सिन्धुपाल्चोक / इन्द्रावती नदी किनारमा रहेको भीमटार गाउँमा माझी र दनुवार जातिका मानिस बस्छन् । इन्द्रावती गाउँपालिका– १२ मा रहेको यो गाउँको प्रमुख आर्थिक स्रोत कृषि हो । नदी किनारमा सञ्चालित क्रसर उद्योगका कारण थुप्रै खेतीयोग्य जमिन बगर बन्यो । माछा मार्ने पुर्ख्यौली पेसा पनि समाप्त भयो ।
कृषि पेसामा आएको गडबडीले उनीहरूको जीवनयापनमा समस्या उत्पन्न भएको छ । गाउँकै रातमाटे टोलमा रहेको भीमेश्वरी माध्यमिक विद्यालयले नियमविपरीत शुल्क असुल्न थालेपछि खानाका लागि संघर्ष गर्दै आएका माझी र दनुवार परिवारका बालबालिका विद्यालय जानबाट वञ्चित भएका छन् । शुल्क अभावमा कम्तीमा २० बालबालिकालाई अभिभावकले विद्यालय पठाएका छैनन् ।
भीमेश्वरीमा माझी र दनुवार समुदायका चार सय २७ बालबालिका पढ्छन् । विद्यालयले विभिन्न शीर्षकमा बर्सेनि शुल्क उठाउने गरेको छ । भर्ना र परीक्षा मात्रै होइन, विद्यालयले महिनावारी शुल्क पनि उठाउने गर्छ । सन्तराज दनुवारका छोरा अमिर र समीर, पबिना दनुवारका छोरी सबिता र छोरा रोशनलाई तोकिएको शुल्क बुझाउन नसकेपछि विद्यालयले भर्ना नगरी फर्काइदिएको स्थानीय सुरेन्द्र दनुवारले बताए । अभिभावकसँग समझदारी गरेर विद्यालय सुधारका लागि शुल्क निर्धारण गर्न सकिने व्यवस्था भए पनि इन्द्रावतीमा हाल त्यस्तो अवस्था नरहेको गाउँपालिका अध्यक्ष वंशलाल तामाङले दाबी गरे । तर, भीमेश्वरीले बालबालिकाबाट अनावश्यक शुल्क उठाएको जानकारी उनलाई छैन ।
माझी र दनुवार समुदायले एकदेखि १० सम्मको विद्यालय शिक्षा निःशुल्क पाइन्छ भन्ने थाहा पाएर पनि बर्सेनि शुल्क बुझाउँदै आएका छन् । सोझा अभिभावकसँग रकम उठाएर विद्यालयले अन्याय गरिरहेको छ । कक्षा १० मा पढ्ने छोरी रोजी दनुवारसँग विद्यालय पुगेकी अभिभावक मञ्जुलाई भर्नाबापत १२ सय ८० लियो । तर, ६ सय ५० तिरेको रसिद मात्रै उनले पाइन् । त्यसैगरी कक्षा १० मा अध्ययनरत छात्रा सबिना दनुवारले भर्ना शुल्क १२ सय ८० तिरिन् । उनलाई पनि विद्यालयले ६ सय ५० तिरेको रसिद दियो । ‘सबै विद्यार्थीलाई शुल्क तिर्न लगाएर आधा शुल्कको मात्रै रसिद दिने गरिएको छ,’ अभिभावक मञ्जुले भनिन् ।
लकडाउनले विद्यालय बन्द भएर यो वर्षको अन्तिम परीक्षा लिइएको छैन । तर, विद्यालयले परीक्षा शुल्क निर्धारण गरेको पाइएको छ । एक देखि १० कक्षासम्म परीक्षा शुल्क १० देखि १०० र भर्ना शुल्क एक सयदेखि ६ सय ५० तोकिएको छ । विद्यार्थीले प्रत्येक वर्ष भर्ना शुल्क तिर्नुपर्छ । कक्षा ६ देखि १० सम्म ६० रुपैयाँदेखि १०० सम्म मासिक शुल्क पनि तिर्नुपर्छ ।
भीमेश्वरीका प्रधानाध्यापक कृष्णप्रसाद श्रेष्ठले विद्यालयलाई नमुना बनाउने उद्देश्यले पूर्वविद्यालय व्यवस्थापन समितिले गरेको निर्णय कार्यान्वयन गरिएको बताए । ‘विद्यालय व्यवस्थापन समितिको अघिल्लो कार्यकालदेखि नै शुल्क लिने गरिएको छ,’ उनले भने, ‘कक्षा १२ सम्म अध्यापन गर्ने विद्यालयको खर्च धान्न नसकेर विद्यार्थीबाट शुल्क लिइएको हो ।’
यता जिल्ला शिक्षा समन्वय समितिका प्रमुख कृष्णप्रसाद सुवेदीले एकदेखि १० कक्षासम्म निःशुल्क शिक्षा भएको बताए । केही विद्यालयले विभिन्न शीर्षक राखेर अभिभावकसँग शुल्क असुलेको सुन्नमा आएको उनले जानकारी दिए । अभिभावकले लिखित उजुरी दिए कारबाही गरिने उनले चेतावनी दिए ।
सरकारले कक्षा एकदेखि कक्षा १० सम्म निःशुल्क शिक्षा घोषणा गरेको थुप्रै वर्ष बित्यो । भीमेश्वरीले मात्रै होइन जिल्लाका अधिकांश सरकारी विद्यालयले पनि बालबालिकासँग सहयोग शुल्कको नाममा घुमाएर रकम असुल्दै आएका छन् ।