अष्ट्रेलियाको प्रतिष्ठित पुरस्कार नेपाली युवालाई
शिक्षाखबर डेस्क
२९ भाद्र २०७३, बुधबार
no immg

भाद्र २९, २०७३- अष्ट्रेलियाको शिक्षा क्षेत्रमा प्रदान गरिने यस बर्षको प्रतिष्ठित पुरस्कार नेपाली युवाले पाएका छन् ।  मंगलबार अष्ट्रेलियाली सरकारको शिक्षा विभागले पुरस्कारको घोषणा गरेको हो ।

विभागले गरेको घोषणा अनुसार रसुवा घर भई क्विन्सल्याण्डको सनसाईनकोष्टमा अध्यापन गराइरहेका रत्न पौड्यालले यस पुरस्कार पाउने भएका हुन् । सम्मानसँगै उनले १० हजार डलर करिब ९ लाख रुपैयाँ बराबरको पुरस्कार समेत पाउनेछन् । विभिन्न विश्वबिद्यालयमा अध्यापन गराईरहेका केही प्राध्यापकहरुलाई प्रदान गरिएको यो पुरस्कार पाउने उनी एक्लो नेपाली हुन् ।

प्रत्येक बर्ष अष्ट्रेलियाभरी रहेका विश्वविद्यालयमा अध्यापन गराइरहेका प्राध्यापकहरुलाई प्रदान गरिने यो शिक्षा क्षेत्रमा दिई्ने विशेष सम्मान हो । ‘अष्ट्रेलियन अवार्ड फर युनिभर्सिटी टिचिङ’ नाम दिइएको यो पुरस्कार पाउने पौड्याल पहिलो नेपाली बनेका छन् । विभागले प्रत्येक बर्ष विश्वबिद्यालयहरुमा अध्यापन गराउने प्राध्यापकहरुले शिक्षाको माध्यमबाट पुर्‍याएको बिशेष योगदानलाई मुल्यांकन गर्दै यो पुरस्कार वितरण गर्ने गरेको हो ।

पौड्याललाई शिक्षाको माध्यमबाट बिद्यार्थीहरुलाई आत्मनिर्भर बनाउन मद्दत पुर्‍याएको, शिक्षा पश्चात रोजगारका लागि सहयोग पुरयाएको, बिद्यार्थी केन्द्रित शिक्षा प्रदान गरेको भन्दै उनलाई यो पुरस्कार दिइएको उल्लेख गरिएको छ ।

रसुवाको सामान्य परिवारमा जन्मिएर करिब ९ बर्षअघि विद्यार्थी भिषामा अष्ट्रेलिया आएका पौड्यालले ६ बर्षअघिदेखि अध्यापन सुरु गरेका थिए । युनिभर्सिटी अफ वेष्र्टन सिड्नी र युनिभर्सिटी अफ साउदर्न क्विन्सल्याण्डमा अध्यापन गराइसकेका उनी अहिले युनिभर्सिटी अफ द सनसाईनकोष्टमा एकाउन्टिङ बिषयका प्राध्यापक हुन् । रसुवाको स्थानीय सरकारी बिद्यालय कालिका माविमा अध्ययन गरेका उनले आफूले पाएको अवार्डले यहाँ रहेका नेपाली र समग्र नेपाललाई चिनाउन थप मद्दत पुर्‍याएको बताए ।

‘एक नेपाली भएर यो किसिमको राष्ट्रिय पुरस्कार पाउनु भनेको सामान्य कुरा हैनजस्तो लाग्छ,’ पुरस्कार घोषणा भएपछि कान्तिपुरसँग कुरा गर्दै पौड्यालले भने, ‘यसको श्रेय म मेरो देश, मेरा गुरुहरु, बाआमा, साथीभाइ र सबै विद्यार्थीहरुलाई दिन चाहन्छु ।’ उनले आफुले विशेषत: रसुवा जिल्लाको शिक्षा सुधारको लागि गर्नसक्ने सबै कार्यहरु गर्ने बताए ।

नेपाली भाषा प्रमुख भाषा भएको व्यक्ति अष्ट्रेलियाजस्तो देशमा आएर शिक्षा क्षेत्रको सम्मानित पुरस्कार पाउँदा आफूलाई अझ धेरै गर्न प्रेरणा र हौसला मिलेको उनले सुनाए ।

source: ekantipur

प्रतिक्रिया