चितवन / ज्ञानिता राईको पेसा नै शिक्षण हो । उनी चेपाङ गाउँमा पढाउँछिन् । पढाउने मात्रै होइन, ज्ञानिता चेपाङलाई शिक्षामा अगाडि बढाउन आफ्नो तलबसमेत खर्च गर्न अग्रसर हुन्छिन् ।
ओखलढुंगामा जन्मे/हुर्केकी ज्ञानिताको चितवनको पहाडी भेगमा आदिवासी समुदाय चेपाङसँग राम्रैसँग साइनो गाँसिएको छ । उनले बिहे नै चेपाङ युवासँग गरिन् । चेपाङ बहुल पहाडी गाउँ सिद्धिका भरत चेपाङ उनका श्रीमान् हुन् ।
तत्कालीन सिद्धि गाविस चेपाङको अत्यधिक बसोबास भएको क्षेत्र हो । अहिले कालिका नगरपालिकाको १० र ११ नम्बर वडामा पर्ने सिद्धिमा बाटो, बिजुली, सञ्चार लगायतका पूर्वाधार बल्ल पुग्दै छन् । सिद्धिमा एउटा मात्रै माध्यमिक तह (कक्षा १० सम्म) पढाइ हुने विद्यालय छ । तीन दोभानको त्यही विद्यालयको आडमा छ भरत चेपाङको घर । तर विद्यालय खुलेको धेरै भएको छैन । त्यसैले उनी गाउँदेखि निकै पर गएर मावि तह पढे ।
खैरहनीको करैयामा रहेको अन्त्योदय आदिवासी जनजाति विद्यालयको छात्रावासमा बसेर १० जोड दुईसम्म पढेका भरतसँग ज्ञानिताको भेट पाँच वर्षअघि भएको हो । घर ओखलढुंगा भए पनि ज्ञानिता धरानमा मामाघर बसेर पढेकी हुन् । उनी शिक्षक सेवा आयोगको परीक्षाको सिलसिलामा चितवन आएकी थिइन् । त्यही बेलामा भरत र उनको भेट भयो । त्यसको केही समयपछि ०७० सालको असार मसान्त भरत र ज्ञानिताले बिहे गरे ।
जहाँ भरतले पढेका थिए त्यही विद्यालय अर्थात् अन्त्योदयमा ज्ञानिताले पढाउन सुरु गरिन् । त्यसपछि अहिले उनी सिद्धिको निबुवाटार आधारभूत विद्यालयमा प्रथामिक तहमा अंग्रेजी विषय पढाउँदै आएकी छन् । निबुवाटार घरदेखि आधा घण्टा पर छ । घरको आडको विद्यालयमा ६ देखि १० कक्षासम्म पढाइ हुन्छ । विद्यालयको नाम मझवाङ मावि हो । मझवाङमा ०३५ सालमै स्कुल खुलेको हो । तीन दोभानदेखि दुई घण्टा ठाडो उकालो हिँड्नुपर्छ मझवाङ । त्यहाँ कक्षा पाँचसम्म मात्रै पढाइ हुन्छ । ०६७ सालपछि मझवाङ स्कुलले तीन दोभानमा मावि तहको पढाइ सुरु गरेको हो । ‘सिद्धिभरिमा मावि तहको पढाइ हुने स्कुल यही एउटा मात्रै हो । कक्षा तीनसम्म र कक्षा पाँचसम्म पढाइ हुने स्कुल भने सातवटा जति छन्,’ प्रधानाध्यापक फणीन्द्र पनेरूले भने ।
सिद्धिका बालबालिका अन्य स्कुलमा कक्षा पाँच पढेपछि ६ पढ्न तीन दोभान झर्नुपर्ने हुन्छ । तीनदोभानबाट एक घण्टादेखि साढे तीन घण्टासम्म टाढा रहेका गाउँहरूबाट विद्यार्थी पढ्न आउँछन् । त्यसैले टाढा भएका कारण बीचमै पढाइ छाड्ने वा पाँच पढेपछि पढ्नै नआउने समस्या त्यहाँ चर्को छ । यो समस्या हटाउन तीनदोभानमा छात्रावास राख्ने चर्चा बेलाबेलामा उठ्ने गर्छ । एउटा सामाजिक संस्थाले छात्रावासका लागि भवन बनाइदियो ।
