बीउमा परचक्री नियन्त्रण
शिक्षाखबर डेस्क
१० जेष्ठ २०७८, सोमबार
no immg

खाद्य तथा कृषि अभियन्ता वन्दना शिवाले किसानको बीउमा बहुराष्ट्रिय कम्पनीको गिद्धेदृष्टि परेको सन्दर्भमा भनेकी छन्, ‘खाना नियन्त्रण गर्दा समाज नै नियन्त्रित हुन्छ, त्यस्तै बीउ नियन्त्रण गर्दा पृथ्विको जीवन्त प्रक्रिया नै बन्धक बन्छ ।’ उनको यो भनाइमा किसानी र बीउको मर्का लुकेको छ । उपनिवेशी शासकहरूले बहुराष्ट्रिय कम्पनीलाई फाइदा हुने गरी काम गरिरहेका छन् र यो नेपालमा पनि लागू हुन्छ ।

‘अनिकालमा बीउ जोगाउनू’ भन्ने मान्यता हाम्रो समाजमा स्थापित छ । बीउ जोगाउने संस्कृतिलाई छेउ लगाएसँगै हामी बीउमा निरन्तर परनिर्भर हुँदै परचक्री जालमा फस्न पुगेका छौं । अहिले एकतिहाइभन्दा कम खानेकुरा उत्पादन गर्ने व्यापारीहरूको औद्योगिक खेतीपाती सबैतिर फैलिएको छ । प्रकृतिमा र मानिसका आहारमा विष थोपर्ने सबैभन्दा विनाशकारी गतिविधि हो यो । बीउ नियन्त्रित व्यापारीको खेती प्रणालीलाई मानिसको खाना नियन्त्रण गर्ने हतियारका रूपमा अगाडि सारिँदै छ । यसको अनन्त दुष्परिणामको साक्षी बस्ने हो भने बेग्लै कुरा, अन्यथा यसबाट मुक्त हुन नसकेसम्म हाम्रा खाना र खेतीपाती जोगिँदैनन् । बीउ नियन्त्रणमा केही देशी–विदेशी व्यापारीको स्वार्थ मात्र गाँसिएको छैन, यो प्रकृति नियन्त्रणको अहंकारबाट ग्रसित उपनिवेशी पागलपनबाट निर्देशित छ । यसको समयमै प्रतिवाद गर्न नसके बीउमाथिको नियन्त्रणले किसान मात्र हैन, समग्र जगत्को खाद्य प्रणाली नै तहसनहस हुनेछ ।

खेतीपाती परम्परामा बीउ जोगाउन र वस्तुभाउका बच्चा स्याहार्न महिला किसानको भूमिका अहं छ । सन्तान हुर्काउन एकै थातथलोमा रहनुपर्ने भएकाले पनि यो कर्ममा महिला नै सरिक भए, जसले गर्दा खेती तथा वस्तुभाउ घरपालुवा बनाउने प्रक्रियाको आधार खडा भयो । प्रकृति, बीउ र वातावरण जोगाउन संसारभरि नै महिला अग्रपङ्क्तिमा छन् । अझै गाउँघरमा महिलाहरूले अन्नपात र वस्तुभाउका बच्चाका असल गुणहरूको परख गरी बीउब्याडको छनोट गर्छन् । छनोट गरेका अन्नका बीउ, चल्ला, पाठा आदि घर र माइत गर्दा ओसारपसारसमेत गर्ने गर्छन् । यो परागसेचन हुने, बोटबिरुवा र वस्तुभाउको बीउ जोगाउने र उन्नत बनाउने सबैभन्दा सरल विधि हो । यस्तो परम्परागत तरिकालाई पछौटे भन्दै पाखा लगाएकाले हाम्रो बीउको सम्प्रभुता, अग्राधिकार र स्वामित्व गुम्न पुगेको छ ।

बीउ छनोट खेती प्रणालीको महत्त्वपूर्ण पक्ष हो । छनोटको आफ्नै प्रतिस्पर्धात्मक पद्धति सिकेर मानिसले सदियौंदेखि बीउको जगेर्ना गर्दै आएको छ । झन्डै ३०० वर्षअघि चार्ल्स डार्बिनले सन्तान छनोटको प्राकृतिक पद्धतिको परीक्षण गरी व्याख्या गरेका थिए । आधुनिक शिक्षाले यस्ता ज्ञानलाई घोकाउने वा मान्यता दिने भएकाले हाम्रा पुर्ख्यौली ज्ञान उपेक्षित छन् ।

