विद्यालयमै धामीझाँक्री
शिक्षाखबर डेस्क
१३ फाल्गुन २०७५, सोमबार
no immg

रोल्पा/रुकुमपूर्व / लिबाङको रेउघास्थित पिताराज आधारभूत विद्यालयका विद्यार्थी काम्न थालेपछि धामीझाँक्री लगाइएको छ । अस्पतालमा उपचार गराउँदा निको नभएको जनाउँदै धामीझाँक्री गराएको विद्यालयले जनाएको छ ।

छात्रछात्रा नियमित बिरामी हुने, बेहोस हुने र काम्न थालेपछि विद्यालय परिसरमै धामी लगाएर कालो बोका बलि चढाइएको थियो । केही साताअघिदेखि छात्रछात्रा बिरामी छन् ।

प्रधानाध्यापक लीला आचार्यले गाउँले र विद्यार्थीको मागअनुसार वैकल्पिक उपाय स्वरूप धामी बोलाएको बताइन् । धामीझाँक्रीले देवीदेवताको पूजा गरेका थिए । फूल र अक्षतासहित विद्यार्थी र अभिभावकलाई परिसरमा उपस्थित गराइएको थियो । धामीले मन्त्र जपेर बोकाको बलि चढाए । एक दर्जनभन्दा बढी छात्रछात्रा बिरामी परेका छन् ।

रोल्पा अस्पतालका स्वाथ्यकर्मी चन्द्र घर्तीमगरले गत वर्षजस्तै एक दर्जन विद्यार्थी दुई महिनादेखि बिरामी परेको बताए । गाउँलेले बालबालिका सञ्चो बनाउन आग्रह गरेपछि परिसरमा दुई पटक धामी बोलाइएको विद्यालयले जनायो । दोस्रोपटक धामीले बोका चढाउन लगाएका थिए ।

रोल्पा नगरपालिका–२ का वडा अध्यक्ष खिमबहादुर घर्तीमगरले अभिभावकको आग्रहपछि धामी बोलाइएको बताए । त्यसअघि रोल्पा अस्पतालबाट चिकित्सक बोलाएर उपचार गराइएको थियो । निको नभएपछि धामीझाँक्रीलाई बोलाउनु परेको उनले बताए । स्थानीय स्वास्थ्यकर्मी केबी डाँगीले छात्रछात्रालाई मनोपरामर्शको आवश्यकता भएको बताए । ‘विविध कारणले मानसिक तनाव हुन्छ । त्यसकारण मनोपरामर्श शिक्षा दिनु आवश्यक छ,’ उनले भने ।’

केही समयअघि सदरमुकामकै बालकल्याण नमूना विद्यालयमा धामी बोलाइएको थियो । विद्यालय र व्यवस्थापन समितिले रातिको समयमा धामी बोलाएर काम्न लगाएका थिए । एक शिक्षकका अनुसार विद्यार्थी र अभिभावककै आग्रहपछि बर्सेनि धामी बोलाउनु पर्ने बाध्यता छ । गत वर्ष सुनीलस्मृति गाउँपालिकास्थित खुंग्रीको हिलेमा रहेको विद्यालयका तीन महिनाभन्दा बढी दर्जर्नौं विद्यार्थी बिरामी भएपछि धामी बोलाइएको थियो । स्रोतव्यक्ति केशवराज पोखरेलले विद्यालयमा धामी बोलाएपछि विद्यार्थी काम्न छाडेको बताए ।

९० विद्यार्थी बिरामी
पूर्वी रुकुमको एक विद्यालयमा ९० भन्दा बढी विद्यार्थी बिरामी परेका छन् । पुथाउत्तरगंगा गाउँपालिका–६ मयाङस्थित जनजागृति आधारभूत विद्यालयका छात्रछात्रा बिरामी भएका हुन् । ४ दिनको अवधिमा उनीहरू धमाधम बिरामी परेपछि शिक्षक तथा अभिभावक आत्तिएका थिए । टाउको दुख्ने, बान्ता गर्ने, ज्वरो आउने र रुघाखोकी लाग्ने समस्या देखिएको छ ।

एकपटक तीन दर्जनभन्दा बढी विद्यार्थीले बिरामी बिदा लेखेर निवेदन पठाएपछि आत्तिएको प्रध्यानाध्यापक चेतकुमार सेनले बताए । विद्यालय नजिकै रहेको सामुदायिक स्वास्थ्य इकाइ बन्द रहेको र अरू स्वास्थ्य संस्था टाढा भएका कारण ४ दिनसम्म उपचार नगरेर बस्नुपर्ने भएपछि समस्या भएको प्रअ सेनले बताए । उनका अनुसार आइतबारबाट विद्यार्थीको उपचार सुरु भएको छ । ५ देखि १७ वर्ष उमेरसम्मका विद्यार्थीमा लक्षण देखिएको छ । उक्त विद्यालयमा बालविकासदेखि ७ कक्षासम्म अध्ययन हुन्छ ।

मैकोट स्वास्थ्यचौकीका इन्चार्ज समिर गिरी र वडा ५ हुकामकी अनमी गोमा नेपालीले बिरामी विद्यार्थीको उपचार थालेका छन् । आइतबार दिउँसोबाट विद्यार्थीको उपचार सुरु गरेको गिरीले बताए । ‘बिरामी विद्यार्थीको संख्या धेरै रहेछ तर आत्तिहाल्नुपर्ने गरी समस्या पाइएन,’ गिरीले भने, ‘हामीले लक्षणअनुसारको उपचार थालेका छौं ।’

मौसम फरिवर्तन हुने क्रममा विद्यार्थीमा संत्रमण बढेको गिरीले बताए । गाउँमा हिउँ पग्लेको छैन । चिसो कायमै रहेकाले चिसो सक्रिय रहने व्याक्टेरियाका कारण विद्यार्थीमा समस्या भएको भनाइ उनको छ । बिरामी कम नभएसम्म त्यसै ठाउँमा उपचार गरिने भएको छ । आवश्यक औषधिसहित पुगेकाले लक्षणअनुसारको उपचार तथा परामर्श भइरहेको छ ।

२० भन्दामाथिका विद्यार्थीलाई बोकेरै उपचार गर्ने ठाउँसम्म ल्याइएको थियो । वडा ६ को सामुदायिक स्वास्थ्य इकाइमा विद्यार्थीको उपचार भइरहेको छ । उक्त ठाउँका केही ठूला मान्छेमा पनि ती लक्षण देखिएका छन् ।

पुथाउत्तरगंगा गाउँपालिकाले उक्त वडामा स्थापना गरेको सामुदायिक स्वास्थ्य इकाइ आधा महिनादेखि बन्द थियो । इकाइमा कार्यरत अनमी दिलकुमारी विक परीक्षाको सिलसिलामा रुकुमपश्चिम गएदेखि नै बन्द भएको स्थानीयले बताएका छन् । वडामा भएको स्वास्थ्य इकाइ बन्द हुँदा विद्यार्थी तथा गाउँलेले समस्या भोग्दै आएका छन् ।

गाउँपालिका अध्यक्ष ओमप्रसाद घर्तीमगरले भने, विद्यार्थी बिरामी भएको बारे अनभिज्ञता प्रकट गरे । कामको सिलसिलामा बाहिर रहेको भन्दै उनले फोन सम्पर्क गर्न खोज्दा पनि सम्पर्क हुन नसकिरहेको बताए ।

प्रतिक्रिया