काठमाडौं / नेपाली औषधि उत्पादक कम्पनीको अक्षमताका कारण पुनर्जलीय झोल (जीवनजल) को अभाव भएको छ । एक वर्षअघि नै दिनुपर्ने सम्झौता भए पनि नेपाली औषधि उत्पादक कम्पनी सिटिएल फर्मास्युटिकल्सले उत्पादन गर्न नसक्दा देशभर पुनर्जलीय झोलको अभाव भएको हो । नेपालका औषधि उद्योगको उत्पादन क्षमता नहुँदा प्रत्येक वर्ष अत्यावश्यक औषधिको अभाव हुने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
व्यवस्थापन महाशाखाका अनुसार नेपाली औषधि उत्पादक कम्पनीको अक्षमताले हरेक वर्ष अत्यावश्यक औषधिको अभाव हुने क्रम जारी छ । सम्झौता भएको वर्षौँ बितिसक्दासमेत नेपाली कम्पनीले पूरा औषधि दिन सकेका छैनन् । जसले गर्दा स्वास्थ्य संस्थामा निःशुल्क पाइने औषधिको अभाव हुँदै गएको हो । महाशाखाका एक उच्च अधिकारीले भने, ‘अधिकांश औषधि उत्पादक कम्पनीले समयमा औषधि दिन सकेका छैनन् । अहिलेसम्म कुनै पनि कम्पनीले जरिवाना नलागेसम्म औषधि दिएका छैनन् ।’
औषधि व्यवस्था विभागका निर्देशक रमेश अधिकारीले औषधि दिन धेरै ढिला भइसकेको बताए । ‘औषधि खरिदका लागि टेन्डर हाल्न छाडिसके,’ उनले भने, ‘सम्झौताअनुसारको औषधि छिटो दिन पत्र पठाएका छौँ । कतिपयले समय थप गर्न आग्रह गरेका छन् ।’
उत्पादन क्षमता अभाव
सरकारले प्रत्येक वर्ष निःशुल्क वितरण गर्ने विभिन्न ७० प्रकारका औषधि खरिद गर्दै आएको छ । त्यसका लागि वार्षिक १ अर्ब ५० करोड रुपैयाँ खर्च हुन्छ । तर, नेपाली कम्पनीमा यति औषधि उत्पादन गर्न सक्ने क्षमता पनि नदेखिएको महाशाखाले जनाएको छ । सरकारले नेपाली औषधि उद्योगलाई विदेशी कम्पनीलाई भन्दा १५ प्रतिशत सस्तोमा टेन्डर हाल्ने व्यवस्था गरेको भए पनि नेपालका कम्पनीले सकेका छैनन् । कतिपय कम्पनीले टेन्डर पारेका छन् तर विभिन्न बहानामा औषधि दिएका छैनन् ।
जीवनजल अभाव
सिटिएल फर्मास्युटिकल्सले ०७३/०७४ मा १ करोड पुरिया पुनर्जलीय झोल (जीवनजल) खरिद गर्ने जिम्मा पायो । सम्झौताअनुसार २०७५ वैशाख ४ भित्र उसले सबै बुझाउनुपर्ने थियो । तर, फर्मास्युटिकल्सले समय अवधिभित्र ४८ लाख ७३ हजार २ सय पुरिया मात्रै जीवनजल उत्पादन गरेको छ । पटक–पटक म्याद थप गर्दा पनि उत्पादन गर्न नसकेको भन्दै महाशाखाले फर्मास्युटिकल्सलाई ६० लाख जरिवानासमेत गरिसकेको छ । उसले अझै ५१ लाख २६ हजार ८ सय पुरिया जीवनजल दिन बाँकी छ । मौज्दात राखिएको जीवनजल पनि सकिएको छ ।
पारासिटामोल पनि अभाव
नेपाली औषधि उत्पादक कम्पनीले अति महत्वपूर्ण मानिने पारासिटामोल उत्पादन गर्न नसकेपछि सरकारले भारतीय कम्पनीलाई खरिदको अनुमति दिएको छ । केन्द्रबाट १२ करोड खरिद भएको पारासिटामोल भारतको बाल फर्मास्यूटिकल्स प्रालिलाई दिएको छ । उसले पहिलो किस्तामा ८ करोड १२ लाख ५० हजार ट्याब्लेट दिएको छ । महाशाखाका अनुसार कारबाहीसहित जरिवाना लाग्न थालेपछि कतिपय नेपाली उद्योग औषधि खरिदका लागि टेन्डरमै सहभागी हुन छाडेका छन् ।
गत वर्ष सुमी फर्मास्युटिकल्सले कोलेस्ट्रोलको १ करोड ८० लाख ट्याब्लेट ल्याउने सम्झौता गरेको थियो । तर, अहिलेसम्म औषधि बुझाएको छैन । उत्पादनमा रहेको मात्रै जानकारी गराएको छ ।
नेपाली औषधि उद्योगले विदेशबाट आयात हुने औषधिमा प्रतिबन्ध लगाई स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन् । तर, उनीहरूको क्षमता हेर्ने हो भने सरकारले खरिद गर्ने औषधि मात्रै पनि उत्पादन गर्न सक्ने अवस्था नरहेको महाशाखाका अधिकारी बताउँछन् ।