नेपालमा पहिलो पटक सन् १९६० मा होचो जातको गहुँको ‘लेर्मा ५२’ नामको बीउ भित्रिएको हो । योसँगै सुरु भएको बीउ प्रवर्द्धन यात्राले आठ दशक पुगिसक्दा पनि आशानुरूप उपलब्धि हासिल गरेको छैन । सन् १९६२ मै संस्थागत बीउ उत्पादन सुरु भएर पनि अहिलेसम्म यो कार्य गतिहीन हुनु लाजमर्दो छ । कृषि अनुसन्धानमा थुप्रै सरकारी निकाय, दर्जनौं निजी तथा गैरसरकारी संस्था र सयौं परामर्शदाता संलग्न छन्; बीउ उत्पादनमा मात्र सरकारी तथा निजी क्षेत्रका दुई दर्जनभन्दा बढी संस्था संलग्न छन्; तैपनि बीउको उत्पादन, सुधार र गुणस्तर आसलाग्दो छैन । कृषि विकासका जति नै ठूला गफ गरे पनि, सामान्य खेतीपातीका लागि प्रविधि र भरपर्दो परीक्षण क्षमता अनि बजार र आपसी समन्वयको अभावमा स्थानीय तहमा सजिलै गर्न सकिने बीउब्याड प्रवर्द्धनका कार्य हुन सकेका छैनन् ।

सरकारले २०१३ सालमा २०१० लाई आधार वर्ष मानेर २०२५ सम्म दुईतिहाइ उत्पादन बढाउने बीउ नीति बनायो तर अझै यो नीति कागजमै सीमित छ । अहिले तरकारीका ९०, मकैका ३० र धानका १५ प्रतिशत अनि फलफूल र घाँसका बीउ पनि बाहिरैबाट आउँछन् । माछाका भुरा र कलमी गरिएका बोटबिरुवा पनि आयात गरिन्छन् । टर्कीबाट ओखर, इटालीबाट स्याउ र क्यानडाबाट बदामे आरुका बिरुवा ल्याउने गरिन्छ । यो क्रम दिनदिनै बढिरहेको छ । बीउ र बेर्ना खरिदमा मात्र अर्बौं रुपैयाँ बिदेसिने गर्छ ।

‘उत्पादनमा बीउको प्रभावकारिता’ विषयक अध्ययनमा संलग्न वैज्ञानिकहरू भन्छन्— उपयुक्त बीउ तथा ब्याडको आवधिक प्रतिस्थापनबाट मात्र पनि अहिलेकै अवस्थामा एकचौथाइसम्म उत्पादन वृद्धि गर्न सकिन्छ । यस सुझावलाई आत्मसात् गर्ने र बाहिरी बीउ प्रतिस्थापन गर्न स्थानीय बीउ उन्नत बनाउनेतर्फ खासै ध्यान गएको देखिँदैन । साथै अहिले खेतीपातीमा नयाँ चुनौतीहरू थपिँदै गएका छन्, जसमध्ये जलवायु परिवर्तन मुख्य हो । यसले मौसमी चक्रलाई अनिश्चित बनाउँछ र तापक्रम वृद्धि गर्छ, जसले गर्दा फूल फुल्ने समयमा हेरफेर हुन्छ, बोटबिरुवामा लाग्ने कीराको प्रकोप बढ्छ र परागसेचन/गर्भाधान नहुने तथा प्रजाति उकालो लाग्ने समस्या देखिन्छ । यसको सोझो असर उत्पादनमा पर्छ । अन्तर्राष्ट्रिय खाद्य नीति अनुसन्धान संस्थाअनुसार १ डिग्री सेल्सियस तापक्रम बढेसँगै अन्नपात र फलफूलका प्रजाति ४०० मिटर माथि सर्छन् । उदाहरणका लागि, केही वर्षअघिसम्म मार्फामा राम्रै उत्पादन हुने स्याउको खेती मुक्तिनाथवरपर सरेको छ । मार्फामा भने मुला, गाजरजस्ता तल्लो भेगका प्रजातिको उत्पादन बढेको छ, जबकि केही दशकअघिसम्म मुक्तिनाथवरपर धेरै चिसो हुने हुनाले स्याउ फल्दैनथ्यो । कृषि उत्पादनसम्बन्धी यस्ता गतिविधि पहाडी र हिमाली क्षेत्रमा सबैले अनुभव गर्न थालेका छन् ।

