धनकुटा / मलिन अनुहारमा कक्षा कोठामा देखिएकी सात वर्षीया विनिसा राई भोकै विद्यालय जान्छिन् । त्यो पनि नगरपालिकाभित्रै रहेको विद्यालयमा उनी अध्ययनरत छिन् ।
धनकुटा नगरपालिका ८ सान्ताङस्थित देउराली आधारभूत विद्यालयमा तीन कक्षामा अध्ययनरत उनी अघिल्लो दिन बेलुकी जाउलो खाएको भरमा भोकै विद्यालय पुगेकी हुन् ।
बिहानै बाबुआमा मजदुरीमा जाने गर्दा भोकै विद्यालय धाउनु परेको विनिसाले बताइन् । ‘म धेरैजसो सधैं बिहान भोकै स्कुल आउने गर्छु’, उनले भनिन्, ‘घरबाट हिँडेदेखि नै भोक लागिरहेको हुन्छ ।’ बाबु विवलाल र आमा निरकुमारीले उनको पढाइ लेखाइबारे जानकारी लिने कुरा टाढाको हो, खानेकुराको समेत ख्याल गर्न नसक्ने उनले सुनाइन् ।
पढेर ‘ठूलो मान्छे’ हुने चाहना रहेको बताउने उनी भोकभोकै विद्यालय पुग्दा कहिलेकाहीं असहय हुनेगरी पेट दुख्ने गरेको बताउँछिन् । शिशु कक्षामा अध्ययन गर्ने विनिसाकी ३ वर्षीया बहिनी जेनिसा समेत भोकै विद्यालय पुग्छिन् ।
त्यहाँ अध्ययन गर्ने एक चौथाइभन्दा बढी बालबालिका बिहान खाना नखाई भोकै विद्यालय जाने गरेको टिथलाग्दो अवस्था छ ।
शतप्रतिशत आठपहरिया जातिका बालबालिका उक्त विद्यालयमा अध्ययनरत रहेको प्रधानाध्यापक यमबहादुर बस्नेतले जानकारी दिए । अधिकांश भोकै विद्यालय आउने गरेको उनले बताए । १३ वर्षदेखि उक्त विद्यालयमा अध्ययनरत बस्नेतले आफूले थाहा पाएदेखि नै अधिकांश बालबालिका भोकभोकै विद्यालय जाने गरेको सुनाए ।
तीन कक्षामा अध्ययनरत ८ वर्षीया रेश्मा राई पनि बिहान भोकै कक्षा कोठामा भेटिइन् । विद्यालयबाट आधा घण्टा दूरीमा रहेको डाँडाटोल घर भएकी उनी पनि बेलुकी मात्र खाएको खानाका भरमा थिइन् । स्कुल पुग्न ढिलो भएकाले भोकै आएको हो, उनले भनिन्, ‘कक्षामा नै भोक लागेर पेट दुख्ने गरे पनि टिफिनमा स्कुलले खाजा दिएपछि भोक मेटिन्छ ।’
२ कक्षाकी कोशिका राईले बिहान बासी भातको भरमा आधा घण्टाको दूरीमा रहेको विद्यालय धाउने गरेको बताइन् । शिक्षिका लक्ष्मीदेवी विश्वकर्माका अनुसार आधाजसो बालबालिका भोकै विद्यालय जाने गरेका छन् । कतिपय बालबालिकाले नुनपानी पिएकै भरमा विद्यालय आउने उनले सुनाइन् ।
कक्षा कोठामा पेट दुख्ने समस्याका धेरै छात्रछात्रा हुने गरेको अर्की शिक्षिका टिका कार्कीले बताइन् । अधिकांश बालबालिका भोकभोकै आउन थालेपछि विद्यालयले टिफिनको व्यवस्था गरेको प्रधानाध्यापक बस्नेतले बताए । ८ कक्षासम्म अध्ययनरत हुने उक्त विद्यालयमा १ सय ३६ विद्यार्थी अध्ययनरत छन् । खाजाको प्रबन्ध गर्न बजेट नभएपछि वडा कार्यालयमार्फत वार्षिक १ लाख रकम उपलब्ध हुने उनले जानकारी दिए ।
चाउचाउ, बिस्कुट जस्ता खानेकुरा खुवाउने गरिएको छ । पकाएर खुवाउने खाजा व्यवस्था गर्न नसकिएकाले यस्ता खानेकुरा उपलब्ध गराइएको बस्नेतले बताए । भोकभोकै विद्यालय आउने अधिकांश बालबालिका सीमित रूपमा उपलब्ध टिफिनका भरमा भोक मेटाउन बाध्य छन् ।