्लान्ट अपरेटरको काम पाए। तलब कम थिएन। चर्को गर्मीबीच त्यहाँ चार वर्ष काम गरे। तर किन हो, विदेशमा काम गर्न चित्त बुझिरहेको थिएन। घर फर्के।
एक वर्षजति घरमै बसे। घर बस्दा पनि खाली हात कहिल्यै बसेनन्। पुर्ख्यौली जग्गाजमिन छँदै थियो। तैपनि विदेशमा गएकालाई परिवारले घरमै बसेर काम गरेको देख्न मनपराउँदैनन्। फेरि कामकै सिलसिलामा यूएईको दुबई पुगे। त्यहाँ साउदीमा गरेकै काम पाए। दुबई साउदीभन्दा कम गर्मी थिएन। त्यहाँ २६ महिना काम गरेर फेरि नेपाल फर्के।
यसपटक अलि बढी समय स्वदेशमै बसे। दुबईमा काम गर्दा त्यहाँका किसानले कृषि उत्पादनका लागि गरेको दुःखबाट रामेश्वर प्रभावित भएका थिए। उनले मनमनै स्वदेश फर्केर आफ्नै माटोमा केही गर्ने योजना बनाए। नभन्दै दुबईबाट फर्केपछि खुर्सानी टिपेर त्यत्तिकै राखिएको ड्याङमा काउली रोपे। केही सय रुपैयाँको काउली राम्रो भएर करिब १० हजार रुपैयाँ आम्दानी गरे।
डाँडापाटी क्षेत्रमा व्यावसायिक काउली रोपेर यति धेरै कमाइ गर्ने आफ्नो परिवार पहिलो भएको उनले दाबी गरे। एकपटक राम्रो आम्दानी भएपछि अर्को वर्ष पनि त्यहीँ खेती गरेको उनले सुनाए। ‘काउलीबाट फाइदा देखेर अरुले समेत सिको गरे’, उनले भने, ‘तर म घरमा टिक्न सकिनँ।’
उनी वैदेशिक रोजगारीकै लागि अफगानिस्तान पुगे। त्यहाँ अमेरिकी सेना मातहत रहेर साउदी र दुबईमा गरेकै कंक्रिट अपरेटरको काम गरे। त्यसबेला आन्तरिक द्वन्द्वमा फसिरहेको थियो अफगानिस्तान। यहाँ काम गरेबापत उनले महिनामा दुई लाखसम्म कमाउँथे। बीचमा घर आउजाउ पनि गर्थे। तैपनि त्यहाँ ४४ महिनाभन्दा बढी बस्न सकेनन्। अफगानिस्तानबाट उनी विदेश नजाने निश्चयसहित नेपाल आए।
नेपाल आएलगत्तै पुष्पखेतीबारे तालिम लिए। एक वर्ष त्यसकै तयारीमा जुटे। २०७२ सालमा एभरेस्ट फ्लोरिकल्चर एन्ड भेजिटेबल फार्म प्रालि दर्ता गरे। आफ्नै एक रोपनी जग्गामा व्यावसायिक पुष्पखेती सुरु गरे। एउटा टनेलमा जर्बेरा, कार्नेसजस्ता फूलका बिरुवा रोपे। नेपालमा व्यावसायिक पुष्पखेती अझै फस्टाउन सकेको छैन। अहिले पनि नेपाली बजार भारतबाट आयातित फूलले धानीरहेको छ। उनको उत्पादन बजारमा नजाने कुरै थिएन। माग बढेको बढ्यै भएपछि दुई रोपनीमा खेती विस्तार गरे।
दुई रोपनीमा पुष्पखेती विस्तार गरेपछि लगानी पनि करिब २५ लाख पुग्यो। ‘फूलको बीउ नेपालमा उत्पादन हुँदैन। सीधै विदेशबाट मगाउनुपर्छ’, उनले भने, ‘टनेल बनाउन पाइप, प्लास्टिक, झुललगायत सामग्री विदेशबाट ल्याउनुपर्ने बाध्यता छ।’
फूलमा रोगकीराले दुःख दियो भने उपचार गर्ने विषादीसमेत नेपालमा उत्पादन नभएको उनले गुनासो गरे। उनका अनुसार पुष्पखेतीका प्राविधिक नेपालमा हातका औंलामा गन्न पुग्ने पनि छैनन्। ‘व्यावसायिक पुष्पखेती महँगो छ’, व्यवसायी बासीले भने, ‘तर आम्दानी पनि कम छैन। खेती सुरु गरेको तीन वर्षमै लगानी पूर्ति भएर पनि १५ लाख रुपैयाँ चोखो कमाइ भयो।’
उनका अनुसार फूल फुल्न थालेपछि हप्तामा दुईपटक बजार लान ठिक्क हुन्छ। ‘दुई रोपनीमा फुलेको फूलबाट महिनामा करिब एक लाख कारोबार हुन्छ’, उनले थपे, ‘कारोबारको ३० प्रतिशत खर्च मानिए पनि ७० प्रतिशत चोखो आम्दानी हो।’
यति कमाइ गर्न आफैंले मेहनत गर्नुपर्ने उनको भनाइ थियो। पुष्पखेती अरु खेती जस्तो गाह्रो नभएकाले आफ्नै परिवारसँग मिलेर गर्न सकिने उनको भनाइ थियो। व्यवसायी बजारमा फूलको मूल्य स्थिर भए कमाइ अझ बढी हुने उनी बताउँछन्। बजार भाउसँगै फूलको मूल्य पनि बढे यसबाट कमाइ बढी हुने उनले स्पष्ट पारे।
‘जति बढी क्षेत्रफलमा फूल खेती गर्न सकिन्छ, त्यति नै बढी कमाइ हुन्छ’, उनले भने, ‘४० लाख रुपैयाँ लगानी थपेर चार रोपनीमा टनेल निर्माण गरिरहेको छु।’ त्यसमा जर्बेरा र कार्नेसनसँगै लिमोनियम, गुलाफ र स्टाटिक्स जातका व्यावसायिक फूल लगाउने उनले सुनाए। पुष्पखेतीको संरचनाको मात्रै बिमा गर्न सके व्यवसायी घाटामा नजाने उनको भनाइ थियो।
‘पुष्पखेतीमा करोडौं रुपैयाँको संरचना निर्माण गर्नुपर्छ’, उनी भन्छन्, ‘दुई वर्षअघि आएको हावाहुरीले काठमाडौं उपत्यकाका पुष्प व्यवसायीको करोडौंको संरचनामा क्षति पुग्यो। पुष्पखेतीको बिमा गर्न सके घाटा हुनबाट बच्न सकिन्छ।’
नेपालमै बीउ उत्पादन गर्न सके आम्दानी झनै बढ्ने व्यवसायीहरू बताउँछन्। दुई महिनाअघि नै बीउका लागि विदेश पैसा पठाए पनि बीउ पाउन कठिन भएको उनीहरूको भनाइ छ। बीउदेखि टनेलका सबै कच्चापदार्थमा परनिर्भर नेपालको पुष्पखेती परनिर्भर छ। सरकारी तहबाटै योजना बनाएर युवालाई यसमा आकर्षित गर्न सके रोजगारीका लागि बिदेसिने युवा र रुपैयाँ रोक्न सकिने व्यवसायी दाबी गर्छन्।