विराटनगर / विराटनगरस्थित कोसी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी प्रहरीबाटै कुटिएका छन् । अस्पतालका सिनियर अहेब विराटनगर महानगरपालिका–८ घर भएका ४३ वर्षीय अशोककुमार राजवंशीमाथि मंगलबार राति ९ बजेतिर विराटनगरकै देवकोटा चोकमा प्रहरीले लाट्ठी हानेको हो । मोटरसाइकलमा घर फर्कदै गर्दा ड्युटीमा रहेका प्रहरीले आफूमाथि पटक–पटक लाट्ठीले प्रहार गरेको उनले बताए ।
‘अस्पतालबाट निस्किएर म घरतर्फ जाँदै थिएँ । निषेधाज्ञाको उल्लंघन किन गरेको भन्दै ड्युटीमा रहेका प्रहरीले रोके,’ राजवंशीले भने, ‘स्वास्थ्यकर्मी हुँ भन्दाभन्दै लाट्ठीले कुटपिट गर्न थालिहाले । त्यहीँ रहेका अरु प्रहरीले कुट्न हुँदैन भन्दै जोगाए ।’ उनले दुवै घुँडा, खुट्टा र पेटमा प्रहरीले हानेको लाट्ठीले लागेका चोट तथा सुम्ला रहेको जानकारी दिए ।
अहेब राजवंशीले घाँटीमा परिचयपत्र भिरेको देखेको भएपनि रोकेर प्रहरीले कुटपिट गरेको बताए । कोसीको अप्रेशन थिएटरमा कार्यरत राजवंशी विराटनगरकै सुरक्षा अस्पतालमा इएनजेड नामक फार्मेसी (औषधि पसल) पनि सञ्चालन गर्छन् ।
कोसीका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले कोरोना महामारीका बेला आफ्नै जीवन जोखिममा राखेर बिरामीको सेवामा खटिने स्वास्थ्यकर्मीमाथि कुटपिट हुन् दुःखद् भएको बताए । उनले घटनाका बारेमा जिल्ला प्रहरी कार्यालय मोरङलाई मंगलबार राति नै जानकारी गराएका थिए ।
कुटपिटको विरोध गर्दै नेपाल चिकित्सक संघ कोसीको अगुवाइमा सुरक्षाको माग राखेर स्वास्थ्यकर्मी र चिकित्सक आन्दोलनमा उत्रिएका छन् । ज्यान बचाउने भूमिकामा रहने स्वास्थ्यकर्मीलाई कोरोना महामारीका समयमा सुरक्षाको जिम्मेवारी लिएर बसेका प्रहरीले अन्धाधुन्ध कुटपिट गर्नु दुःखद् एवं निन्दनीय भएको संघका अध्यक्ष डा. फरवार्ड सिलवालले बताए । उनले आफूनै जोखिममा परेर बिरामीको उपचारमा अहोरात्र खटिने स्वास्थ्यकर्मीलाई सुरक्षाको ग्यारेन्टी हुनुपर्ने माग पनि राखे ।
डा. सिलवालले सुरक्षा निकायबाटै कुटपिट हुन थालेपछि चिकित्सक र स्वास्थ्यकर्मीका लागि निर्वाध रूपले काम गर्ने वातावरण नबनेको बताए । चिकित्सक र स्वास्थ्यकर्मीले आफूहरुको सुरक्षा र घटनामा संलग्न प्रहरीमाथि कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङको ध्यानआकर्षण गराएका छन् ।
मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले घटनाका बारेमा अनुसन्धान सुरु गरिएको बताए । ‘प्रहरीबाटै स्वास्थ्यकर्मीमाथि कुटपिट भएको विषय आएकाले गम्भीर रूपले छानबिन सुरु गरिएको छ,’ उनले भने, ‘गल्ती गर्ने प्रहरीमाथि कारबाही हुन्छ ।’ एसपी खड्काले अस्पतालमै पुगेर अहेब राजवंशीलाई भेट्दै घटनाका बारेमा जानकारी लिएका छन् ।
महामारीको रूप लिएको कोरोना नियन्त्रणमा स्वास्थ्य र सुरक्षाकर्मीको भूमिका उत्तिकै महत्वपूर्ण रहेको उनको बुझाइ छ । ‘कोरोना नियन्त्रणमा सबैको भूमिका उत्तिकै महत्वपूर्ण छ,’ खड्काले भने, ‘मानव जीवनले महामारीको निक्कै संकटपूर्ण अवस्था बेहोरिरहेका बेला हतोत्साही बनाउने र स्वास्थ्यकर्मीको मनोवल गिराउने काम कसैले पनि गर्न हुँदैन ।’
