भारतको ‘सेरम इन्स्टिच्युट’बाट पूर्वसम्झौताअनुसार कोभिड–१९ विरुद्धको १० लाख डोज कोभिसिल्ड खोपका लागि नेपाल सरकारले पुनः ताकेता गरेको छ । सरकारका तर्फबाट दिल्लीस्थित नेपाली दूतावासले भारतीय विदेश मन्त्रालयलाई चिठी लेखेर खोपका लागि सहजीकरण गरिदिन पुनः आग्रह गरेको हो । दूतावासका अधिकारीहरूले सेरम इन्स्टिच्युटका पदाधिकारीसँग टेलिफोन र चिठी लेखेर ताकेता गरेका छन् ।
भारतबाट ल्याइएको कोभिसिल्ड खोपको दोस्रो डोज लगाउने समय समाप्त हुन लागेको छ । तर, भारतबाट खोप आउने अझै निश्चित छैन । ‘दोस्रो डोज लगाउने समयावधि घर्किन लागेको संवेदनशील अवस्थामा नेपालले खरिद गरेको १० लाख डोज खोप सहजीकरण गरिदिन हामीले कूटनीतिक नोट पठाएका छौँ, सेरमका पदाधिकारीहरूसँग पनि दूतावासमार्फत ताकेता भइरहेको छ,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले नयाँ पत्रिकासँग भने, ‘सेरम इन्स्टिच्युटले जुलाईसम्म पर्खनुपर्ला भन्ने जवाफ दिएको छ । तर, हामीले हाम्रो अवस्था राखेका छौँ, १० लाख डोज खोप उसका लागि सानो परिमाण भएकाले हामीलाई उपलब्ध गराउनुपर्छ भनेका छौँ ।’
सेरम इन्स्टिच्युट अफ इन्डियाले मंगलबार विज्ञप्ति जारी गरी भारतीय जनतालाई छाडेर अन्य मुलुकहरूमा निर्यात नगरेको भन्दै भारतमा खोप अभियानलाई सक्दो सहयोग गर्ने वचनबद्धता व्यक्त गरेको छ । सेरमको यो विज्ञप्तिपछि नेपालमा तत्काल खोप आउने सम्भावना नरहेको नेपाली अधिकारीहरूको बुझाइ छ । तर, दिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख रामप्रसाद सुवेदीले कोभिसिल्ड खोप ल्याउन हरसम्भव कूटनीतिक प्रयास जारी रहेको बताए ।
‘भारत सरकारले निर्यात रोकेको लिक्विड अक्सिजन आपूर्तिका लागि कानुनी व्यवधान हटाउने हाम्रो प्रयास सफल भएको छ, यसैगरी खोपका लागि पनि सहज परिस्थिति बन्छ भन्नेमा हामी विश्वस्त छौँ,’ सुवेदीले टेलिफोनमा नयाँ पत्रिकासँग भने, ‘सेरम इन्स्टिच्युटले पनि खोप भारतबाट बाहिर निर्यात गर्ने अवस्थामा पहिलो प्राथमिकतामा नेपाललाई राख्ने वचनबद्धता प्रकट गरिसकेको छ ।’
खोप सहजीकरण गरिदिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दुई महिनाअघि नै भारतीय विदेशमन्त्री एस जयशंकरलाई टेलिफोनमार्फत आग्रह गरेका थिए । नेपालले यसअघि पनि औपचारिक पत्र पठाएर सहजीकरणका लागि अनुरोध गरिसकेको छ । भारत सरकारले नेपाललाई १० लाख डोज खोप अनुदानमा दिइसकेको छ । सेरम इन्स्टिच्युटबाट नेपाल सरकारले खरिद गरेको २० लाख डोज खोपमध्ये १० लाख डोज आइसकेको छ । थप १० लाख डोज खोपका लागि पनि सरकारले ८० प्रतिशत भुक्तानी दिइसकेको छ ।
