पाँचथर / फाल्गुनन्द गाउँपालिकाका २२ विद्यालयमध्ये ९ वटामा मातृभाषामा पठनपाठन हुने गरेको छ । अन्य १३ विद्यालयमा शैक्षिक सत्र २०७६ देखि पढाइ हुने भएको छ ।
पाँथचरको फाल्गुनन्द गाउँपालिकास्थित विद्यालयमा मातृभाषामा पढ्दै विद्यार्थी । तस्बिर : ज्ञानु/कान्तिपुर
यसै वर्षबाट गाउँपालिकाका ८ स्कुलमा किराँत र एउटामा तामाङ भाषा पढाइ हुन थालेको छ । आगामी वर्ष यो संख्या बढाएर २२ पुर्याइने जनाइएको छ । गाउँपालिका उपाध्यक्ष देबित्रा आङदेम्बेले किराँत भाषामा पठनपाठनका लागि स्थानीय सरकारले सम्बन्धित विद्यालयलाई अनुमति दिएको बताइन् । उनले भनिन्, ‘अन्य स्कुलमा पनि पठनपाठनका तयारीका लागि अनुमति दिइसकेका छौं ।’
गाउँपालिकाका अनुसार जनकल्याण आधारभूत विद्यालय, महागुरु फाल्गुनन्द्र आधारभूत विद्यालय, सत्यहाङमा मावि, सार्ताप मावि, कृष्ण मावि, नागम्बा आधारभूत विद्यालय, पञ्चकन्या आधारभूत विद्यालय, बीपी स्मृति आधारभूत विद्यालयमा सिरिजङगा लिपिबाट पठनपाठन भइरहेको छ ।
लक्ष्मी आधारभूत विद्यालयमा भने तामाङ समुदायको बाहुल्य रहेकाले तामहिक भाषामै पठनपाठन भइरहेको छ । प्रत्येक विद्यालयमा मातृभाषा शिक्षकसमेत गाउँपालिकाको स्रोतबाट नियुक्त गरिएको छ । जसमा कानुनी प्रक्रिया सबै पूरा गरिएपछि मात्र पठनपाठन थालिएको नेपाल प्रज्ञा प्रतिष्ठान प्रज्ञा सदस्य हरिश्चन्द्र लावतीको भनाइ छ । यो गाउँपालिकामा लिम्बु समुदायको बाहुल्य छ । यहाँ करिब ६८ प्रतिशत लिम्बू समुदायको बसोबास छ ।
सबैले बोलीचालीमा पनि मातृभाषा नै बढी प्रयोग गर्छन् । जसले गर्दा यसको आवश्यकता पहिचान महसुस भएपछि नेपाल प्रज्ञा प्रतिष्ठानका प्रज्ञा सदस्य हरिश्चन्द्र लावतीको संयोजकत्वको टोलीले जातीय आवश्यकता पहिचान गरी लिखित प्रतिवेदन प्रदेशसभामा पेस गरेको थियो ।
उक्त प्रतिवेदन प्रदेशबाट पारित भएपछि शिक्षक छनोट गरिएको थियो जसमा हाल ९ जना शिक्षक नियुक्त गरिएको छ । संविधानको धारा ८ को उपदफा ८ मा स्थानीय सरकारले स्थानीय आवश्यकता पहिचान गरी जुन जातिको बाहुल्य बढी भएको छ, त्यस क्षेत्रमा मातृभाषा पठनपाठन गर्न पाउने अधिकार समावेश गरेअनुसार संवैधानिक परिषदको व्यवस्थाअनुरूप स्थानीय सरकारको अधीनमा रहेर पठनपाठन सुरु गरिएको प्रज्ञा सदस्य हरिश्चन्द्र लावतीको भनाइ छ ।
यसरी अब अन्य गाउँपालिकामा पनि स्थानीय आवश्यकता पहिचान गरी पठनपाठन प्रक्रियामा हामी जुटेका छौं । लावतीले भने, ‘आफ्नो भाषा आफैंले सम्रक्षण गर्ने हो । अगाडि बढेको छ ।’ यो गाउँपालिका देशकै पहिलो स्थानीय मातृभाषा पठन पाठन भइरहेको क्षेत्र हो तर मातृभाषा भाषा पढ्न अनिच्छुक विद्यार्थी तथा अन्य समुदायका विद्यार्थीहरूलाई मिश्रित प्रणालीमार्फत कृषि तथा बाली विज्ञान पढ्न पाउने सुविधा छ तर अधिकांश विद्यार्थीले किरात मातृभाषा पढ्न इच्छा देखाएकाले अन्य समुदायमा पनि यो पढाइ गरिरहेको विद्यालयका प्राचार्यहरूको भनाइ छ ।
लिम्बु जातिको बाहुल्य रहेको पाँचथरमा लिम्बु भाषालाई स्थानीय कामकाजको भाषा बनाइनुपर्ने माग गर्दै सबै स्थानीय तह सरकारी कार्यालय तथा राजनीतिक दललाई समेत ज्ञापनपत्र बुझाइएको समितिका संयोजक दिलेन्द्र कुरुङवाङले बताए ।
पहिलो चरणमा फाल्गुनन्द गाउँपालिकामा पठनपाठन गर्न सुरु गरिएको भए पनि अबको कार्यक्रम सबै स्थानीय तहका विद्यालयहरूमा मातृभाषा पठनपाठन हुने व्यवस्था मिलाएर स्थानीय जातीय बाहुल्यका आधारका छनोट गर्ने कार्यक्रम रहेको भाषा प्रचारक अभियन्ता नरेन्द्रराज केरुङको भनाइ छ ।