काठमाडौं / सरकारले नेपाली भाषा र संस्कृतिको प्रवर्द्धनका लागि नेपाली भाषामा अध्ययन र परीक्षासमेत नेपाली माध्यममा गर्नुपर्ने व्यवस्था गरेको छ । तर, त्यस्तो विषयमा समेत अंग्रेजीमा तयार गरेर अध्यापन भइरहेको पाइएको छ । एसबी पब्लिकेसन र संगम पब्लिकेसनले पाठ्यक्रम विकास केन्द्रले तयार गरेको ‘हाम्रो सेरोफेरो’ नेपाली माध्यममा जे छ, त्यही अनुवाद गरेर अंग्रेजी माध्यममा छपाइ गरी बिक्री गरेका छन् । उदाहरणका लागि ‘म र मेरो परिवार’ भन्ने नेपाली माध्यमको ‘मी एन्ड माई फेमिली’ भनेर पुस्तक तयार गरिएको छ । यस्ता पब्लिकेसनसमेत सरकारको कारबाहीमा परेका छैनन् ।
पाठ्यपुस्तकबाहेकका थप सामग्री पढाउनसमेत स्वीकृति लिनुपर्छ । तर, केही पब्लिकेसनले सरकारले नेपाली माध्यममा पढाउन तयार गरेका पुस्तक अनुवाद गरी अनधिकृत रूपमा अंग्रेजी माध्यममा पढाइरहेका छन् । कक्षा १ देखि ३ सम्मलाई समेट्ने गरी एसबी इन्टिग्रेटेड स्टडिज पार्ट १, पार्ट २ र पार्ट ३ गरी छपाइ र बिक्रीवितरण गरेको छ । पुस्तकको सुरुमै नेपाल विदेशमा अध्ययन गर्नेहरूका लागि नेपाली समाज र संस्कृति जान्न चाहनेहरूका लागि तयार गरेको उल्लेख गरेको छ ।
संगम पब्लिकेसनका सञ्चालक सहदेवप्रसाद सापकोटाले अघिल्लो वर्ष आफूले कक्षा १ का लागि नेपाली र विदेशमा बसेर पढ्नेहरूलाई लक्षित गरी पुस्तक प्रकाशित गरेको र यो वर्ष पुस्तक प्रकाशन नगरेको दाबी गरे । तर, एसबी पब्लिकेसनको पुस्तक वितरण गरेको भने स्वीकार गरे । ‘हामीले अघिल्लो वर्ष कक्षा १ का लागि मात्र छापेका थियौँ, अहिले एसबी पब्लिकेसनको कक्षा १ देखि ३ सम्मको पुस्तक वितरण मात्र गरेका हौँ । यी पुस्तक सरकारबाट स्वीकृति पाएका होइनन्,’ सञ्चालक सापकोटाले भने । यी पुस्तक प्रहरी विद्यालयमा समेत पढाइ हुने गरेको उनले बताए ।
पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले नेपाली माध्यममा पढाउनुपर्ने र नेपाली माध्यममै परीक्षा लिइने सामाजिक अध्ययन विषयलाई समेत अंग्रेजी माध्यममा पढाउने गरेको पाइएको बताए । राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ ले सामाजिक अध्ययन विषय नेपाली भाषामै हुनुपर्ने व्यवस्था गरेको उनको भनाइ छ ।