नेपाल सरकारले भारतमा रहेका तथा नेपाली नागरिकता भएका वा कागजात नभएका नेपाली श्रमिकहरूलाई पनि भारतीय नागरिकसरह खोप लगाइदिन आग्रह गरेको छ । ‘भारतको आधार कार्ड भएका, विद्यार्थी परिचयपत्र भएका, त्यहाँका कम्पनीहरूमा कार्यरत रहेका र परिचयपत्र भएकाहरूलाई समस्या भएन, तर सिजनल काम गर्न गएका नेपाली श्रमिकहरूले भारतीय रोजगारदाता व्यक्तिको सिफारिसका आधारमा खोप लगाइदिने प्रबन्ध गरिदिन आग्रह गरिएको छ,’ नेपाली कूटनीतिक अधिकारीले भने, ‘भारतीय पक्षले पनि सकारात्मक जवाफ दिएको छ । हामी आशावादी छाैँ ।’
चीनबाट खोप ल्याउन औपचारिक प्रक्रिया अघि बढेन
परराष्ट्र मन्त्रालयले बेइजिङस्थित नेपाली दूतावासमार्फत चीनबाट २० लाख डोज भेरोसेल खोप खरिदका लागि कुराकानी गरे पनि स्वास्थ्य मन्त्रालयले औपचारिक प्रक्रिया अघि नबढाउँदा खरिद अन्योलमा परेको छ । नेपाली राजदूत महेन्द्रबहादुर पाण्डे तथा दूतावासका अधिकारीहरूसँग साइनोफार्मका अधिकारीहरूले जेठको तेस्रो सातासम्म पाँच लाख डोज खोप दिन सकिने तथा बाँकी खोप असार अन्तिमसम्म उपलब्ध गराउन सकिने बताएका थिए । यसबारे परराष्ट्र मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई जानकारी दिइसकेको छ भने प्रधानमन्त्री केपी ओलीसमक्ष पनि जानकारी पुगेको छ ।
साइनोफार्मका अधिकारीहरूले खरिद सम्झौता भएपछि नेपालले अग्रिम भुक्तानी गरेको दुई सातापछि खोप उपलब्ध गराउन सकिने बताएका रहेछन् । ‘सम्झौताका लागि औपचारिक प्रक्रिया नै सुरु नभएको हुनाले तत्काल चीनबाट भेरोसेल खोप आउने सम्भावना छैन,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘चीनसहित विश्व बजारमा अहिले खोप किन्छु भन्दा पनि पाइने अवस्था छैन । खोप दिन कम्पनी तयार भएको अवस्थाको सदुपयोग नगर्दा हामी अप्ठेरोमा परेका छौँ ।’
परराष्ट्रमन्त्री ज्ञवालीले सार्वजनिक रूपमा चीनसँग खोप खरिदको प्रक्रिया अघि बढेको दाबी गरे पनि स्वास्थ्य मन्त्रालयबाट प्रक्रिया सुरु भएको छैन । बेइजिङस्थित नेपाली दूतावासका उपनियोग प्रमुख सुशीलकुमार लम्सालले खोप खरिद प्रक्रियाबारे जानकारी नभएको बताए । ‘हामीले यथार्थ जानकारी परराष्ट्र मन्त्रालयलाई पठाइसकेका छौँ । त्यसपछि खोप खरिदका लागि भएका प्रगतिबारे जानकारी छैन,’ लम्सालले बेइजिङबाट टेलिफोनमा भने ।
उनका अनुसार खोप खरिदका लागि तीन चरण पार गर्नुपर्छ । पहिलो चरणमा ननडिस्क्लोजर एग्रिमेन्ट भएपछि मूल्यसहितको विवरण प्राप्त हुन्छ । त्यसपछि साइनोफार्मले सम्झौताको प्रति पठाउँछन् । सम्झौताको प्रतिमा नेपाल सरकारका तर्फबाट हस्ताक्षर गरेर पठाएपछि अग्रिम भुक्तानी दिनुपर्छ । त्यसपछि खोप उत्पादकले भनेको मितिमा खोप लिन नेपालले ढुवानीको व्यवस्था गर्नुपर्छ । ‘यस सन्दर्भमा केही पनि प्रक्रिया अघि बढेको छैन, यसको कारण राजनीतिक तहमा सोध्नुहोला,’ स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने ।