उनले निषेधाज्ञा प्रहरीका लागि मात्रै गरिएको हो भन्ने आम बुझाइ चिर्न मुस्किल परिरहेको समेत सुनाए । ‘नागरिकको स्वास्थ्य सुरक्षाका लागि गरिएको निषेधाज्ञाको कार्यान्वयनमा सबैको समन्वय र हातेमालो आवश्यक छ,’ एपसी खड्का भन्छन्, ‘आआफ्ना ठाउँमा सचेत र सजग भएर नियमको पालनामा जोड दिइयो भने मात्रै महामारीविरुद्धको लडाइँमा सफल होइन्छ ।’
घटनामा दुवै पक्षको गल्ती
घटनामा दुवै पक्षको गल्ती रहेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । ‘प्रहरीले रोकेर सोधपुछ गर्न थालेपछि मोटरसाइकलमा आएका व्यक्ति रिसाउन थाले,’ एक प्रत्यक्षदर्शीले भने, ‘तिमीहरु पक्राउ गर्नुपर्नेलाई नगरेर हामीलाई मात्रै दुःख दिन्छौं ? भन्दै कड्किएपछि अवस्था केही असामान्य बन्यो ।’ उनका अनुसार मोटरसाइकलमा सवार व्यक्तिको प्रस्तुतिले स्थिति बिग्रन पुगेको हो ।
त्यसपछि आक्रोसित बनेको प्रहरीले लाट्ठी हान्न थालेको उनले बताए । ‘प्रहरीले लाट्ठी हान्न थालेपछि चैँ म स्वास्थ्यकर्मी हुँ भन्न थाले,’ ती प्रत्यक्षदर्शीले भने, ‘घटनामा दुवै पक्षले गल्ती गरेका छन् ।’ स्वाथ्यकर्मी भएर ड्युटीमा बसेका प्रहरीसँग गर्ने व्यवहार ठीक नभएको स्थानीयले बताए । अर्कातर्फ प्रहरीले सम्झाइबुझाइ गरेर पठाउँदा हुने ठाउँमा लाट्ठी नै हान्नुपर्ने अवस्था पनि नभएको उनीहरुको भनाइ छ ।
नागरिक अगुवा भरत गुरागाईं महामारी नियन्त्रणमा सरसहयोग आदानप्रदान गर्दै सबैले आआफ्नो ठाउँबाट निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेको बाताउँछन् । ‘अहिले सुरक्षाकर्मीले निक्कै धेरै संयमता अपनाएर आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बेला हो । जोखिमका समयमा फ्रन्टलाइनमा रहेर काम गरिरहे पनि सामान्य विषयमा तनाव लिएर आवेशमा आउन हुँदैन,’ उनले भने, ‘स्वास्थ्यकर्मीले पनि आफ्नो जिम्मेवारी, दायित्व र पदीय हैसीयतलाई चटक्कै भुल्न हुँदैन । समस्या समाधानका लागि सहजीकरण गर्दै समन्वयकारी भूमिका खेल्नसक्नु पर्छ ।’
अहेब राजवंशीले भने प्रहरीमाथि आफूले विवाद नगरेको बताए । उनले कुनै विवाद बिनै अन्धाधुन्ध लाट्ठी हानिएको गुनासो गरे । प्रहरी अधिकारी सडकमा त्यत्तिकै कोही कसैमाथि सुरक्षाकर्मीले कुटपिट नगर्ने बताउँछन् । ‘घटनाको परिवेश र अवस्था हेर्दा चिकित्सक र प्रहरीबीच विवाद उत्पन्न भएको देखिन्छ । फिल्डको खटाइले तनावमा हुने प्रहरीसँग विवाद गर्दै स्वास्थ्यकर्मीले आफ्नो मर्यादा भुल्नु राम्रो हैन,’ प्रहरीका एक अधिकारीले भने, ‘मनोवल उच्च बनाउनुपर्ने बेला स्वास्थ्कर्मीमाथि कुटपिट हुनु झन् गलत हो । चिकित्सक र स्वास्थ्कर्मीकै सेवाबाट महामारी नियन्त्रणमा सहयोग पुगिरहेको कसैले बिर्सन हुँदैन ।’
आआफ्ना ठाउँबाट कमजोरीलाई स्वीकार गरेर आगामी दिनमा सुधार गर्दै अघि बढ्नुपर्ने अवस्था रहेको नागरिक अगुवा गुरागाईंको भनाइ छ ।