सिमकोट, हुम्ला — बारीमा गहुँ–जौ छरेको तीन महिना भइसक्यो । अझै टुसाएको छैन । हिमालमा अलिअलि मात्रै हिउँ छ । शुक्रबार पनि सिमकोट वरिपरि पातलो हिउँ पर्यो, बिलायो । हिउँदे बालीलाई पुग्ने जति परेन ।
हुम्लामा खेतीलाई हिउँकै भर छ । खेतबारीमा सि“चाइको व्यवस्था छैन । दर्के झरी पनि पर्न छोडेको छ । बाक्लो हिउँ परे मात्र बालीनाली फस्टाउने स्थानीय बताउँछन् । ‘बाक्लो हिउँ परेन, बारीमा गहुँ–जौ पनि उम्रेन,’ सिमकोट–७, डाँडाफायका लालबहादुर शाही भन्छन्, ‘हरियो भइसक्नुपर्ने बारी मरुभूमिजस्तो छ ।’
पाँच वर्षअघि जस्तो हिउँ अचेल परेको छैन । परे पनि फासफुस मात्र हुन्छ, जमिन बेसरी भिजाउँदैन । ‘अस्ति अलिअलि हिउँपर्याथ्यो, उतिबेलै बिलायो, बारी भिजेन,’ शाहीले भने । छिट्टै हिउँ नपरे यो वर्ष हिउँदे बाली नफल्ने पीर छ उनलाई । हिउँदे बाली भएन भने हुम्लीका दुःखका पहाड झन् अग्लिँदै जानेछन् ।
बारीमा अन्न फल्न कम हुँदै गएको छ । सिमकोटस्थित नेपाल खाद्य संस्थानको डिपोमा पनि भनेजति चामल पाइँदैन । बारीमा फलेन र किन्न पनि पाइएन भने हालत के होला ? डाँडाफायकी हिराकला शाहीसँग पनि यो प्रश्नको उत्तर छैन । भन्छिन्, ‘घरमा केही भए खाने, नभए भोकै बस्ने ।’
पुसमा जति बाक्लो हिउँ पर्यो, हिउँदे बाली उति राम्रो हुन्छ । यसभन्दा ढिला हिउँ परे, बाली सप्रिँदैन । राम्रो बाली भएको वर्ष चार महिना मुस्किलले खान पुग्छ । बाँकी नौ महिना खाद्य संस्थान र नेपाल–चीन सीमा बजार हिल्साको खाद्यान्नको भर पर्नुपर्छ ।
डाँडाफायका वडा सदस्य जयबहादुर शाहीको अनुभव छ, ‘उवा जौ, गहुँ नउम्रिँदा थप खाद्य संकट हुन्छ । केही वर्ष अघिसम्म पाँच फिट हिउँ पथ्र्यो, बालीनाली पनि राम्रो हुन्थ्यो ।’ हुम्लाका माथिल्लो भेगको बारीमा एक बाली मात्र फल्छ । पछिल्ला वर्ष झन् समस्या पर्न थालेको उनको अनुभव छ ।
जलवायु परिवर्तन भएपछि स्थानीयको जनजीवनमा प्रतिकूल असर परेको छ । समयमा हिउँ र पानी नपर्दा बाली सप्रिएको छैन । हिउँ कम परेका कारण पानीका स्रोत सुक्न थालेका छन् । गाईबस्तुका लागि जंगलमा पनि पर्याप्त घाँस छैन ।
जलवायु परिवर्तनले गर्दा हिउँ र पानी पर्ने क्रममा तलमाथि भएपछि स्थानीय सरकार र यूएनडीपीले जीविकोपार्जन सहज पार्ने उपाय खोज्न थालेका छन् । सिँचाइ नहर निर्माण गरी खेती, चिसो मौसममा ग्रिन हाउसभित्र तरकारी खेती, व्यावसायिक स्याउ खेती सुरु भएको छ । नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम स्थानीय जिल्ला संयोजक दीपेश घिमिरेले हिउ“ नपरेका कारण खेतीमा परेको असर स्थानीयले बुझ्न थालेको बताए ।
‘जलवायु परिवर्तनलाई आफ्नो अनुकूल बनाउन सक्नु अहिले यहाँको चुनौती हो । यसका लागि वातावरण परिवर्तनसँगै खेतीपाती परिवर्तन गर्न आवश्यक देखिन्छ,’ उनले भने, ‘हिउँ र पानी कम पर्दा पनि उत्पादन हुने खेती लगाउन प्रयास गरेका छौं ।’
स्थानीयको सिधा बुझाइ छ, ‘हिउँ परेन भने बाली सप्रिँदैन ।’ यसैसँग जोडेर स्थानीय तहले वन जोगाउने अभियान चलाएका छन् । कम दाउरा प्रयोग हुने चुलो प्रयोग, हिमाली क्षेत्रमा वृक्षरोपण अभियान चलेको छ । यो सबै केही सुगम गाउँमा चलेको छ । सिमिकोट गाउ“पालिका–७ मा सिँचाइ कुलो निर्माण भएपछि धान उत्पादन केही बढेको उनीहरूको भनाइ छ ।
समुद्र सतहदेखि करिब २५ सय मिटर उचाइको हुम्लास्थित कर्णालीकिनार धान खेती हुने माथिल्लो भेग हो । यहाँ स्थानीय जातको धान फल्न थालेपछि त्यसले कम्तीमा केही दिन खान पुगेको छ । ‘कुलो निर्माण भएपछि धान अलि बढी फलेको छ, यसले केही दिन भए पनि स्थानीय स्वाद दिन्छ,’ स्थानीय जलबहादुर शाहीले भने ।
जल तथा मौसम विज्ञान विभागका महानिर्देशक ऋषिराम शर्माले पश्चिमी वायु नेपाल प्रवेश गर्न ढिला भएकाले हिमाली क्षेत्रमा नपर्ने र तल्लो भेगमा पानी नपर्ने बताए । ‘हिउँ पर्न कम भएको भन्नुभन्दा एउटै समयमा नपरेको हो,’ उनले भने, ‘पश्चिमी वायु नआएकाले हिमालमा हिउँ पनि कम परेको हो ।’
काठमाडौं विश्वविद्यालयका प्राध्यापक एवं वातावरणविद् रिजनभक्त कायस्थ वातावरण परिवर्तनले हिमाली क्षेत्रमा छिट्ट्रै हिउँ पग्लने अवस्था देखिएको बताए । तापक्रम बढदा सुक्खापन बढदै गएको बताउ“छन् । जसका कारण स्थानीयको जनजीवनमा असर परेको छ ।
यस्तो बेला परिवर्तित वातावरणमा अनुकूल हुने काम गर्नुपर्ने उनको सुझाव छ । ‘वातावरण परिवर्तनको असर हिमाल, पहाड, तराई सबैतिर परेको छ,’ उनले भने, ‘ती क्षेत्रमा वातावरण अनुकूल काम गर्नुपर्छ । त्यहीअनुसार खेतीपाती, रहनसहन, बासोबास गर्नु उचित हुन्छ ।’ मुख्यगरी वनजंगल वृद्धि, पानीको स्रोतको संरक्षण र सदुपयोगमा ध्यान दिनुपर्ने उनको सुझाव छ ।