३ साउन,काठमाडौं । काठमाडौंको एक विद्यासदनमा कक्षा ८ मा अध्ययनरत एक जना बालक होस्टेलबाटै बेपत्ता भएका छन् ।
विद्यालयकै कर्मचारीले चलाएको होस्टेलबाट आइतवार साँझदेखि हराएका मनिष खड्का अहिलेसम्म सम्पर्कमा नआएपछि परिवार चिन्तित बनेका छन् ।
नक्सालस्थितको बृहस्पति विद्यासदनमा अध्ययरत १३ वर्षीय खड्का विद्यालयकै होस्टेलमा बस्दै आएका थिए ।
केही समयअघि विद्यालयले होस्टेल बन्द गरेपछि मनिष विद्यालयमै कार्यरत कमल गुरुङले सञ्चालन गरेको निजी होस्टेलमा बसेका थिए ।
आइतवार अपरान्ह ४ बजे छोरालाई भेटेर फर्किएका रामेछाप गोकुलगंगा गाउँपालिका साबिक नामाडीका सिताराम खड्काले साँझ ६ बजे छोरो हराएको खबर पाएको बताए ।
सिताराम र पत्नी मन्जुले त्यस दिन छोरालाई मम र चिसो पेय लगेर भेट्न गएका थिए । छोराकै आग्रह अनुसार नयाँ झोला पनि लगिदिएको खड्काले बताए ।
होस्टेल सञ्चालक कमल गुरुङका अनुसार मनिष नयाँ झोला र बाबु आमाले ल्याइदिएको खानेकुरा समेत लिएर बाहिरिएको देखिएको छ ।
मनिषलाई होस्टेलमा भेट्न गएका सितारामले २ सय रुपैयाँ समेत दिएका थिए ।
साँढे ४ बजे हाँसिखुसी छाडेर हिडेको छोरा एक घण्टामै हराएको खबरले आमा बाबु चिन्तामा छन् । उनीहरुले कमल पोखरी प्रहरी प्रभागमा जाहेरी दिएका छन् ।
होस्टेलको लापरवाहीले आफ्नो छोरा हराएको गुनासो सितारामको छ । ‘होस्टेलमा वार्डेन पनि थिएनन्,गेटमा गार्ड समेत छैनन् ।
२०/२५ जना बालवालिका राखेको ठाउँमा सुरक्षा प्रबन्ध यति फितलो हुनुको परिणाम हो यो’ उनले भने ।
मनिषको खोजी जारी रहेको प्रहरीले जनाएको छ । आफन्त र नातेदारकोमा नपुगेका मनिष कहाँ गए भन्ने रहस्यमय भएको छ । आफ्नो छोरा कसैको अपरहणमा पर्नुपर्ने कुनै कारण र शंका नरहेको खड्काले बताए ।
होस्टेल सन्चालक गुरुङले मनिष सिधा र कसैसँग धेरै नबोल्ने स्वभावक भएकाले उसका साथी पनि कमै हुने गरेको बताए । उनी बाबु आमाले साउने सक्रान्ति मनाउन घरमा नलगेकोमा रिसाएको आशंका गुरुङको छ ।
मनिषले केही साथीसँग आफू गाउँ जाने बताएको गुरुङको दावी छ । मनिषको घर नामाडी हो भने मामाघर साबिक दुरागाउँ हो । तर, उनी रामेछाप पुगेका छैनन् ।
२०७४ साउन ३ गते onlinekhabar मा प्रकाशित