तेह्रथुम — जंगली जडीबुटीको मूल्य आकासिएसँगै किसानहरूले सामुदायिक वनमा व्यावसायिक जडीबुटी खेती सुरु गरेका छन् ।
प्राकृतिक रूपमा जंगलमा संकलन गरीएको जडीबुटीले पछिल्लो समय राम्रो मूल्य पाउन थालेपछि तेह्रथुम र सीमावर्ती संखुवासभाका दर्जन बढी सामुदायीक वन समुहले एकैसाथ जडीबुटीको व्यावसायिक खेती सुरु गरेका हुन् ।
सामुदायिक वन क्षेत्रका खाली जग्गामा उपभोक्ताले दर्जनौं प्रजातिका जडीबुटी खेती सुरु गरेका छन् । कालिका सामुदायिक वन समुहका उपभोक्ता भीम गुरुङ जंगलमा संकलन गरेको जडीबुटीले राम्रो आमदानी हुन थालेकाले व्यवसायिक रुपमा खेती विस्तार गरिएको बताउँछन् ।
ग्रामीण क्षेत्रका किसानको जीवनस्तर उकास्ने अभियानका साथ जडीबुटीको व्यावसायिक खेती सुरु गरिएको उनको भनाइ छ । जडीबुटी खेतीलाई व्यवस्थित गर्न उपभोक्ताले ‘तीनजुरे गैरकाष्ठ वन पैदावर नेटवर्क’नामक संस्थासमेत सञ्चालनमा ल्याएका छन् ।
पहिले जंगलमा घाँस दाउरा गरेर दिन विताउने गाउँका महिलासमेत अहिले जडीबुटीको व्यावसायिक खेतीमा लागेका छन् । सामुदायिक वनमा उपभोक्ताहरूले चिराइतो, मजिठो, सुनाखरी, लौठसल्ला, ठूलो ओखती, पाखनवेद, लोक्ता, अर्गेली, चिङफिङ, टिमुर, जिम्मु, जरिङ्गो,वन लसुन, अल्लो, पात्ले सिस्नु लगायतका दर्जनौं प्रकारका जडीबुटीको खेती गरेका छन् ।
वन स्रोतमाआश्रित उपभोक्ताले सामुदायिकवनमा जडीबुटी खेती सुरु गरेपछि त्यसबाट आएको आम्दानीले जीविकोपार्जनमा सहयोग पुगेको चैते सामुदायिक वन उपभोक्ता समूहका पूर्वसचिव ज्ञानेन्द्र बस्नेतले बताए । ‘जडीबुटीले राम्रै फाइदा हुँदोरहेछ,’ उनले भने ।
सामुदायिक वनमा जडीबुटी खेती सुरु भएपछि गाउँका धेरै महिलाले स्थानीय स्तरमै रोजगारी पाएको सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष गणेश सेनेले वताए । उनका अनुसार गाउँका महिला र बूढाबूढी समेत जडिबुटी खेतीतर्फ आकर्षित भएका छन् ।
जिल्ला वन अधिकृत सुनीलकुमार सिंहले सामुदायिक तथा निजी वन क्षेत्रमा जडीबुटी खेतीको प्रचुर सम्भावना रहकाले यो खेतीलाई सहयोग गरिएको बताए । जिल्लाका सम्पूर्ण सामुदायिक वनमा जडीबुटी पाइने भएकाले हावापानी सुहाउँदो जडीबुटीको खेती गर्न किसानलाई प्रोत्साहित गरिएको सिंहको भनाइ छ । सामुदायिक वनमा जडीबुटीको उत्पादन बढ्न थालेपछि व्यवसायी तथा विभिन्न कम्पनीले जंगल मै आएर जडीबुटी खरिदका लागि चासो देखाएका छन् ।
सामुदायिक वनमा उत्पादित जडीबुटीले राम्रो बजार पाएपछि आलु र मकै मात्र खेती हुने पहाडी क्षेत्रका हजारौ रोपनी जमिनमा कृषकले जडीबुटी खेती सुरु गरेका छन् ।
टुटे देउराली, चौकी, मंगलबारे,श्रीमाने, पाँचपोखरी, ओख्रे लगायतका स्थानका मकै र आलु फल्नेजग्गा मासेर किसानले जडीबुटीको खेती सुरु गरेका हुन् । जडीबुटीमध्ये चिराइतो, लोक्ता, अर्गेली र अल्लोको मूल्य राम्रै छ ।