स्पेनबाट स्वास्थ्य उपकरण आउँदै
स्पेनले नेपाललाई कोरोनाको नियन्त्रण र प्रतिकार्यका लागि उपलब्ध गराएको स्वास्थ्य उपकरण तथा सामग्री बिहीबार आउँदै छ । परराष्ट्रमन्त्री ज्ञवालीसँग टेलिफोन संवादका क्रममा स्पेनकी विदेशमन्त्री एरान्चा गोज्लालेज लायाले यो जानकारी दिएकी हुन् ।
उपत्यकामा संक्रमण घट्दै, उपत्यकाबाहिर बढ्दै
पछिल्लो एक साता उपत्यकामा कोरोना संक्रमण घटिरहँदा उपत्यकाबाहिरका जिल्लामा भने संक्रमण बढ्दै गएको छ । खासगरी प्रदेश १ र २ का जिल्लाहरूमा संक्रमण दैनिक बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार बुधबार देशमा आठ हजार एक सय ७३ जनामा संक्रमण पुष्टि हुँदा दुई हजार ६ सय ८६ जना उपत्यकाका छन् । यसअघि एकैदिन उपत्यकामा करिब चार हजार दुई सयसम्मलाई संक्रमण पुष्टि भएको थियो । एक सातायता निरन्तर रूपमा उपत्यकामा नयाँ संक्रमण घटेको छ ।
उपत्यकामा नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढेकाले सक्रिय संक्रमितको संख्या पनि घट्दै गएको छ । पाँच दिनमा सक्रिय संक्रमितको संख्या साढे पाँच हजार घटेको छ । १ जेठमा उपत्यकाका सक्रिय संक्रमितको संख्या ४२ हजार दुई सय २५ रहेकोमा ५ जेठमा ३६ हजार सात सय ३५ मा झरेको छ । १ जेठमा काठमाडौंमा सक्रिय संक्रमितको संख्या ३० हजार एक सय २४, ललितपुरमा सात हजार एक सय एक र भक्तपुरमा पाँच हजार थियो । ५ जेठमा सक्रिय संक्रमितको संख्या काठमाडौंमा २५ हजार ५८, ललितपुरमा ६ हजार आठ सय १७ तथा भक्तपुरमा चार हजार आठ सय ६० छ ।
उपत्यकाकाआसपासका जिल्लामा भने संक्रमण बढेको छ । काभ्रेमा बुधबार एक सय ५५, धादिङमा एक सय १७ र सिन्धुपाल्चोकमा एक सय २२ जनामा संक्रमण पुष्टि भएको छ । यी जिल्लामा दैनिकजसो संक्रमित संख्या बढेको छ । पहाडी जिल्लामा लकडाउन प्रभावकारी नभएको तथा परीक्षण र ट्रेसिङसमेत नहुँदा गाउँ–गाउँमा संक्रमण बढेको छ ।
प्रदेश १ मा पाँच दिनको बीचमा नयाँ संक्रमितको संख्या करिब दोब्बर भएको छ । बुधबार एक हजार दुई सय तीनजनामा संक्रमण पुष्टि भएको छ । १ जेठमा ६ सय ९५ जनामा संक्रमण देखिएको थियो । प्रदेश १ का मोरङ, झापा, सुनसरीमा संक्रमण बढ्दो छ । मोरङमा बुधबार तीन सय ८३, झापामा तीन सय ४४ तथा सुनसरीमा दुई सय नौजनामा संक्रमण पुष्टि भएको छ ।
प्रदेश २ मा बुधबार सात सय ३५ मा संक्रमण पुष्टि भएको छ । १ जेठमा यहाँ नयाँ संक्रमितको संख्या चार सय ७४ थियो । प्रदेश नम्बर २ का धनुषा, बारा र महोत्तरीमा बुधबार धेरै संक्रमण देखिएको छ । धनुषामा एक सय ९९, बारामा एक सय ८७ तथा महोत्तरीमा एक सय २७ मा संक्रमण पुष्टि भएको छ । लुम्बिनी प्रदेशमा तुलनात्मक रूपमा संक्रमण घटेको छ, तर मृत्युदर भने घटेको छैन ।