स्कुलमै विद्यार्थीको मृत्यु ‘रहस्यमय’
शिक्षाखबर डेस्क
४ बैशाख २०७४, सोमबार
no immg

वैशाख ३, २०७४- सामाखुसीको रानीबारीस्थित नेपाल प्रहरी स्कुलमा कक्षा ८ मा अध्ययरत कुन्दन थापाको मृत्युको कारण सार्वजनिक नगरिएकामा पीडितका आफन्त विरोधमा उत्रिएका छन् । थापाको स्कुलकै परिसरमा चैत १६ मा रहस्यमय रूपमा मृत्यु भएको थियो । मृत्यु भएको १८ दिन बितिसक्दा समेत के कारणले घटना भयो थाहा हुन नसकेको पीडितका आफन्तले बताए ।

थापाको मृत्युलाई लिएर अभिभावकहरू ११ दिनदेखि स्कुलको गेटमा धर्ना दिइरहेका छन् । के कारणले घटना भयो भन्ने रिपोर्ट प्रहरीबाट सार्वजनिक नगरेको भन्दै अभिभावकहरूले चिन्ता व्यक्त गरेका छन् । नवलपरासी घर भई टोखा नगरपालिका–१३ बस्ने कुन्दनको स्कुल परिसरभित्र सार्वजनिक बिदाको दिन चैत १६ मा मृत्यु भएको थियो । घटनाको छानवीन गर्न चैत १७ मा नेपाल प्रहरीले महानगरीय अपराध महाशाखाका एसपी श्याम ज्ञवालीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो । प्रहरीले छानबिन रिपोर्ट हालसम्म सार्वजनिक गरेको छैन । मृतकका अभिभावकहरूले प्रहरी विद्यालयमा कार्यरत प्रहरी निरीक्षक सर्मिला गुरुङ, बाबुराम अधिकारीसहित ५ जना मिलेर निर्मम कुटपिट गरि हत्या गरेको आरोप लगाएका छन् । थापाकी आमा गौमतीले घटना भएको दिनमा कुन्दनले आफ्नो मोवाइल बोकेका थिए । ‘योजना बनाएरै स्कुलबाट फोन गरेर बोलाएको रहेछन्,’ उनले भनिन्, ‘विद्यालय प्रशासनले कुन्दनले आत्महत्या गरेको भनेर झूटो कुरा गरिरहेको छ ।’ उनले कुन्दनले विद्यालयको तीन तले भवनबाट हाम फालेर आत्महत्या गरेको भए भित्तामा रगतको दाग नलाग्नुपर्ने बताइन् । ‘मोबाइल पनि सुरक्षित छ,’ उनले भनिन्, ‘कञ्चट र आखा दाबिएको र दाहिने गाला कसरी सुन्नियो’ उनले भनिन् । उनका अनुसार महानगरीय प्रहरी वृत महारागञ्जले पनि उजुरी दर्ता गर्न मानेको छैनन् । परिवारले केहि दिन अघि नेपाल प्रहरीका निमित्त महानिरिक्षक दीनेशचन्द्र पोखरेल र डीआईजी बमबहादुर भण्डारीलाई समेत घटनाको बारेमा जानकारी दिएको थियो । तर उनीहरूले यस विषयमा हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । छानवीन समितिका संयोजक श्याम ज्ञवालीले सरोकारवालासँग बुझ्न बाँकी रहेको र ल्याब टेष्ट रिपोर्ट नआइसकेकाले छानबिन प्रतिवेदन तयार गरी सार्वजनिक गर्न ढिलाई भएको दाबी गरे ।

प्रतिक्रिया