सिमरा / बाराको जितपुर सिमरा उपमहानगरपालिका १५ सुन्दरवस्तीस्थित रहेको एक्स–सर्वीसमेन चिल्ड्रेन एकेडेमीका विद्यार्थीले विद्यालयमा भर्ना भएसँगै लक्ष्य लिएर अध्ययन सुरु गर्छन् ।
विद्यालयमा अध्ययनरत कलिला उमेरका विद्यार्थीले भविष्यमा के बन्ने लक्ष्य सोमबार एक कार्यक्रममा सार्वजनिक गरे । विद्यालयमा आयोजित नागरिक अभिनन्दन तथा विद्यालय भवन उदघाटनमा उनीहरूले आआफ्नो लक्ष्य सार्वजनिक गरेका हुन् ।
सोही विद्यालयमा कक्षा १ मा अध्यनरत छात्रा चाहना तामाङको लक्ष्य अरूभन्दा फरक छ । उनी पढेलेखेर सबैको राजाइ जस्तो डाक्टर, इन्जिनियर बन्न चाहदिनन् । ‘म ठूलो भएर नेपालको पहिलो महिला प्रधानमन्त्री बन्न चाहन्छु,’ उनले भनिन्, ‘यही एम लिएर अघि बढ्दै छु ।’
चाहनाको जटिल लक्ष्य सुनेर कार्यक्रममा उपस्थित सबै अतिथि सहभागी आश्चर्यमा परेका थिए । यति कम उमेरमा प्रधानमन्त्री बन्ने उनको धोको कसरी पूरा हुने हो ? सबै अतिथि सहभागिलाई चिन्तित बनायो ।
उनी मात्र होइन, उनी जस्तै उनका सहपाठीहरूले पनि ठूलो भएर आ आफ्नो लक्ष्य सार्वजनिक गरेका थिए । कक्षा १ मा अध्यनरत विद्यार्थी अनिन्ध साहको लक्ष्यले पनि सबैलाई स्तब्ध बनायो । सामान्य परिवारमा जन्मेका अनिन्धलाई मुकेस अम्बानी, बिनोद चौधरी जस्तै विश्व प्रख्यात बिजनेस म्यान चाहना उनको छ ।
‘पढेलेखेर ठूलो भई विश्व प्रख्यात बिजनेस म्यान बन्छु,’ उनले भने, ‘बिजनेस म्यान बनेर देशको अर्थतन्त्र मजबुत पार्छु ।’ उनको लक्ष्य सुनेर सहभागी अथितिले शुभकामना समेत दिए ।
उनीहरू जस्तै केहीले फोग्राफर, फिल्म डाइरेक्टर, कोरियोग्राफर, डाक्टर, इन्जिनियर, सगीतकार, पाइलट, पुलिस अफिसर, क्रिकेटर, फुटबल खेलाडी, न्युज रिपोर्टर, वैज्ञानिक, सामाजिक कार्यकर्ता लगायत बन्ने लक्ष्य सार्वजनिकगरेका थिए ।
उक्त विद्यालयमा अध्ययनरत युकेजी कक्षामा अध्ययनरत विद्यार्थीदेखि २ कक्षमासम्म अध्ययनरत १२ जना विद्यार्थीले भविष्यमा ठूलो भएर बन्ने लक्ष्य सार्वजनिक गरेका थिए । अहिलेदेखि नै विद्यार्थीले निधो गरेको लक्ष्य भविष्यमा पूरा होस् भन्दै नेपालका लागि भारतीय राजदूत मंजित सिंह पुरीले शुभकामना दिए । ‘हामीले स्कुलमा पढदा अहिलेका विद्यार्थी जस्तो लक्ष्य निर्धारण गर्न सकेका थिएनौं,’ उनले भने, ‘बच्चाहरूको स्पीचले आफूलाई बाल्यकालको सम्झना गरायो ।’ उनीहरूको लक्ष्य प्राप्तिका लागि अभिभावक र शिक्षक दुबैले समयमै ध्यान दिएर सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।
राजदुत पुरीले नेपाल र भारतको सम्बन्ध भावनात्मक सम्बन्ध नभई बेटीरोटीको सम्बन्ध भएको बताए । ‘नेपालको अन्य क्षेत्रभन्दा यस क्षेत्रको भविष्य उज्वल छ,’ उनले भने, ‘यो क्षेत्र अर्थतन्त्रको हब बन्दै गएको छ ।’ अर्थतन्त्रले नै देशको भविष्य निर्धारण गर्ने गरेको उनको भनाइ थियो ।
वद्यालयका प्रिन्सिपल शंकर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वीरगन्जस्थित भारतीय महावाणिज्यदूतावासका महावाणिज्य दूत रमेश चतुर्वेदी लगायतको उपस्थिति थियो । उक्त अवसरमा विद्यार्थीले गोर्खाली सेनाको पीडालाई चित्रण गर्ने नाटक, अतिथि सम्मानमा परेड समेत प्रस्तुत गरेका थिए ।