‘संस्थाले स्कुलका लागि भनेर छात्रावास भवन निर्मण गर्दिएको थियो । गत वर्ष माघ, फागुन र चैत्रमा हामीले विद्यार्थी राखेर पढायौं पनि तर भवन भए पनि अन्य खर्च जुटाउन साह्रै गाह्रो भयो । त्यसैले यो वर्ष चलाएनौं,’ प्रधानाध्यापक पनेरूले भने । भवन बने पनि छात्रावास चलाउन नसकेको खबर सुनेपछि ज्ञानिताको मन कुँडियो । उनले भरतसँग सल्लाह गरिन् । छात्रावासमै बसेर पढेका भरत पनि केही गर्नुपर्छ भन्ने निधोमा पुगे ।
‘स्कुलमा सरहरूसँग सल्लाह गर्यौं । तत्कालका लागि दुई लाख रुपैयाँ भए सुरु गर्न सकिने रहेछ । यो सुन्नासाथ ज्ञानिताले आफूले जम्मा गरेको एक लाख रुपैयाँ तुरुन्तै दिइन्,’ भरतले भने । त्यसपछि एक लाख रुपैयाँ खोजेर गएको असोजदेखि फेरि छात्रावास सञ्चालनमा आयो । विभिन्न तरिकाले सरसहयोग जुटाएर कपडा, खाद्यान्नको जोहो गर्दै आएका छन् । छात्रावासमा अहिले ६ देखि १० सम्म पढ्ने २० बालिका र १६ बालकहरू छन् ।
शर्मिला चेपाङको घर स्कुलबाट साढे तीन घण्टा पर छेरवाङ गाउँमा छ । घरदेखि आउने/जाने गर्दा निकै गाह्रो थियो । जंगल र उकालो बाटो हुँदै स्कुलबाट घर जाँदा रात पनि पर्दथ्यो । कक्षा आठमा पढदै गरेकी शर्मिलालाई गाउँ छिमेकाहरूले यस्तो दु:ख सहेर पढ्नु पर्दैन भन्न थालेका थिए । तर छात्रावास सञ्चालन भएपछि उनले ओहोरदोहोरको कष्टबाट छुटकारा पाएकी छन् ।
अंग्रेजी पढेको हुँदा ज्ञानिताले समय मिलाएर छात्रावासका विद्यार्थीलाई अंग्रेजी र गणित पढाउने गरेकी छन् । ‘छात्रावासमा बसेका विद्यार्थीलाई पहिला परीक्षामा चार/पाँचवटा विषय लाग्दथ्यो । अहिले गणित र अंग्रेजीबाहेक अरूमा राम्रो गरेका छन् । कमजोर विषयमा ज्ञानिताले स्कुल समयपछि पनि पढाउने गरेकी छन्,’ भरतले भने ।
भरत गाउँमा सानो पसल चलाउँछन् । कपडा र खाद्यन्नबाहेक तरकारी, तेल, मसला र कहिलेकाहीँ कापी–किताब पनि किन्नुपर्छ । यसका लागि ज्ञानिताले सहयोग गरेको भरतले बताए । ‘चार/चार महिनामा तलब बुझ्ने गर्छिन् । तलब बुझेको दिन दुई महिनाको तलब छात्रावासका लागि भएको खर्च तिर्दा सकिन्छ,’ भरतले भने ।
पहाडी पखेरामा बस्ने भएका कारण चेपाङहरू शिक्षासहित धेरै क्षेत्रमा पछाडि परेका छन् । ‘शिक्षा नै भएन भने मान्छे सधैं पछाडि हुन्छ । आफू यही समुदायमा जोडिएपछि सकेको केही गरौं भन्ने लागेर सानै भए पनि सहयोग गरेकी हुँ,’ ज्ञानिताले भनिन् । भरत छात्रावासलाई अझै व्यवस्थित बनाएर लैजाने योजानामा छन् । स्कुल र नगरपालिकासँग सरसल्लाह भइरहेको उनले बताए ।