काठमाडौं ५ साउन / झण्डै एक महिना बेपत्ता रहेपछि मृत भेटिएका कुश्मा–१ पाङका शिक्षक नारायण पौडेलको मृत्युको विषय रहस्यमय बन्दै गएको छ । पौडेलको मृत्युको वास्तविक कारण खुल्न सकेको छैन । गएको जेठ २५ गतेदेखि बेपत्ता २० वर्षीय पौडेलको शव असार ७ गते बागलुङको जैमिनी नगरपालिका बेलबगरस्थित कालीगण्डकी किनारमा भेटिएको थियो । बेवारिसे अवस्थामा भेटिएको शव शिक्षक पौडेलको भएको पुष्टि डिएनए परीक्षण र शव परीक्षण रिपोर्टबाट भएको थियो ।

शिक्षक पौडेलको मृत्यु घाँटीमा लागेको चोटका कारण भएको शव परीक्षणबाट आएपछि उनको हत्या भएको हुनसक्ने भन्दै परिवार र आफन्तले अपराधी तत्काल पत्ता लगाउन प्रहरीलाई दबाब दिँदै आएका छन् ।

घटना घटेको लामो समय भइसक्दा पनि सत्यतथ्य बाहिर नआएको भन्दै पर्वतका विभिन्न शिक्षक संगठनले पनि संयुक्त विज्ञप्ति निकालेर तत्काल अनुसन्धानलाई तीव्रता दिन प्रहरीलाई दबाब दिएका छन् ।

प्रहरीले शिक्षक पौडेलले पढाउँदै आएको आइबल एकेडेमीका प्रधानाध्यापक विमल पौडेल, अभिभावक देउकुमार श्रेष्ठ र चन्द्रमान प्रधानलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

यद्यपि घटनासम्बन्धी त्यस्तो कुनै तथ्य पत्ता लगाउन नसकेको पर्वतका प्रहरी नायब उपरीक्षक ९डिएसपी० शेखर खनालले जानकारी दिनुभयो ।

“अनुसन्धानको दायरालाई फराकिलो बनाउँदै लगिएको छ, पौडेलको मृत्यु के कारणले भएको हो रु भन्ने विषयमा अनुसन्धान अगाडि बढिरहेको छ,” प्रहरी नायब उपरीक्षक खनालले भन्नुभयो, “हामीले उहाँले प्रयोग गरेको मोबाइलको कल डिटेल, एसएमएस र सामाजिक सञ्जालमा गरिएका कुराकानीको अध्ययन गरिरहेका छौँ ।”

लामो समयसम्म पनि रहस्य खुल्न नसकेपछि प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०को सहयोग लिने भएको छ । अहिले मिसिलको अध्ययनमा रहेको सिआइबी मिसिल अध्ययन गरिसकेपछि पर्वत आउने डिएसपी खनालले जानकारी दिनुभयो ।

शिक्षक पौडेलको मृत्युको कारण रहस्यमय देखिएकाले सिआइबीको मद्दत लिनुपरेको उहाँको भनाइ छ । मृतक शिक्षक पौडेल कुश्मा नगरपालिकाअन्तर्गत कटुवाचौपारीमा रहेको आइबल एकेडेमीमा पढाउँदै आउनुभएको थियो ।
गोरखापत्रमा प्रकाशित खबर ।