सिटामोल उत्पादन गर्न ढिलाइ
शिक्षाखबर डेस्क
३ फाल्गुन २०७४, बिहीबार
no immg

सरकारी स्वामित्वको कम्पनीबाट सिटामोल उत्पादन हुन नसक्दा सरकारले नि:शुल्क रूपमा दिने औषधिका लागि निजी उद्योगमा भर पर्नुपर्ने अवस्था रहेको छ
काठमाडौँ — माघभित्रै बजारमा सिटामोल ल्याउने लक्ष्यअनुरूप नेपाल औषधि लिमिटेडबाट सिटामोल उत्पादन कार्य अझै सुरु हुन सकेको छैन । भारतबाट केही उपकरण र उपकरण जडान गर्ने इन्जिनियर नआएपछि कम्पनीले घोषणाअनुरूप सिटामोल उत्पादन कार्य अघि बढाउन सकेको छैन ।
छ वर्ष बन्द भएपछि गत वैशाखदेखि पुन:सञ्चालनमा आएको कम्पनीले लक्ष्यअनुरूप गति लिन भने सकेको छैन । भारतबाट मगाइएका अत्यावश्यक उपकरण भित्रिन नसकेपछि उत्पादन कार्य अघि बढ्न नसकेको लिमिटेडका महाप्रबन्धक डा. रोभसकुसुम सुवेदीले बताए । ‘कच्चापदार्थ र जनशक्ति तयार छन्, मेसिन आइपुगेपछि मात्रै काम सुरु गर्न सकिन्छ,’ उनले भने ।
कम्पनीले माघबाटै सिटामोललाई देशभर पुर्‍याउने लक्ष्य लिएको थियो । सिटामोलका साथै कम्पनीले बजारमा धेरै खपत हुने १५ थरीका एन्टिबायोटिक औषधिसमेत उत्पादन गर्ने भनेको थियो । औषधि उत्पादनका लागि भनेरै भत्किएको पुरानो भवनसमेत पुनर्निर्माण गरिएको छ ।
पुरानो कारखाना भवन रङरोगन र झ्यालढोका मर्मतसम्भार गरेर व्यवस्थित पारिएको कम्पनी प्रशासन प्रमुख ज्ञानीबहादुर रायमाझीले जानकारी दिए । ‘कारखानाको भुइँ पनि विश्व स्वास्थ्य संगठनको मापदण्डअनुरूप चाहिन्छ, केमिलकयुक्त प्लास्टर गरिएको छ, सुक्न केही दिन लाग्छ,’ उनले भने ।
यसबाहेक कम्पनीले गत वैशाखदेखि सुरु गरेको जीवन जल उत्पादनलाई भने निरन्तरता दिइरहेको रायमाझीले बताए । कम्पनीमा हाल दुईवटा उपकरण छन् जसले एकपटकमा ४० प्याकेट जीवन जल उत्पादन गर्छन् । कम्पनीले ६० प्याकेट जीवन जल उत्पादन गर्न सक्ने डेढ करोड लगानीमा नयाँ उपकरणसमेत जडान गरिसकेको जनाएको छ ।
औषधि उत्पादनका लागि कम्पनीलाई अर्थ मन्त्रालयले १४ करोड बजेट निकासा गरेको छ । मन्त्रालयले पहिलो चरणमा ६ करोड ४८ लाख रुपैयाँ दिए पनि बाँकी रकम नआएको कम्पनी सञ्चालक समिति सचिव टीकाराम अर्यालले बताए ।
‘खर्च नभई काम अघि बढ्न सक्दैन, नयाँ सरकार बनेपछिमात्रै बाँकी रकम आउनेछ,’ उनले भने ।
विगतमा कम्पनीबाट १ सय २० प्रकारका औषधि उत्पादन हुन्थ्यो । विश्व स्वास्थ्यसंगठनको औषधि उत्पादन मापदण्ड पूरा गर्न नसकेकाले २०६० सालमा औषधि उत्पादन बन्द गरिएको थियो । मापदण्ड व्यवस्थापनका लागि अहिले कम्पनीले गुणस्तर नियन्त्रणशाखा खोलेर अनुसन्धानकार्य अघि बढाइरहेको छ ।
सरकारी स्वामित्वको कम्पनीबाट सिटामोल उत्पादन हुन नसक्दा सरकारले नि:शुल्क दिने रूपमा औषधिका लागि निजी उद्योगमा भर पर्नुपर्ने अवस्था छ कम्पनीका अध्यक्ष लक्ष्मीराज पाठकले बताए ।
कम्पनीले फागुनभित्रैसिटामोल उत्पादन गरिसक्ने जनाएको छ । १५ लाख ट्याब्लेट उत्पादनपश्चात बजारमा लैजाने कम्पनीको लक्ष्य छ ।
प्रकाशित : फाल्गुन ३, २०७४

प्रतिक्रिया