फौजी कीरा, सबै प्रजातिमा बढ्दो लाही र अन्य रोगको व्यापकताको सम्बोधन गर्न बीउ प्रतिस्थापन अपरिहार्य भएको छ । तर, यस्तो कार्य बाह्य बीउबाट गर्नु हुन्न । यसले समस्यालाई झनै बल्झाउँदै लैजान्छ । पहिलो, बाह्य बीउहरू स्थानीय तहमा उपयुक्त हुँदैनन् । यस्ता बीउको दाना तथा फल नलाग्ने जोखिम हुन्छ । बारामा मकै, भक्तपुर/बैतडीमा धान र अन्य धेरै ठाउँका तरकारीमा यी समस्याबाट किसान पीडित छन् । साना किसानका यी समस्या सञ्चारमाध्यम र नीतिनिर्मातासम्म पुग्न सकेको छैन । दोस्रो, धेरै फल्ने भनिएका अधिकांश विकासे बीउ स्थानीय हावापानीमा उपयुक्त हुँदैनन् । यस्ता बीउलाई स्थानीयका तुलनामा धेरै पानी, मल, स्याहार चाहिन्छ र सजिलै रोगकीराको प्रकोपमा पनि पर्छन् । तेस्रो, ठूला व्यापारी वंशाणु गुण उत्परिवर्तित बीउ र ब्याड बनाएर समग्र प्रकृतिमैत्री खेती प्रणाली र किसानी तहसनहस गर्न उद्यत छन् । यी बीउ नेपालमा भारतको बाटो भएर सजिलै भित्रिन्छन् । सँगै, केही वर्षअघि यस्तो बीउमा सर्वोच्च अदालतले प्रतिबन्ध त लगाएको छ तर भित्र्याउन दलालको चलखेल चलिरहेकै छ ।

हुन त, नेपालको खाना र खेतीपातीको कुरा गर्दा, बीउमा मात्र हामी परनिर्भर वा कमजोर छौं, अरू सबै पक्ष ठीकठाक छ भन्न खोजेको होइन, तर बीउजस्तो कृषि उत्पादनको आधारभूत आयाममा नेपालजस्तो बीउ उत्पादनको सम्भावना भएको देशको यो हविगत लाजमर्दो छ । सरकार, कृषि मन्त्रालय, कृषि विश्वविद्यालय, अनुसन्धान संस्थाहरू र नीतिनिर्माताहरूले बीउ उत्पादनमा ध्यान दिनुपर्ने हो तर उनीहरूले केही नबुझेजस्तो गरिरहेकै छन्, यो झनै उदेकलाग्दो छ । औद्योगिक विकासका गफ गरेर नथाक्ने जमातलाई उत्पादनबिनाको औद्योगिकीकरण कसरी हुन्छ, कसले सोध्ने ?

स्थानीय बीउ उन्नत बनाउने र उत्पादन गर्नेतर्फ विचार गर्दा, खास गरी कर्णाली क्षेत्र तरकारी, मसला तथा फलफूलको बीउ उत्पादन र हिमाली भेगका वस्तुभाउ प्रजनन गर्ने वातावरण भएको संसारकै उपयुक्त स्थान हो । योबाहेक पनि अरू हिमाली क्षेत्रमा गरिने बीउ उत्पादनले लाखौंलाई रोजगारी दिन्छ । किसानको आम्दानी पनि बढ्छ र हिउँदे तरकारीका बीउ निर्यातबाट अर्थतन्त्र वृद्धि हुन सक्छ ।

खेतीपातीको बीउ जोगाउन समाजमा विवेकको बीउ जोगाउनुपर्छ । सँगै, विवेक गुमाउँदै गएको राजनीतिक नेतृत्व र नीतिनिर्मातालाई पनि झकझकाउनुपर्छ । समय नघर्किंदै यसो गर्न नसके, यिनलाई धारेहात लगाएर मात्र हाम्रो बीउ र खेतीपाती जोगिँदैन । समय घर्क्यो भने, बीउजस्तै यिनको पनि प्रतिस्थापनको विकल्प रहँदैन ।

प्रतिक्रिया